PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लकडाउनले झापामै रोकियो पूर्वराज परिवार, पूर्वराजा शाहले भने: घरबाहिर ननिस्कौं, सामाजिक दुरी कायम गरौं



कमलराज भट्ट

लकडाउनले झापामै रोकियो पूर्वराज परिवार, पूर्वराजा शाहले भने: घरबाहिर ननिस्कौं, सामाजिक दुरी कायम गरौं

काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार झापामा रोकिएको छ।

फागुनको अन्त्यतिर भारतको सिक्किम र दार्जिलिङको भ्रमणमा निस्किएको पूर्वराज परिवार चैत ११ बाट घोषित लकडाउनका कारण झापामा रोकिएको हो। पूर्व राजपरिवारका सदस्य झापाको दमकमा बसिरहेका छन्। दमकमै राज परिवारको स्वामित्वमा हिमालय महालक्ष्मी चिया बगान रहेको छ।

पूर्वराजा शाह र पूर्वरानी कोमलराज्य लक्ष्मी शाह लकडाउनको पूर्ण पालना गर्दै झापामा बसिरहेको निजी सचिव सागरराज तिमल्सिनाले बताए। उनका अनुसार पूर्वी भारतको भ्रमण सकेर राजपरिवारका सदस्य झापा हुँदै काठमाडौं फर्किने कार्यक्रम थियो। पूर्वराजा (भिआइपी) भएकाले उनी गाडीमा काठमाडौं फर्किन सक्थे। तर, आफू पनि लकडाउन पालना गर्ने र नागरिकलाई पनि लकडाउन पालनाका लागि प्रेरित गर्न शाह झापामै बसेका हुन्। पूर्वराज परिवार लकडाउन अवधिभर झापामै रहनेछ।

पूर्वराजा शाहले अरुलाई पनि लकडाउनको पूर्ण पालना गर्न आग्रह गरिरहेको निजी सचिव तिमल्सिनाले जानकारी दिए।

'मौसुफ सरकारहरुले कोरोनाबाट बच्न विभिन्न उपायहरु प्रयोग गर्दै आफ्ना सचिवालय सदस्य तथा आम नागरिकलाई पनि प्रयोग गर्न आग्रह गरिरहनुभएको छ,' तिमल्सिनाले भने, 'मौसुफ सरकारहरु नागरिकको स्वास्थ्यप्रति चिन्तित हुनुहुन्छ।'

उनका अनुसार सामाजिक दुरी कायम गर्ने, स्यानिटाइनर प्रयोग गर्ने, मास्क लगाउने, सामुहिक छलफल नगर्ने रणनीति पूर्वराज परिवारले लिएको छ। सचिवालयलाई पनि कार्यान्वयन गर्न निर्देशन दिएका छन्। आम नागरिकलाई बाध्यात्मक अनिवार्यता लकडाउनको पालना गर्दै घरमै बस्न आग्रह गरेका छन्। यसको पालनामा गैर जिम्मेवार हुने छुट कसैलाई नभएको शाहको भनाई छ।

कोरोना राहत कोषमा २ करोड

पूर्वीभारतको भ्रमणबाट स्वदेश फर्किँदा लकडाउनले झापामै रोकिए पनि पूर्वराजा परिवारले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा दुई करोड रुपैयाँ जम्मा गरेको छ। आफू झापामै भए पनि पूर्वराजा शाहले चैत १८ गते बुहारी हिमानी शाहको नेतृत्वमा रहेको हिमानी राहत कोषमार्फत सरकारी कोषमा दुई करोड रुपैयाँ दाखिला गरेका हुन्।

सोही दिन पूर्वराजा शाहद्वारा जारी विज्ञप्तिमा कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरण तथा राहत, उद्धार र व्यवस्थित बन्दोबस्तका लागि सरकारी र गैरसरकारी पक्षबाट भएको काम प्रशंसनीय भएको र थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।

विज्ञप्तिमार्फत् पूर्वराजा शाहले कोरोना महामारीको संकटमा जोखिम मोलेर खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत तथा नेपाली सञ्चारमाध्यमलाईसमेत धन्यवाद दिएका थिए।

विमानस्थलमा पूर्वराजा दम्पतीको कोरोना परीक्षण

पूर्वी भारतको भ्रमणपूर्व पूर्व राजारानी भारतको राजधानी नयाँ दिल्लीको धार्मिक भ्रमणमा गएका थिए। सो भ्रमण सकेर फागुन १८ गते फर्किएका पूर्वराजारानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना हेल्थ डेस्कले स्वास्थ्य परीक्षण गरेको थियो। विमानस्थलमा पूर्वराजा दम्पतीको शरीरको तापक्रम जाँच गरिएको हो। विमानस्थलका कर्मचारीले तापमान नाप्न आग्रह गर्दा पूर्वराजा शाहले मुस्कुराउँदै जाँच गराएका थिए। सम्भावित कोरोना भाइरसको संक्रमण जोखिमलाई ध्यानमा राख्दै विमानस्थलमा शाह दम्पतीको स्वास्थ्यमा जाँच गरिएको थियो। पूर्वराज परिवारले कोरोना भाइरसविरुद्धको सरकारी प्रयासलाई सुरुदेखि साथ दिँदै आएको छ।

सामाजिक सञ्जालमा सक्रिय, परीक्षणको दायरा बढाउन सरकारलाई आग्रह

पूर्वराजा शाह पछिल्लो समय सामाजिक सञ्जालमा पनि सक्रिय छन्। जीबीबी शाह ट्वीटर ह्याण्डल आफ्नो सचिवालयमार्फत् सञ्चालन गरिरहेका शाह समसामयिक विषयवस्तुमा आफ्नो धारणा राखिरहेका छन्। विशेषगरी पछिल्लो समयको कोरोना भाइरस, लकडाउन, सीमामा अलपत्र नेपाली, चीनबाट खरीद स्वास्थ्य सामग्री लगायत थुप्रै विषयमा नियमित धारणा राखिरहेका छन्।

यसै सन्दर्भमा शाहले कोरोना भाइरसको संक्रमण फैलिन नदिन परीक्षणको दायरा बढाउनुपर्ने सुझाव सरकारलाई दिएका छन्। पछिल्लो समय सचिवालयमार्फत् ट्वीटरमा पनि सक्रिय पूर्वराजा शाहले संक्रमणको त्रासका कारण जनमानसमा अन्योल एवम् भयको अवस्था सिर्जना भएको र यस अवस्थालाई सहज बनाउन सरकारले उपयुक्त स्वास्थ्य सुरक्षा अपनाउनुका साथै परीक्षणलाई तीव्र बनाउनु जरुरी रहेको उल्लेख गरेका छन्।

गरिब, निमुखा नागरिकमा सरकारको ध्यान नपुगेको टिप्पणी गर्दै शाहले भनेका छन्, 'यसले नकारात्मकता पैदा गर्ने सम्भावनालाई जिवित राख्दछ जुन सर्वथा हितमा हुँदैन। प्राथमिकताका आधारमा शासन पद्धति कायम हुनु अनिवार्य हुन्छ।’

पूर्वराजा शाहले ट्वीटरमा चीनबाट स्वास्थ्य सामग्री खरीदमा असन्तुष्टि जनाउँदै कुनै बहानामा राज्यकोषको दोहन निन्दनीय कार्य हुने उल्लेख गरेका छन्।

'कोरोनाविरूद्ध लड्न चीनबाट सामान किनेका धेरै मुलुकले ती सामान त्रुटिपूर्ण भेटिएको भन्दै फिर्ता गरेको अवस्थामा सरकारले भित्र्याएको त्यस्ता सामानले स्वास्थ्यकर्मी र नागरिकमा नकारात्मक प्रभाव पर्नुभन्दा पहिले नै सावधान हुनु जरुरी छ। कुनै बहानामा राज्यकोषको दोहन निन्दनीय कार्य हो,' उनले सरकारलाई सचेत गराउँदै भनेका छन्।

शाहले ट्वीटरबाटै सीमामा अलपत्र नेपाली नागरिकलाई आवश्यक स्वास्थ्य परीक्षण गरेर स्वदेश आउन दिन आग्रह गरेका थिए।

‘कोरानाको डरका कारण घर आएका हाम्रा नेपाली नागरिक सीमामा रोकिनु परेको खबर आफैंमा प्रिय होइन। कोरोनाले गर्दा आफू काम गरिरहेका ठाउँमा बस्न नसक्ने र काम नपाएर विचल्ली भएपछि फर्कँन खोज्दा घरको ढोकामा तगारो लाग्नुहुन्न। सरकारले आवश्यक स्वास्थ्य परीक्षण गरी स्वदेश आउन दिनु उत्तम हुनेछ,’ उनले सरकारलाई सुझाव दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell