गलेश्वर : म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजार प्रवेश गर्ने मूल सडकमै स्थानीय जनप्रतिनिधिको रोहबरमा स्थानीयले भोटेताल्चा लगाएका छन्। कोरोना भाइरसको संक्रमणको जोखिमबाट जोगिन मालिका गाउँपालिका-६ छ्यारछ्यारेमा सडकमा नै ताल्चा लगाएर स्थानीयले आवतजावतमा रोक लगाएका हुन्।
आपत्कालीनबाहेक आवतजावत बन्द गरिएको मालिका गाउँपालिका-६ दरबाङका वडाध्यक्ष सन्तनाथ सुवेदीले बताए। लुकीछिपी आवतजावत बढेपछि म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरबाङबजार नजिकै छ्यारछ्यारेमा फलामेबार राखेर ताल्चा लगाइएको उनले जानकारी दिए। पश्चिम म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकासँगै छिमेकी बागलुङ र रुकुम जिल्लाबाट आवतजावत नरोकिएपछि आसन्न खतराबाट बच्न सडकमै ताल्चा लगाएर बन्द गर्नुपरेको अध्यक्ष सुवेदीले बताए।
मालिकासँगै बागलुङको तमान, लाम्मेला र रुकुमबाट समेत मान्छेहरु आउन थालेकाले बाध्य भएर सडकमा कडाइ गर्नुपरेको दरबाङका समाजसेवी गोपाल रेग्मीले बताए। बेनी-दरबाङ सडकमा तगारो लगाइएसँगै युवाहरुले नियमित गस्तीसमेत गरिने रेग्मीले जानकारी दिए।
वडाध्यक्ष सुवेदीका अनुसार एक गाउँबाट अर्को गाउँ जावतजावतमा थप कडाइ गर्ने गरी प्रहरीसहित छ युवा खटाइएको छ। छिमेकी जिल्लाका कारण दरबाङसमेत जोखिममा परेपछि स्थानीयले बिरामी र अत्यावश्यक परेकालाई सहज हुने गरी वडाध्यक्ष सुवेदी, इलाका प्रहरी कार्यालय र लायन्स क्लब अफ दरबाङका पूर्वअध्यक्ष हीरा पुनलाई साँचो दिइएको छ। सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा प्रवेशमा रोक लगाउने निर्णयसँगै म्याग्दीका स्थानीय तहले समेत कडाइ गरेका छन्।