PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

लकडाउनमा दिनेशका दिन : छैटौ विश्व कीर्तिमानको तयारीदेखि फिल्मको सपनासम्म



मुकुन्द घिमिरे

लकडाउनमा दिनेशका दिन : छैटौ विश्व कीर्तिमानको तयारीदेखि फिल्मको सपनासम्म

पार्कर। नेपालमा यो खेलको बारेमा धेरैलाई थाहा नहुन सक्छ। तर, यही पार्कर खेलमा नेपालका विश्व कीर्तिमानहरु छन्। ४ वटा त कीर्तिमान बनिसके। एउटा कीर्तिमान एप्रुभ हुन बाँकी छ। र, लकडाउन चलिरहँदा छैटौं कीर्तिमान बनाउन जुटेका छन्, दिनेश सुनार।

'यो खेलमा एउटा विन्दुबाट अर्को विन्दुमा जाँदा आउने चुनौतीहरुलाई पार गर्दै सकेसम्म छिटो गन्तव्यमा पुग्नुपर्ने हुन्छ,' माघ महिनामा अमेरिकामा चौथो विश्व कीर्तिमान बनाएपछि उनले आफ्नो खेलका बारेमा पहिलोपोस्टलाई बताउँदै भनेका थिए, 'सानैदेखि म जिम्न्यास्टिकमा चासो राख्थेँ। विदेशी फिल्महरु हेरेर त्यसको नक्कल गर्न खोज्थेँ। पछि गाउँबाट काठमाडौं आएपछि म पार्कर खेलाडी भएँ।'

लकडाउन भन्दा एकहप्ता अघि उनी नेपाल आए। अहिले काँडाघारीमा आफ्नो परिवारसँग छन्। भित्रै छन् तर चुपचाप छैनन्। उनको फेसबुक प्रोफाइल हेर्ने हो भने थाहा हुन्छ उनी के गरिरहेका। मन भए के हुँदैन? घरभित्र नै एक्सनमा उत्रिहाल्छन्।

‘घर भित्र उफ्रिँदाउफ्रिँदै घरबेटीसँगै किचकिच नै परिसक्यो,’ दिनेशले ठट्टा गर्दै सुनाए।

२८ वर्षीय दिनेशले सन् २०१२ बाट आधिकारिक रुपमा पार्कर खेल्न शुरु गरेका थिए। उनी नेपालको पहिलो पार्कर खेलाडी हुन्। खोटाङबाट काठमाडौंको यात्रामा उनले नेपाललाई पार्कर खेलमार्फत् विश्वमा चिनाए। पछिल्लो समय उनले अमेरिकामा पुगेर चौथो विश्व कीर्तिमान राखे। नेपालको नाम राखे।

उनी त्यतिमै रोकिएनन्। उनले अमेरिकामै पाँचौं कीर्तिमानको एटेम्ट पनि गरे।

‘त्यहाँका उच्च राजनीतिज्ञ देखि सिनेटहरु आउनु भएको थियो। उहाँहरुबाट सम्मानित हुन पाएको थिएँ। पाँचवटा संस्थाले सम्मान गरेको थियो,’ उनले उत्साहित हुँदै सुनाए, ‘पाँचौं कीर्तिमानमा मस्टब्याकफुल ट्वीस्ट विथ बर्बीच इन वान मिनेटमा एटेम्ट गरेको थिएँ। यसमा १० पटक गरेर रेकर्डका लागि पठाएको छ।’

अब ३/४ महिना पछि त्यसको निर्क्योल हुने दिनेशले सुनाए। ‘आफ्नो तर्फबाट राम्रो गरेको छु।’

+++

काडाँघारी अहिले रुममै छैटौ कीर्तिमानको अभ्यास गर्दैछन्।

‘अहिले त घरमै बस्ने परिवारसँग। आफै ट्रेनिङ गर्ने। किताबहरु पढ्ने अनि फिल्महरु हेर्ने तेस्तै त हो,’ दिनेशले लकडाउनको अनुभव साट्दै भने।

उनी अब छैटौ कीर्तिमानको तयारीमा छन्।

छैटौं रेकर्ड चाहिँ उनले फ्रन्टसमसनमा राख्ने खोजेको छन्। नेपालीमा भन्ने हो भने सुल्टी जम्पमा।

यो रेकर्ड अस्ट्रेलियामा गएर बनाउने तयारी छ उनको। उनलाई सपोर्ट गरिरहेको छ ब्यालेन्स ग्रुप अफ कम्पनीज र जिपिके फाउन्डेसनले।

‘छैटौं चाहिँ अस्ट्रेलियामा गर्ने कुरा छ। नेपाललाई विश्वसामू चिनाउन खोजेको हो। नेपालीहरु धेरै हुनुहुन्छ। यसले राम्रो म्यासेज जान सक्छ भन्ने हो,’ दिनेशले भने।

यसअघि चौथो कीर्तिमान पार्कर खेलको छुट्टै विधा 'द मोस्ट ब्याकवार्डस समर्सल्ट अन ट्रयाम्पोलाइन' मा एक घण्टाको समयमा ४ सय ६० पटक ब्याक फ्लिप्स गर्दै सुनारले चौथोपटक पार्कर खेलमा विश्व कीर्तिमान कायम गरेका हुन्।

त्यसअघि यसअघि उनले पार्कर अन्तर्गत सन् २०१७ मा ट्विस्टिङ ब्याकफिल्पसमा एक मिनेटमा १८ पटक ट्विस्ट गर्दै पहिलो कीर्तिमान कायम गरेका थिए। यस्तै, उनले २०१८ मा ब्याकवार्ड समर्सल्टमा र २०१९ मा ट्विस्टिङ ब्याकफिल्पमा कीर्तिमान बनाएका थिए।

+++

लकडाउन चलिहँदा घरमै बसेर पनि फिटनेसमा ध्यान दिन सकिने बताउँछन् दिनेश।

‘घरमै बसेर फिटनेस कायम गर्न सकिन्छ। शारिरीक ब्यायाम गर्न सकिन्छ,’ उनले भने, ‘त्यतिकै बसिरहँदा फ्याटहरु लाग्न सक्छ। ज्यू बोधो हुन्छ। रुममै बसेर पनि गर्ने सकिन्छ।’

फिटनेशको सन्दर्भमा उनको ‘लजिक’ फरक छ।

‘जहाँ धेरै रंगशाला हुन्छ त्यहाँ धेरै अस्पताल चाहिँदैन,’ उनको भनाइको तात्पर्य हो यदि सबैले आफ्नो स्वास्थ्य र ब्यायाममा ध्यान दिने हो भने रोग कम भएर जान्छ।

अहिले फुर्सदिला बनेका दिनेश खेलसम्वन्धि कितावहरु हेर्ने र हलिउडका मार्सल आर्टका फिल्महरु धेरै हेर्ने गर्छन्। कारण हो उनको अर्को एउटा सपना। दिनेश नेपाली फिल्मको एक्सनलाई नयाँ आयाम आवश्यक भएको देख्छन्।

भन्छन्, ‘हामी अहिले नेपाली फिल्ममा पनि कसरी काम गर्न सकिन्छ भन्ने हेरिरको छौं। विशेषगरी एक्सनमा नयाँ शैली ल्याउनका लागि काम गरिरहेका छौं। ओस्कार नोमिनेसनका लागि हुने गरी।’

हिजो अभ्यास गर्दागर्दे लडियो पनि चोटपटक पनि लाग्यो।

उनले रुचाएको एक्सन फिल्महरु ओङब्याक र बी १३ हुन्। ‘बी १३ पछि पार्कर टाइपको फिल्म हो जसको कारण विश्वबजारमा पार्कर फैलिँदै गयो। डेबिट बे हिरो थियो। अर्को ओङब्याकबाट चाहीँ नयाँनयाँ एक्सन आए।’

उनले आफ्नो लकडाउन दैनिकी, सपना र अनुभव साट्दै कोरोना भाइरसको बढदो प्रकोपबाट सतर्क हुन समेत सुझाए।

‘घरमा बस्नुहोस। परिवारसँग रमाइलो गर्नुहोस। बाहिरबाट आएपछि साबुन पानीले हात धुन, मास्क, स्यानिटाइजरको प्रयोग गर्न नभुल्नु होला’ कोरोनाबाट सतर्क हुन सुझाव दिँदै दिनेशले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell