
लियो वराडकर २० वर्षका थिए जब सन् १९९९ मा उनले आयरल्यान्डको स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गरे। तब उनी मेडिकल स्टुडेन्टका रुपमा दोस्रो वर्षमा अध्ययन गरिरहेका थिए।
सानैदेखि राजनीतिमा रुची राख्ने वराडकरले सन् २००३ मा भने स्थानीय निर्वाचन जिते। चिकित्सक पेशा र राजनीतिलाई सँगसँगै लैजाने प्रयास गरे उनले। २०११ मा उनलाई आयरल्यान्डको यातायात, पर्यटन र खेलकुद मन्त्री नियुक्त गरियो। त्यसपछि उनको जीवनले नयाँ मोड लियो।
सन् २०१३ मा वराडकरले चिकित्सा पेशा छाडे, राजनीतिमा होमिए। २०१७ मा उनी आयरल्यान्डका प्रधानमन्त्री बने। आफूले पढेको कुरालाई जनतासामु पर्याउने प्रयास पनि गरे। आयरल्यान्डमा स्वास्थ्य क्षेत्रमा सुधार गर्ने प्रयाससँगै देश हाँकिरहे।
४१ वर्षीय प्रधानमन्त्री वराडकर ७ वर्षपछि फेरि सेतो कोट लगाउने तयारी गरिरहेका छन्। विश्व नै कोरोना भाइरसको महामारीसँग लडिरहेको बेला प्रधानमन्त्रीका रुपमा देशको नेतृत्व गर्दै उनी सेतो कोट लगाएर अस्पतालमा प्रवेश गर्दैछन्।
आयरल्यान्डको राष्ट्रिय प्रशासन संस्था आरटिइका अनुसार वराडकरले मार्चमा चिकित्सकका रुपमा आफ्नो नाम फेरि दाखिल गराएका छन्। कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा स्वास्थयकर्मीहरुलाई सहयोग गर्नका लागि वराडकरले फेरि अस्पताल फर्किँदैछन्।
आयरल्यान्डमा कोरोना भाइरसका कारण ५ हजार मानिस संक्रमित हुँदा १ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ। यस्तो अवस्थामा प्रधानमन्त्री वराडकरले ‘फ्रन्टलाइन’ मा बसेर हप्ताको एक सेसन चिकित्सकका रुपमा आफ्नो कर्तव्य पूरा गर्ने प्रयासमा छन्।
भाइरसको संक्रमण फैलिएसँगै आयरल्यान्ड करिब एक हप्तादेखि लकडाउनमा रहेको छ। अत्यावश्यक सामान किन्न बाहेक नागरिकहरुलाई बाहिर हिँडुडुल गर्न प्रतिबन्ध लगाइएको छ।
विश्वभर भाइरस संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी र चिकित्सकको स्वास्थ्यलाई महत्व दिइएको छ। चिकित्सकहरुलाई चाहिने व्यक्तिगत सुरक्षा उपकरणको अभाव विश्वभर रहेको छ। यसैबीच प्रधानमन्त्री वराडकरले चिकित्सकको रुपमा काम फेरि शुरु गर्दा आयरल्यान्डमा संक्रमितहरुको उपचारमा खटिएका चिकित्सकहरुको मनोबल उच्च हुने विश्वास लिइएको छ।