
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीका बेला सरकारलाई असफल देखाउने प्रचारबाजी बेमौसमी बाजा भएको बताएका छन्।
मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयको विवादास्पद स्वास्थ्य सामग्री खरीद प्रकरणको पनि बचाउ गरे। सामान्य अवस्थाका लागि बनेका नियमित प्रकियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त नहुने भएकाले स्वास्थ्य सामग्री आपूर्तिका लागि विशेष व्यवस्था गरिएको ओलीको भनाई थियो।
ओलीले विशेष व्यवस्थामार्फत नै नेपाली सेनालाई खरीदको जिम्मा दिएको पनि स्पष्ट पारे। विपत्तिका बेला नागरिकको जीवनभन्दा अरु कुरा महत्वपूर्ण हुन नसक्ने भन्दै ओलीले भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिबद्धतालाई लगातारको निराधार कुप्रचारले कमजोर पार्न नसक्ने दावीसमेत गरे।
कहिकतै भ्रष्टाचार, अनियमितजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार पछि नपर्ने ओलीको भनाई थियो।
प्रधानमन्त्री ओलीले सहमतिको सरकार र मध्यावधि निवार्चनको कुरा गर्ने नेपाली कांग्रेसका नेताहरुलाई झटारो हाने। 'मानव जातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लडनुपर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पुरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजाजस्तै हो। र यस्तो प्रवृति किमार्थ प्रशंसनीय हुन सक्दैन,' कांग्रेस नेताहरुका पछिल्ला अभिव्यक्तितर्फ संकेत गर्दै ओलीले भने।
प्रधानमन्त्रीको सम्बोधनको अंश
यतिबेला सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरण आपूर्तिमा परेको छ। मागको तुलनामा आपूर्ति कम हुँदा स्वास्थ्य सामग्री खोसाखोस भएको र विभिन्न मुलुकबीच आरोप प्रत्यारोप चलिरहेको छ। नागरिकको जीवनभन्दा अरु कुरा महत्वपूर्ण हुन सक्दैन।
सामान्य अवस्थाका लागि बनेका नियमित प्रकियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन्। त्यसैले स्वास्थ्य सामग्री आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो। अवस्था सामान्य होस वा असामान्य सरकारका कामकारवाहीहरु विधिसम्मत हुनुपर्छ। र सुशासनका मानकमाथि खरो उत्रिनैपर्छ।
सरकारका काम कुनै पनि संवैधानिक अंगहरुको संपरीक्षणभन्दा माथि हुँदैनन्। तिनले गर्ने अध्ययन र फैसलाका लागि सरकार हमेशा तयार रहन्छ।
तर, कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुननसक्ने गरिने निराधार आरोप र मिथ्या प्रचारले अफ्ठ्यारोमा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ।
समाजमा उठ्ने गरेका, खासगरी सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान रहेको छ। मानव जातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लडनुपर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पुरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजाजस्तै हो। र यस्तो प्रवृति किमार्थ प्रशंसनीय हुन सक्दैन।
भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिबद्धतालाई लगातारको निराधार कुप्रचारले कमजोर पार्न सक्नेछैन। कहिकतै भ्रष्टाचार, अनियमितजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार पछि पर्ने छैन। सरकार, दल, समाज र जनताको बलियो एकता नै महामारीमाथि विजय हासिल गर्ने अस्त्र हो। त्यसैले सबै एकजुट भएर महामारीविरुद्ध लडौं।