PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

लकडाउनले रोकेन बझाङको 'बान्नी चैतेली मेला', स्थानीय सरकारको निर्देशनविरुद्ध सयौंको भिड



पहिलोपोस्ट

लकडाउनले रोकेन बझाङको 'बान्नी चैतेली मेला', स्थानीय सरकारको निर्देशनविरुद्ध सयौंको भिड
फाइल फोटो

  • विष्णुकान्त घिमिरे

बान्नी चैतेली मेला बझाङको निकै प्रसिद्ध मेला हो। आसपासका जिल्ला बाट समेत चैतेली मेला भर्न जानेहरुको घुइँचो नै लाग्ने गर्छ।

यस वर्ष माहोल फरक छ। कोरोना (कोभिड१९)ले गर्दा पूरै देशमा लकडाउन छ। सरकारले अनावश्यक भिडभाड, मेला तथा उत्सवहरु आयोजना नगर्न निर्देशन दिएको छ। तर, बझाङको छविस पाथिभेरा गाँउपालिकामा मनाइने चैतेली मेला आयोजना भयो। त्यहाँ सयौंको उपस्थिति समेत रह्यो।

सत्य युगमा मैसासुर दानवले सुर्मा देवी र उनका भाइ मास्टालाई दु:ख दिएपछि उनिहरुले लिङ्गोको हरियार बनाइ युद्ध गरेर परास्त गरेको किम्बदन्ती छ। मैसासुरसँग युद्ध भएको ठाउँमा सोही त्यस घटनाको सम्झनामा हरेक वर्ष बान्नी चैतेली मेला मनाउने गरिएको छ।

खसगरी छविस पाथिभेरा गाँउपालिकाको कडेल, ब्याँसी, लेकगाउँ, मटेलाका गाउँका मानिसहरु मेलामा सहभागी हुन्छन्। यसपाली कोरोनाको सन्त्रास भएकाले कडेल र ब्याँसीबाट एक घर एक व्यक्ती जम्मा भएर मेलाको रित पूरा गरिएको स्थानीय बिकास अयडीले जानकारी दिए।

मेलाका लागि पचपन्न/साठी हातको लिङ्गो ल्याउने गरिएकोमा यसपाली बीस हातको मात्र ल्याइएको अयडीले बताए।

पहिले दिन रात गरी तीन दिन चल्ने मेला यसपाली बिहान आठ बजेदेखि पाँच बजेसम्म मात्र गरिएको स्थानीय निर्पा सिंहले बताए।

मान्छे भेला हुनुपर्ने कारणबारे अयडी भन्छन्, 'लिङ्गोलाई बोकेर जाँदा करिव सय मिटर ठाडो पारेर नै लैजान पर्छ। साथमा बाजा बजाउने मान्छे पनि आवश्‍यक पर्छ। त्यसैले सामान्य रित पुर्‍याउँदा पनि तीन/चार सयको उपस्थिती भएको हो।' 

आफूले पटकपटक गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई सम्पर्क गरी धार्मिक आस्था बमोजिम रित मात्र पूरा गर्न र भिडभाड नगर्न सुझाएको तर स्थानीयको अटेरीले दुई/तीन सय मानिस जम्मा भएको बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे बताउँछन्। 

किम्वदन्ती अनुसार सुर्मादेवी र उनका भाइले मैसासुरको टाउकोको भकुण्डो बनाएर बिजय उत्सब मनाएको सम्झनामा मेलामा भकुण्डो खेलिन्छ। मेला भन्दा केही दिन अगाडी गाई वा गोरु बाघलाई खुवाएर त्यसको छालाको भकुण्डो बनाएर खेल्ने चलन छ।

साँझपख मेलामा तल्लो छबिसे र मल्लो छबिसेका युवाहरूको भकुण्डो खेल्ने क्रममा बिवाद भएको र दुई पक्षीय झडपमा एकजना घाईते भएको पाण्डेले जानकारी दिए। झडपमा सम्लग्नलाई पक्राउ गरि सदरमुकाम ल्याउन निर्देशन दिएको बताए प्रजिअ पाण्डेले बताए।

छविस पाथिभेरा गाउँपालिकाका अध्यक्ष अक्कल बहादुर धामी भने आफुले मेला स्थगित गर्न निर्देशन दिएको बताउँछन् । एक जना धामी र एक जना पुजारीमात्र उपस्थित भै पूजा गर्न निर्देश दिएको तर धार्मिक आस्थाका कारण केही व्यक्ति जम्मा भएको दावी गर्छन्। कुनै झैझगडा पनि नभएको र आफ्नो बदनाम गराउने नियत भएकाले गलत प्रचार गरेको धामीले बताए।

 

फोटो : निर्पा सिंह कठायत



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell