- विमल गौतम -
शुभंकरोती कल्याणम् आरोग्यं धनसंपदा
शत्रुबुध्दि विनाशाय दीपज्योति नमोस्तुते: ।।
यो मन्त्र जप्दै आमा दियो घरमा साँझबत्ती बाल्नुहुन्थ्यो। उबेला अनि पानीले अभिषेक गर्नुहुन्थ्यो। बाल्नुको तात्पर्य थाह नभए पनि त्यो बेलाको मेरो बालहृदय दियोको प्रकाश जस्तै उज्यालो हुन्थ्यो। आँखा दीपज्योतिमा निमग्न हुन्थे। आमासँगै म पनि दुई हात जोडेर नमन गर्थेँ। सम्झन्छु, बहुत आनन्द थियो। सायद् स्वर्गको आभा झर्थ्यो त्यो पल। म ज्योतिभित्र गराउँथे। बिजुली आएको थिएन। मट्टीतेलको टुकी बल्थ्यो। मेरा आँखा भने दियोघरको उज्यालोमा नै हुन्थ्यो। केही वर्षपछि बिजुली आयो। दियोले कम महत्त्व पायो। अहिले पनि तिहारमा गरिने अनेक बिजुलीका झिलिमिली भन्दा पनि दियोको उज्यालोले ध्यान तान्छ। अचेल घरको पूजाकोठामा त्यो बेलाको जस्तो माटोको दियोघर नभए पनि बत्ती त नियमित नै बाल्ने गरिन्छ।
आइतबार साँझ कोरोनाको नकारात्मक शक्ति भगाउने भन्दै नेपालका धेरै शहरमा ७ बजेर ७ मिनेटपछि दियो बालियो। शंखघोष गरियो। लगत्तै, सामाजिक संजालमा यो विषयमा बहस हुनथाल्यो। सकारात्मक र नकारात्मक कुराहरू पढ्न पाइयो। मैले विगत सम्झने मौका पाएँ। महसुस गरेँ। साँच्चै उज्यालोमा शक्ति छ। आनन्द छ। अनि अहिले कोरोनाको त्रास पनि छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रिल ५ का दिन साँझ ९ बजे सबै भारतीयलाई दीप प्रज्वलन गर्न अनुरोध गरे। प्रकाशको तागत अथाह हुने आशय व्यक्त गर्दै उनले कोरोनाविरुद्ध राष्ट्रिय ऐक्यवद्धता जनाउन अनुरोध गरे। यो सबै गरेर उनले सम्पूर्ण भारतबासीलाई कोरोना त्रासबाट मुक्त गर्न ठूलो कार्य गरेका छन्, असल अभिभावकको भूमिका निभाएका छन्। त्रासमा बाँचेका जनताको मनोवैज्ञानिक उपचार गरेका छन्। घरघरमा एक्लैएक्लै थुनिएको भए पनि कोही एक्लो छैन भन्ने सन्देश दिन मोदी सफल भएका छन्।
तर, यसको यो एउटा मात्रै पक्ष हो। यो विषय मोदीको धार्मिक आस्था तथा राजनीतिक स्वार्थसँग पनि जोडिएको विषय हो। सायद मोदी सफल भए। अब नेपालमा यो दीप प्रज्वलन किन भयो त? न प्रधानमन्त्रीले भने न राष्ट्रपतिले नै। के नेपालमा भारतीय प्रभाव नै हो? कोरोना दियो बालेर भाग्छ त? अहिले यस्तै प्रश्नहरू सामाजिक संजालमा देख्न पाइछ। जसबारे तल चर्चा गरिने छ।
नेपालमा सरकार कोरोनाको त्रास फैलाउन त सफल भयो तर यस्तो अवस्थामा रोगबाट जनतालाई जोगाउन चाल्नुपर्ने उचित कदम चाल्न सकेन। गरेका कार्यहरू पनि जनतामाझ विश्वसनीय बन्न सकेनन्। जनतालाई राहतको खाँचो थियो। राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधनले पनि जनताबीच छाएको मनोवैज्ञानिक खाडल पुर्न सकेन। झन् सङ्कटको बेला सरकारका जिम्मेवार मन्त्री नै भ्रष्टाचारमा मुछिएको हल्ला चल्यो। जनता झन् तड्पिए।
जनतालाई सहारा चाहिएको थियो। जनताका आँखामा नेपाल सरकार असल अभिभावक बन्नै सकेन। अर्कोतर्फ नेपालमा धेरै मानिसहरू हिन्दू र हिन्दू प्रभावित छन्। नेपालमा राजा हुँदा विश्वभरिका हिन्दूका लागि आस्थाको केन्द्र राजा रहेका थिए। हिन्दूधर्मको संरक्षकको अभाव महसुस भएको बेलामा धेरै हिन्दूहरूले मोदीलाई हिन्दूधर्मको रक्षकको रूपमा पनि हेरेको पाइन्छ। नेपालीहरूले मोदीका कदमलाई सधैं सजगतापूर्वक नियालेका छन्।
यसैबीच भारतका प्रधानमन्त्री मोदीले दियो बाल्न आह्वान गरे। राम्रो साइत रहेको भन्दै ज्योतिषीको हवाला दिँदै सामाजिक संजालमा त्यही दिन साँझ ७ बजे (भारतमा ९ बजे भनिएको थियो) दीप प्रज्वलनका लागि आह्वान गरियो। नेपालीलाई भाजपाको स्थापना दिवस वा राजनीतिक स्वार्थसँग सरोकार थिएन। उनीहरूलाई सहारा चाहिएको थियो। दीप प्रज्वलनसँग परिचित नेपालीलाई यो सहाराको माध्यम मात्रै भएको हो।अभिभावकविहीन अवस्थामा एकत्यान्द्रो आश। जसले जेजे भनेपनि दीप प्रज्वलनले नेपालीमा आशको सञ्चार भरिएको छ। मानिस उत्साही भएका छन्। यो सकारात्मक हो।
दीपज्योति परब्रम्ह दीपज्योतिर्जनार्दन
दीपो हरतु मे पापं दीपज्योतिर्नमोsतुते।।
संस्कृतको यो श्लोकले परब्रह्मस्वरूप, संसारको दु:ख भगाउने र पाप नाश गर्ने यस्तो दीपज्योति (दिव्य ज्योति)लाई नमस्कार गर्दछु भनेर भनेको छ। यसरी हेर्दा असहाय भएकाबेला हिन्दुधर्म प्रभावित जनताले दीप बालेर दु:ख भगाउने अवसर खेर फाल्ने कुरै भएन। प्रश्न उठ्छ, के दियो बालेर कोरोना भाग्छ त? पक्कै पनि भौतिक कोरोना भगाउन भौतिक उपचार कै खाँचो पर्छ। हिन्दू धर्मले पनि यसलाई स्वीकार गर्छ। तर, दियो बालेर मनमा बसेको कोरोनाई भगाउन सहयोग पुगेको छ। नेपालीले त्यही गरेका हुन्।
सामाजिक संजालमा केही समय अगाडि इसाई धर्मका पादरीहरुले प्रार्थना गरेर रोग भगाउन गरेका प्रयासका दृश्य सामग्रीहरू भाइरल भएका थिए। इसाई धर्मको अतिक्रमणको चपेटामा परेको महसुस गरेका धेरैले आलोचना गरे। त्यस समय चुप लागेर बसेकाहरूले अहिले बत्तीबालेर कोरोना भगाउने प्रयास गरेको भन्दै व्यङ्ग्यको झटारो हानिरहेका छन्। यसबाहेक यसलाई हावामा उडाउनेहरूमा केही पढेलेखेका र पश्चिमा बुध्दिमात्रले भरिएका (पश्चिमका कुरा मात्रै विज्ञानसम्मत छ्न् भन्ने ठान्ने) आधुनिक भनाउँदाहरू छन्। हो, दीप प्रज्वलन गर्दा खर्च भएको तेल गरीबलाई दिएको भए उसले खान पाउँथ्यो तर त्यही तेलको बत्ती बालेर उसले आफ्नो त्रसित मनमा जागरण ल्यायो त के गल्ती भयो?
बत्तीले हिन्दू, मुस्लिम,बौद्ध, इसाई आदि जुनसुकै धर्ममा पनि स्थान पाएकै छ। सबैकुरा उज्यालोकै कारणले प्रकाशित छ। ज्योति नै शक्ति हो भन्ने सबै धर्मले स्वीकार गरेको कुरा हो। त्यसैले ज्योतिको विरोध कसैले गर्नुहुँदैन भन्ने मेरो बुझाइ छ। कसैको प्रार्थना गर्ने शैलीलाई आलोचना गर्नुको सट्टा खुला हृदयले सम्मान गर्न सक्नुपर्छ। अतिवाद ठीक होइन। धार्मिक अतिक्रमण रोक्न आफ्ना राम्रा पक्षको राम्रोसँग उजागर गर्नुपर्छ। अन्य धर्मको आलोचनाले समाजलाई कुरूप पार्छ। आफू सबल बन्ने हो अरुलाई दुर्बल देखाउने होइन। धार्मिक सहिष्णुता हाम्रो पहिचान हो।
समग्रमा यो दीप प्रज्वलनको घटनाले पनि हामी कति भाँडिएका छौँ भन्ने देखाएको छ। हाम्रो राजनीतिक नेतृत्वको औकात पनि देखाएको छ। यो सबै विचार गर्दै एकतामा बल हुने कुरालाई सबैले बुझ्नुपर्ने देखिन्छ।