PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

अन्तर्राष्ट्रिय उडान वैशाख १८ गतेसम्म बन्द गर्ने सरकारको निर्णय



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय उडान वैशाख १८ गतेसम्म बन्द गर्ने सरकारको निर्णय
फाइल फोटो।

काठमाडौं : सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलवारको बैठकले यसअघि वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी वैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेको हो।

बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताए। आन्तरिक उडान वैशाख ३ गतेसम्म बन्द गरिएको छ। बैठकले कोभिड-१९ को संक्रमणको उच्च जोखिम भएका जिल्लाहरुमा र्‍यापिड किट मार्फत परीक्षणलाई बढाउने निर्णय गरेको समेत उनले बताए। कैलाली, कञ्चनपुर र बागलुङमा आरडिटी पद्धतिबाट शिघ्र परिक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पिसिआर मेसिनबाट परीक्षण गर्ने निर्णय भएको उनले बताए। बैठकले संक्रमणको बढी सम्भावना भएका जिल्लाहरु डोटी, अछाम, जुम्ला लगयातका जिल्लामा पनि सघन रुपमा परीक्षणलाई अगाडि बढाउने निर्णय गरेको छ।

समितिको बैठकले सबै खालका आपूर्तिहरु र विशेषगरी खाद्य वस्तुको आपूर्तिलाई स्वभाविक राख्ने, आवागमनमा कडाईका साथ निगरानी गर्ने कार्यलाई कायम राख्ने र आपूर्ति नियमित गर्ने निर्णय भएको सचिव विडारीले बताए। स्वास्थ्य सामग्रीहरुको खरिदको सम्बन्धमा नेपाल सरकारले प्रचलित कानुन बमोजिम विशेष परिस्थितिमा अपनाइने कार्यविधिकै आधारमा छोटो र छिटो विधिबाट खरिद गर्ने विषयमा छलफल भएको सचिव विडारीले बताए। स्वास्थ्य सेवा विभागले प्रकृयागत रुपले खरिद गर्ने कामलाई कायम राख्ने र स्वास्थ्य मन्त्रालयको समन्वयमा आवश्यक स्वास्थ्य सामग्रीको संख्या र किसिम पहिचान गरी नेपाली सेनामार्फत जिटुजीबाट प्रत्यक्ष खरिद गर्ने प्रकृया अगाडि बढाएर छिटो सामग्री ल्याउने विषयमा समेत छलफल भएको उनले बताए। त्यस्तै विदेशमा रहेका कुटनीतिक नियोगसँग समेत समन्वय गरेर सामान ल्याउने निर्णय पनि बैठकले गरेको छ।

सचिव विडारीले कोभिड १९ को संक्रमणका कारण अर्थतन्त्रमा पर्ने असरका विषयमा राष्ट्रिय योजना आयोगले अध्ययन गरिरहेको जानकारी समेत दिए। बैठकमा लकडाउन कार्यान्वयनका लागि भएका कामहरुको विषयमा समेत समीक्षा भएको थियो। सरकारले लकडाउनको स्थितिको प्रभावमा परेका १ लाख १४ हजार ३ सय १६ जना परिवारलाई राहत वितरण गरेको सचिव विडारीले बताए। त्यस्तै, ३० हजार ५ सय जना व्यक्तिहरु अहिले विभिन्न स्थानमा क्वारेन्टाइनमा रहेको समेत उनले बताए। लकडाउनको अवस्थामा २ हजार ६ सय भन्दा बढी व्यक्तिहरुलाई कारबाही गरी सम्झाएर छाडेको र २ हजार २ सय ३५ सवारी साधनहरुलाई समेत कारबाही गरिएको छ।

यस्तै कोरोना भाइरस संक्रमणको आशंका लागेकाहरुलाई सेवा दिन देशैभर १ हजार ९ सय ३९ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने गरी व्यवस्थापन गरिएको जानकारी समेत सचिव विडारीले गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell