PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

नेपालमा कोरोनाको यस्तो छ पछिल्लो अपडेट : १ हजार ८ सय ९० को परीक्षण, थपिएनन् संक्रमित



पहिलोपोस्ट

नेपालमा कोरोनाको यस्तो छ पछिल्लो अपडेट : १ हजार ८ सय ९० को परीक्षण, थपिएनन् संक्रमित

काठमाडौं : उपचारमा रहेका ८ जनाबाहेक मंगलवारसम्म कोरोना संक्रमित बिरामी फेला नपरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मंगलवार नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नयाँ संक्रमित बिरामी फेला नपरेको जानकारी दिएका हुन्। अहिलेसम्म १ हजार ८ सय ९० जनाको कोरोना भाइरस परीक्षण गरिएको छ। एकदिनमा १ सय ९३ जनाको परीक्षण गरिएको हो।

संक्रमण फैलिने सम्भावना भएपछि सरकारले कैलाली, कंचनपुरमा र्‍यापिड टेष्ट गरिरहेको छ। एक दिनमा कैलालीमा १८ जना र कंचनपुरमा २१ जनाको परीक्षण गरिएको छ। त्यस्तै, हुम्ला र अछाममा पनि स्वाब संकलन कार्य भइरहेको छ। क्वारेन्टाइनमा रहेका ४ सय ५० जनाको स्वाब परीक्षणको लक्ष्य राखेर काम भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

अहिलेसम्म काठमाडौं उपत्यकाभित्र १६ जना र उपत्यकाबाहिर ८४ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै देशभर ९ हजार २ सय २८ जना मानिस क्वारेन्टाइनमा रहेका छन्।

उनका अनुसार १ हजार ८ सय ५१ जनाले मोबाइलमा कोरोना परीक्षणको इन्ट्री गराएकोमा पछिल्लो २४ घण्टामा १७ जना रेड जोनमा परेका छन्। अहिलेसम्म १ सय ७२ जना रेड जोनमा छन्। उनीहरुसँग मन्त्रालयले फोन मार्फत् कोरोना संक्रमणबारे जानकारी लिइरहेको छ।

अहिलेसम्म नेपालमा ९ जना कोरोना संक्रमित बिरामी देखिएका छन्। जसमा एक जना उपचारपछि फर्किएका छन् भने बाँकी ८ जनाको उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell