काठमाडौं : कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न विदेशबाट फर्केका व्यक्तिको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखिएको छ।
पाँचथरको मिक्लाजुङ गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको हो। सो गाउँपालिकामा चैत १ गतेयता नौ जना विदेशबाट फर्केकाहरु सम्पर्कमा आएका थिए। संक्रमणको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिहरुको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको हो। विदेशबाट फर्केकाको सम्पर्कमा पुगेका चार जना आफन्तलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले जानकारी दिए।
जिल्लामा सोमवार साँझसम्म ११ जना महिला र ४३ जना पुरुष गरी ५४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ। हालसम्म नौ जना कोरोना भाइरसको लक्षणसँग मिल्ने बिरामीहरुको स्वाब परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा सबैको नतिजा नेगेटिभ आएको जिल्ला अस्पतालले जनाएको छ।
त्यसैगरी, तेह्रथुममा रोजगारीका लागि काठमाडौं र इटहरी गएर फर्किएका सातसहित नौ जनालाई सोमवारदेखि क्वारेन्टाइनमा राखिएको छ। काठमाडौंबाट घर फर्कने क्रममा यही चैत ११ गते इटहरी आइपुगी लकडाउनमा परेका उनीहरुलाई सोमवार म्याङलुङस्थित घर पुग्नासाथ प्रहरीले नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गराई क्वारेन्टाइनमा राखेको हो। इटहरीबाट हिँडेर आइपुगेका उनीहरूलाई क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी भक्तबहादुर खड्काले बताए।
भारतको दार्जिलिङ क्षेत्रमा फेरी लगाएर फर्किएका नौसहित १५ जना फेदाप गाउँपालिकामा र सात जना आठराई गाउँपालिकामा गरी जिल्लामा जम्मा ३१ जना क्वारेन्टाइनमा रहेका सहायक प्रजिअ खड्काले जानकारी दिए। क्वारेन्टाइनमा रहेका उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीको भनाइ छ।
झापामा क्वारेन्टाइनमा बसेका पचास प्रतिशत घर फिर्ता
यता, झापाको क्वारेन्टाइनमा बसेकामध्ये करिब पचास प्रतिशत घर फर्किएका छन्। क्वारेन्टाइनमा १४ दिन पूरा गरेपछि उनीहरुले घर फर्किने अनुमति पाएका हुन्। पछिल्लो जाँचमा कोभिड–१९ को कुनै पनि लक्षण देखा नपरेका कारण सरकारले तोकेबमोजिमको क्वारेन्टाइन अवधि पूरा गरेर सोमवारसम्म झापामा १०२ जना घर फर्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार झापामा स्थानीय तहले बनाएका २२ वटा क्वारेन्टाइनमा २४० जना बस्दै आएका थिए। अब १३८ जना बाँकी छन्। झापामा भारतलगायत विदेशी मुलुकबाट हालसम्म ५९४ स्वदेश फर्केका र उनीहरुका परिवारका सदस्यसहित एक हजार ३१ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला समन्वय समितिले जनाएको छ।
कोरोना भाइरसको संक्रमण भएको आशंकामा मेची अञ्चल अस्पतालको आइसोलेसनमा राखिएका सातमध्ये खकारको स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका पाँच जना पनि घर फर्किसकेका छन्। दुई जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईंले बताए।
कोरोना रोकथाम, उपचार, अनुगमन तथा समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले क्वारेन्टाइनमा बसेकामा १४ दिनसम्ममा रोगको कुनै लक्षण नदेखिए घर फर्काउन सकिने बताए। उनले कोरोना जाँच गर्ने ठाउँ प्रदेश नम्बर १ भरिमा धरानमा मात्र भएको र त्यहाँ एक दिनमा १२ जनाको मात्र जाँच गरिने हुँदा हाल आइसोलेसनमा रहेकाको मात्र जाँच गरिएको जानकारी दिए।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले क्वारेन्टाइनको अवधि पूरा गरेर घर फर्किनुअघि कोरोना भाइरसको संक्रमण नभएको पुष्टि हुने गरी उनीहरुको स्वास्थ्य परीक्षण हुनुपर्ने बताए।
‘कोरोना नभएको पुष्टि नगरी क्वारेन्टाइनबाट घर फर्किने अनुमति दिनु परेकोमा ग्लानी भइरहेको छ’, नगरप्रमुख पोखरेलले भने, ‘धनगढीमा क्वारेन्टाइनबाट फर्किएकी एक महिलामा पोजेटिभ रिपोर्ट आएको खबर आइसकेपछि यस विषयलाई गम्भीर रुपमा लिइनुपर्छ।’
झापाका सबै स्थानीय तहले पहल गर्ने हो भने कोरोना भाइरस पत्ता लगाउन ल्याब स्थापना गर्न सकिने उल्लेख गर्दै उनले प्रदेश सरकारसँग यस विषयमा ध्यानाकर्षण गराउँदा जाँच्ने किट अभावले क्वारेन्टाइनमा बसेका सबैको परीक्षण गर्न नसकिने जवाफ पाइएको बताए। जिल्लाका क्वारेन्टाइनको अनुगमन गरेका नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले नेपाली सेनाले व्यवस्थापन गरेको कलबलगुडीको क्वारेन्टाइन र मेचीनगरको एउटाबाहेक झापाका अधिकांश क्वारेन्टाइन समस्याग्रस्त भएको बताए।
अधिकांश क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले व्यक्तिगत स्वास्थ्य सुरक्षा उपकरण पाउन नसकेको गुनासो सुनाएको उनको भनाइ छ। घरमै क्वारेन्टाइनमा बसेका व्यक्तिको निगरानी स्थानीय तहबाटै भइरहेको छ। त्यस्ता व्यक्तिहरु कोरोना संक्रमण भइसकेको तेस्रो मुलुकबाट समेत आएको हुँदा उनीहरुको स्वाब परीक्षण हुनुपर्ने माग गरिन थालेको छ।
कैदीबन्दीको दैनिकी कष्टकर
झापा जिल्ला कारागारका कैदीबन्दीले डेढ महिनादेखि सिदा रकम नपाउँदा उनीहरुको दैनिकी झन् कष्टकर भएको छ। सरकारले लकडाउन जारी गरेसँगै कारागारमा भेटघाट बन्द गरिएको हुँदा कैदीबन्दीलाई आफन्तले सहयोग दिन पनि पाएका छैनन्।
क्षमताभन्दा तेब्बर संख्यामा रहेका कैदीबन्दीलाई सामाजिक दूरी राखेर सुत्ने र बस्ने परिस्थिति नभएका कारण कोरोना भाइरस संक्रमणको जोखिम उच्च छ। कारागारभित्र उनीहरुले सतर्कताका लागि हात धुने साबुन, स्यानिटाइजर र मास्कको कुनै व्यवस्था नगरिएको एक कैदीले टेलिफोनबाट जनाए।
सरकारले कैदीबन्दीलाई सिदाको रुपमा दैनिक ६० रुपैयाँ नगद र ७०० ग्राम चामल दिँदै आएको थियो। साबुन, दाँत माझ्ने ब्रस र मन्जनजस्ता सामान किन्न कैदीबन्दीलाई पैसाको अभाव भएको छ। सिदा रकम सकिन दुई महिना अघिदेखि कारागार विभागमा पत्र पठाएर रकम माग गर्दा समेत नआइपुगेको हुँदा कैदीबन्दीलाई असुविधा भएको झापा कारागारका प्रमुख राजेन्द्र निरौलाले बताए। उनले तत्कालको व्यवस्थाका लागि दाताको खोजी भइरहेको जनाए।
झापा कारागारमा ७७ जना महिलासहित एक हजार ९० जना कैदीबन्दी छन्। महिला बन्दीका लागि ७० हजार रुपैयाँ सापटी खोजेर आधा महिनाको सिदा आइतवार दिइएको निरौलाले बताए। पुरुष कैदीका लागि १५ दिनको सिदाका लागि नै १० लाख रुपैयाँ सम्म लाग्ने जनाइएको छ।