PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

कोभिड-१९ को ‘र्‍यापिड टेस्ट’का लागि कैलाली कञ्चनपुरमा खटाइयो दुई टोली



एम बम

कोभिड-१९ को ‘र्‍यापिड टेस्ट’का लागि कैलाली कञ्चनपुरमा खटाइयो दुई टोली
File Photo: John Minchillo/AP

कैलाली : कैलाली र कञ्चनपुरमा कोरोना भाइरस (कोभिड-१९)को ‘र्‍यापिड टेस्ट’का लागि २ टोली स्थानीय तहमा खटाइएको छ। केन्द्रबाट पठाइएका ६ जना र ४ जना सुदूरपश्चिमबाट गरी १० जनाको टोली खटिइसकेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए।

कैलालीको गोदावरी नगरपालिकासहित कञ्चनपुर हेर्नका लागि ५ जनाको एक टोली र कैलालीका अन्य स्थानीय तह गौरीगंगा नगरपालिका देखि टीकापुरसम्मका लागि ५ जनाको अर्को टोली खटाइएको उनले जानकारी दिए। प्रदेश स्वास्थ्य दिर्नेशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले शुरुमा नमुना परीक्षणका लागि २ सय जनाको र्‍यापिड टेस्ट गरिने बताए।

‘शुरुमा २ वटा टोलीले २ सय जना शंकास्पदहरुको नमुना संकलन गरी र्‍यापिड टेस्टको प्रक्रिया थाल्ने छ’, उनले भने, ‘त्यो काम सम्भव त भोलीसम्म सकिने छ। त्यसपछि क्वारेन्टाइनमा बसेका अन्यको र्‍यापिड टेस्ट गरिने र त्यसको रिपोर्टका आधारमा कति जनाको परीक्षण गर्नुपर्ने हो भनेर टुंगो लाग्छ।’

आज संकलन भएको नमुना आज नै काठमाडौं पठाइने उनले जानकारी दिए। त्यसका लागि हेलिकोप्टर आउन लागेको आफूले जानकारी पाएको उनले बताए। सोमवार साँझ काठमाडौंबाट धनगढी पुगेको तालिम प्राप्त टोली आवश्यक सामग्रीसहित कैलाली र कञ्चनपुरका स्थानीय तहका क्वारेन्टाइनतर्फ लागेको छ।

जोशीका अनुसार स्वास्थ्य कार्यालय कैलालीका ल्याब टेक्निसियन नारायण ढुङ्गानाको सहजीकरणमा खटिएको टोली गोदारी नगरपालिका पछि कञ्चनपुरतर्फ लाग्ने छ भने कैलालीको टीकापुर अस्पतालका ल्याब टेक्निसियन मीनबहादुर कुँवरले सहजीकरणमा खटिएको टोली कैलालीको गौरीगंगा नगरपालिका, लम्कीचुहा नगरपालिका, घोडाघोडी नगरपालिका, जोशीपुर गाउँपालिका र भजनी नगरपालिकाका क्वारेन्टाइन हुँदै टीकापुरसम्म पुग्ने छ।

सुदूरपश्चिममा २ जना भारतबाट आएका युवकमा समेत गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले र्‍यापिड टेस्टको प्रक्रिया थालेको हो। कैलालीमा एक भारतबाट आएका २१ वर्षीय युवकमा र एक दुबईबाट आएका ३४ बर्षीया युवकबाट उनकी भाउजूमा समेत कोरोनाको संक्रमण सरेको पुष्टि भइसकेको छ।

उनीहरुसहित एक कञ्चनपुरका गरी ४ जनाको धनगढीस्थित कोरोना विशेष सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा हाल ४ सय ५१ जना क्वारेन्टाइनमा छन् भने कञ्चनपुरमा १ सय ७० जना छन्। प्रदेश भरी भने २ हजार ३ सय ७० जना क्वारेन्टाइनमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell