सोमवार भारतीय जनता पार्टी (भाजपा)को स्थापना दिवस। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पार्टी कार्यकर्ताहरुलाई सामाजिक सञ्जाल फेसवुकबाट २२ मिनेट लामो सम्बोधन गरे। भारतीय जनसंघ, जनता पार्टी हुँदा १९८० मा भारतीय जनता पार्टी बनेको भाजपाले ४० औं वर्षगाँठ यसपटक धुमधामसँग मनाउन पाएन।
विश्वभर कोभिड-१९ को महाव्याधी फैलिँदै गर्दा भारतमा लकडाउन चलिरहेको छ। सामाजिक दुरी कायम गर्नका लागि गरिएको 'लकडाउन'कै कारण भाजपाले सार्वजनिक रुपमा जन्मदिन मनाउन पाएन। अझ अर्को कुराऽ भारतीय लोकसभामा ६० प्रतिशत सिटसहित भारी बहुमतसहितको सत्तारुढ दलले पार्टीको स्थापना दिवसमा शक्ति प्रदर्शन गर्न सकेन।
लकडाउनकै कारण भाजपाले पार्टी स्थापना दिवस मनाउन नपाउँदा भारतीय प्रधानमन्त्री मोदीले अर्को जुक्ति निकाले, दीप प्रज्वलनको। पार्टी स्थापना दिवसको पूर्वसन्ध्यामा देशवासीलाई दीप जलाउन आह्वान गरे।
भलै, यसले कोभिड-१९ को अध्यारो चिर्ने भन्दै नामाकारण दिइयो। दीप प्रज्वलनसँग कोभिड-१९ को कुनै पनि सम्बन्ध छैन। हुन त हरेक दिन साँझ दियो बाल्ने चलन हिन्दु संस्कार हो। तर, यस पटकको बत्तीसँग हल्ला जोडिएर आयो- पन्डितहरुलाई हवाला दिँदै सामाजिक सञ्जालमा सन्देशहरु भाइरल भए - 'मैनबत्ती वा दियो बाल्दा उत्पन्न हुने तापक्रमले कोरोना भाइरस मार्छ।'
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रिल ५ का दिन साँझ ९ बजे सबै भारतीयलाई दीप प्रज्वलन गर्न अनुरोध गरे। प्रकाशको तागत अथाह हुने आशय व्यक्त गर्दै उनले कोरोनाविरुद्ध राष्ट्रिय ऐक्यवद्धता जनाउन अनुरोध गरे। वैज्ञानिक रुपमा कोरोना भाइरस र दीप प्रज्वलनको कुनै सम्बन्ध छैन। हालसम्म औषधी पत्ता लागिसकेको छैन्। कोरोना भाइरस र तापक्रमको सम्बन्धको विषयमा अझै अध्ययन भइरहेको छ। तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पार्टीको जन्मोत्सवलाई मनाउन कोरोना भाइरसलाई भरपुर सदुपयोग गरे।
मोदीले अप्रिल ३ मा भिडियो सन्देश मार्फत् सम्बोधन गर्दै आइतवार अप्रिल ५ गते ९ बजे र ९ मिनेटमा दीप प्रज्वलनका लागि आह्वान गरे। उनको भिडियो सन्देशसँगै क्षणभरमै सामाजिक सञ्जालमा मोदीको यो कदमले कसरी कोरोना भाइरसलाई समाप्त पार्छ भन्दै सन्देशहरु सर्कुलेट हुन थाल्यो।
यस्तै एउटा सन्देशमा नासाको अनुसन्धान भन्दै भनिएको थियो -
नासाको अनुसन्धान अनुसार कोरोना भाइरस अधिक तापक्रममा रहन सक्दैन। आइआइटीका प्रध्यापकका अनुसार यदि १ सय ३० मैनबत्ती एकैसाथ जलाउने हो भने तापक्रम ९ डिग्रीसम्म बढ्छ। त्यसैले कोरोना भाइरस आइतवार रातको ९:९ मिनेटमा खत्त्तम हुने छ। मोदीको मास्टर स्ट्रोक।
सामाजिक सञ्जालमा यस्ता सन्देशहरुले भरिए। भाजपाका कार्यकर्ताहरुले यसलाई क्षणभरमै भाइरल बनाइदिए। भारतमा सामाजिक सञ्जाल राजनीतिक प्रोपोगाण्डाका लागि बढ्दो प्रयोग हुने गरेको छ। यसको उदाहरण पछिल्लो पटक २०१९ मा भएको निर्वाचनका बेला देखिएको थियो।
यस पटक पनि त्यस्तै प्रोपोगाण्डाको रुपमा कोरोना भाइरसलाई प्रयोग गरियो राजनीतिक तथा धार्मिक अस्त्रको रुपमा।
आइआइटीका प्राध्यापकलाई हवाला दिँदै १ सय ३० मैनबत्ती बाले तापक्रम बढ्ने दाबी सामाजिक सञ्जालमा गरिए पनि क्विंटले आइआइटीका अन्सन्धान विज्ञ अब्दुल अलीलाई यस विषयमा जानकारी लिएको छ। उनले १ सय ३० मैनबत्ती बाल्दा ९ डिग्री तापक्रम बढाउन नसकिने दाबी गरेका छन्।
अर्को कुरा, विश्व स्वास्थ्य संगठनले उच्च तापक्रममा कोरोना भाइरस सकिने कुरालाई नकारी सकेको छ। तर, भारतीय प्रधानमन्त्री मोदीकै पहलमा आइतवार भारतभर दीप प्रज्वलन गरिए।
विपक्षी दलका नेताहरुले सामाजिक सञ्जालमा यसको विरोध गर्दै मैन नबाल्ने तर लकडाउनमै बसेर कोभिड-१९ सँग लड्ने प्रतिक्रिया दिएका थिए। तर, विपक्षीका आवाज सामाजिक सञ्जालमा विलिन भए। मैनबत्ती बालेको भोलिपल्टै सामाजिक सञ्जालहरुमा अर्को एउटा तस्विर भाइरल भइरहेको छ। मैनबत्तीको उज्यालोमा भारत भन्दै सेयर भएको तस्विर नासाले जारी गरेको स्याटालाइट तस्विर भनिएको छ। यसलाई सेयर गर्ने भाजपाका नेताहरु पनि छन्। तर, तस्विर २००३ मै नासाले दीपावलीका बेला सार्वजनिक गरेका तस्विर हुन्।
नेपालमा किन बालियो?
आइतवार साँझ मोदीले भनेकै दिन कोरोना भाइरस भगाउन भन्दै दीप बालिए। काठमाडौंसहित तराईका सीमावर्ती जिल्लामा बढी दियो बालिएका दृष्य देखिए।
नेपालमा पनि मोदीको सिको गर्दै ज्योतिषहरुलाई हवाला दिँदै दियो बाल्न भन्दै सामाजिक सञ्जालमा भाइरल भयो। अनी नेपालमा पनि भारतीय जनता पार्टीको स्थापना दिवसको पूर्वसन्ध्यामा दियो बालियो। झिलिमिली पारियो।
लकडाउनका बेला सामाजिक सञ्जालमा भाइरल भइरहेका यस्ता सन्देशले मानिसहरुमा कोभिड-१९ विरुद्ध गलत धारणा बढ्दै गएको छ। हालसम्म औषधी पत्ता नलागेको कोभिड-१९ को नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्नु, कोभिड-१९ का संक्रमितहरुको खोजीखोजी परिक्षण गरी थप संक्रमण फैलाउन नदिनु नै बलियो उपायको रुपमा सुझाएको छ।
नेपालमा पनि लकडाउन छ। सरकारले घोषणा गरेको लकडाउनमा नेपालले १५ दिन गुजारिसकेको छ। तर, त्रास उस्तै छ। यस्तो बेला नेपाली नेतृत्वमाथि प्रश्न उठेको छ। मानिसहरु भारतीय प्रधानमन्त्री आह्वानमा दियो बालिरहँदा नेपाली राजनीतिक नेतृत्व के गर्दै बसिरहेको छ?
यसबीच राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन्। सत्तारुढ दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि सन्देश जारी गरे। तर, जनतामा आशा जाग्न सकेन। किन? के नेपालमा राजनीतिक नेतृत्व नभएकै हो?
अहिले पोलिटिकल इंगेजमेन्ट देखिँदैन। सरकारको काम पनि देखिएको छैन। पोलिटिकल इंगेजमेन्ट नहुँदा मानिसहरु अन्य इंगेजमेन्ट खोजेकै हुन्।
उत्तरी छिमेकी चीनमा कोभिड-१९ नियन्त्रणका लागि राष्ट्रपति सि चिनफिङको नेतृत्वको इंगेजमेन्ट तलसम्म देखियो। प्रधानमन्त्री कोभिड-१९ को संक्रमण फैलिँदै गर्दा वुहानमा पुगे। दुई महिना उपप्रधानमन्त्री वुहानमै बसेर कोभिड-१९ विरुद्धको अभियानलाई नेतृत्व गरिरहिन्।
तर, नेपालमा कोभिड-१९ विरुद्धको यस अभियानलाई कसले नेतृत्व गरिररहेको छ? हुन त कोभिड-१९ विरुद्ध लड्नका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा समिति बनेको छ। तर, समिति लुप्त जस्तै छ। राजनीतिक नेतृत्वहरुको दैनिकी यतिबेला आत्मसंस्मरण लेख्न बितिरहेको छ। कोही साइक्लिङमा ब्यस्त छन्। प्रधानमन्त्री केपी ओली अस्वस्थतामा आराम गरिरहेका छन्। अनी नेपालीका लागि भरोसा कसले दिने?
चीनमा तल्लो तहसम्म चिनियाँ कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु कोभिड-१९ विरुद्धको अभियानमा लागे। तर, नेपालमा कार्यकर्ताहरु सुविधाका लागि अगाडि बढ्छन् सेवाका लागि बढ्दैनन् भन्ने उदाहरण अहिले देखिएको छ। पब्लिसिटी मात्र खोज्ने राजनीतिक नेतृत्व र कार्यकर्ताहरुमा जनताले विश्वास गर्न सक्ने वातावरण भएन। सामाजिक सञ्जालमा राहतको एउटा प्याकेट बोकेर तस्विर खिच्नेको भिड छ तर समस्यामा परेकाहरुलाई सहयोग गर्ने हात कम।
उत्तरी छिमेकी चीनबाट स्वास्थ्य सामाग्री ल्याउँदा अनियमितता भएको भन्दै सरकारले आलोचना खेपिरहेको छ। क्राइसिसको यस बेलासमेत अनियमितताको गन्ध पाउँदा नेतृत्वलाई विश्वास गर्ने वातावरण छैन।
आइतवारमात्र बेलायती महारानीले राष्ट्रका नाममा सम्बोधन गरिन्। दुर्लभ त्यो सम्बोधनका क्रममा उनले अर्को दुर्लभ सम्बोधनलाई सम्झिइन्। कोभिड-१९ का विरुद्ध सबैलाई एक जुट हुन् आह्वान गरिन्। तर, नेपालमा राष्ट्रपतिको सम्बोधनले नेपालीलाई सान्तवना किन दिन सकेन्? प्रश्न यहाँ उठेको छ।
राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कोभिड-१९ विरुद्ध लड्न आह्वान तर गरिन् तर कतिलाई यसले तान्यो? त्यो भन्दा अगाडि उनले अमेरिकाका लागि नेपाली राजदूतलाई फोन गरिन्। त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता व्यक्त गरिन्। उनको चिन्ता जायज थियो। तर, धारचुलामा नेपाली रोकिएका थिए। उनीहरुलाई सम्बोधन गर्न पछि परिन्। यसले उनलाई विवादमा ल्यायो। राष्ट्रपतिले किन कसैले सार्वजनिक रुपमा सुरुमै वक्तव्य जारी गर्दै देशबासी र देश बाहिर रहेका नेपालीको सुरक्षा प्रति चासो व्यक्त गरिनन्? किन उनका सल्लाहकारले उनलाई यस्तो सल्लाह दिएनन्? विवादमा तानिएपछि आएको सम्बोधनलाई जनताले चासो दिएनन्।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै घरबाट सरकार चलाइरहेको छु लेखे। तपाईँ पनि घरमै बस्नुस् भनेर सन्देश जारी गरे। उनको आलोचना भयो। भर्खरै शल्यक्रिया गरेर फर्किएका प्रधानमन्त्री ओली आराम लिइरहेका छन् सबैलाई थाहा छ। तर, घरबाट सरकार चलाउने?
उनीमाथि प्रश्न बर्सियो। घरबाट सरकार चलाउँछु भन्नुको सट्टा प्रधानमन्त्रीले यसो किन भन्न सकेनन् - 'कोभिड-१९ विरुद्ध लड्न तपाईँ घरमै बस्नुस तपाईँको सेवामा सरकार तत्पर छ। तपाईँहरुको आवश्यकता हामी तपाईँहरुको घरमै पुर्याइदिन्छौँ।'
सरकार चलाउनु भनेको पनि जनतालाई सेवा प्रदान गर्नु हो। जनताको आवश्यकता पूरा गर्नु हो। तर, जनताले बुझिदिए- 'तपाईँ घरै बस्नुस् हामी औषधी किन्दा कमिसन खान्छौं।'
अघिपछि भाषण गरेका बेला उखान र टुक्का हालेर जनतालाई मनोरन्जन दिनु जस्तो घरमै बसेर कोभिड-१९ जस्तो महामारीमा कहाँ सहज हुन्छ र?
बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनलाई कोभिड-१९ को संक्रमण देखियो। उनले आइसोलेसनबाटै भर्चुअल रुपमा सरकार चलाए। तर, उनले म घरै बसेर सरकार चलाउँछु राज गर्छु भनेनन्। उनले म घरमै बसे पनि सरकारको काम रोकिने छैन भने। जनताको स्वास्थ्यका लागि केही कदम बाँकी राख्दिन भन्ने सन्देश दिए। अझ, त्यसभन्दा माथि उठेर अत्यावश्यक काम गर्ने जिम्मेवारी (कार्यवाहक) विदेश मन्त्रीलाई दिने बताए। जनतामा आफ्नोपन महसुस गरे।
उखान र टुक्का विपत्तमा पीडामा काम लाग्दैनन् भन्ने सल्लाह प्रधानमन्त्रीलाई किन कुनै सल्लाहकारले दिएनन्? हुन त सल्लाहकारहरु माथि अनियमितताको आरोप लागिरहेको छ। उनीहरुले कस्तो सल्लाह दिन्थे र? लकडाउनको दुई साता पछिमात्र प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गरे। लकडाउन घोषणा गर्दैगर्दा प्रधानमन्त्री ओलीले देशबासीलाई लकडाउनको औचित्यबारे प्रष्ट्याउनुपर्थ्यो, त्यस्तो हुन सकेन।
आज मंगलवार देशबासीका नाममा सम्बोधन गर्दै भ्रष्टाचार हुनै नदिने दाबी प्रस्तुत गरे प्रधानमन्त्रीले। तर, स्वास्थ्य सामाग्री खरीदमा भएको अनियमितता तर्फ संकेत भइरहेका आलोचनाले काम गरिरहेकाहरुको मनोवल घट्ने भन्दै घुमाउरो पाराले आलोचना नगर्न भने। औषधी खरिदमा अनियमितता भए कारवाही गर्छु भन्ने समेत हिम्मत राखेनन्। स्वास्थ्य सामाग्री खरीदमा अनिमितता भएको छैन भनेर जनतालाई विश्वास दिलाउन पनि सकेनन्। उनले खाली काम गर्न नदिने निराधार आरोपमात्र भने। यसको प्रक्रियाका बारेमा बोलेनन्। मिडियामा तथा सामाजिक सञ्जालमा आएका आलोचनालाई सम्बोधन गर्न सकेनन्।
आहतको बेला जनतालाई राहत दिने सरकार र नेता नै जनताका नेता हुन्। राहत भनेको केही खाद्यान्नको पोको मात्र होइन। यस्ता पोका त बाँढ्दै सामाजिक सञ्जालमा फोटो हाल्दै गरेको जनताले देखेका छन्। तर, जनता मनोवैज्ञानिक आहतमा हुँदा राहत दिने नेता भएन्। पार्टी भएन त मोदीलाई नेता मान्दै नेपालीहरु भाजपाको जन्मदिनमा मैन बाले।