
शान्ति प्रक्रिया सम्पन्न भए पनि संविधानसभा निर्वाचनको विषयलाई लिएर राजनीतिक दलबीच बेमेल कायमै थियो। संसदीय राजनीतिमा अभ्यस्त र युद्धको पृष्ठभूमिबाट आएको माओवादीबीच चुनावदेखि हरेक विषयमा मतभिन्नता थिए। दलहरुबीचको समन्वय र सहकार्यको वातावरण आवरणमा जति सहज थियो अन्तर्यमा कयौँ अप्ठेरो थियो। यस्तो बेलामा पहिलो संविधानसभा निर्वाचनको दायित्व भोजराज पोखरेलले सम्हालेका थिए। प्रमुख निर्वाचन आयुक्तका रुपमा। मुलुकको प्रशासकीयसँगै राजनीतिक विषयमा पनि दख्खल राख्ने पोखरेलले विदेशमा समेत निर्वाचन/जनमतसंग्रह जस्ता विषयमा काम गरेको अनुभव छ।
मंगलबार पोखरेलले सामाजिक सञ्जालमा प्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरुलाई सुझाव दिएका छन्। वर्तमान संकटपछि शासकीय व्यवस्था कसरी मजबुत बनाउने भन्ने पोखरेलका सुझाव छन्। उनले दलहरुकै प्रयासमा प्राप्त उपलब्धिको संरक्षणका लागि आग्रह पनि गरेका छन्।
यस्ता छन् पोखरेलका सुझावः-
सार्वजनिक जिम्मेवारीमा रहेका हामी सबैबाट धेरै कमी-कमजोरी र गल्ती पनि भएका छन्। देश यतिखेर अप्ठेरो परिस्थितिमा त छँदैछ, कठिन घडि पार लागेपछिको स्थिति पनि शासकीय हिसाबले त्यति सहज नहुन सक्छ। त्यसैले, तपाईँहरूकै अथक प्रयासबाट प्राप्त उपलब्धिको संरक्षणका लागि पनि समय छँदै गम्भीर रूपले सोच्नुहोस्। दुःखको यस घडिबाट तड्पिएको यस बखत नै तपाईँहरुको सानो त्यागले नै आम नागरिकको मन जित्न र सकारात्मक सन्देश दिन सक्छ। यस्ता धेरै विषय होलान् तर जनताले नचाहेका र तपाईँले विना थप लगानी सहजै गर्न सक्ने तलका केही प्रतिनिधिमूलक उदाहरण हुन सक्छन्-
१. सांसद विकास कोषको यो वर्षको खर्च हुन बाँकी रकम कोरोना महामारी नियन्त्रणमा लगाउनुहोस् र अर्को बजेटबाट यो कोष हटाउनुस्।
२. तोकिएका प्रक्रिया मिचेर बलियाले भनेका योजना जथाभाबी समावेश गर्ने काम अबको बजेट र कार्यक्रममा कुनै हालतमा हुन नदिनुस्।
३. कानुनले दिएकोभन्दा बाहिरका लिइरहनु भएका सबै सेवा सुविधा फिर्ता गर्नुहोस् र अरुको पनि फिर्ता गराउनुहोस्। आइन्दा यस्तो गल्ती नगर्ने सार्वजनिक वाचा गर्नुस्।
३. सुरक्षा खतराको नाममा लिइएको अनधिकृत र अतिरिक्त सुरक्षा हटाउनोस्। नागरिक सरह प्रस्तुत हुनुहोस्।
४. आगामी दिनमा प्रक्रिया, प्रणाली, पद्धति र नियम मिचेर आफू अनुकूल निर्णय गराउन हस्तक्षेप नगर्ने प्रण गर्नुस्।
५. देशको साधनस्रोत र अवसरलाई आफ्नै नाता, दाता, वा मतदातामा मात्र पुर्याउने विगतका गल्ती नदोहोर्याइ विधि विधानभित्र रही निष्पक्ष र पारदर्शी ढंगबाट वितरण हुने कुरामा विश्वस्त गराउनुहोस्।
६. मेरो होइन -ठिक मान्छेलाई ठिक ठाउँमा जिम्मेवारी दिने प्रतिबद्धता जनाउनुहोस्। र,
७. विगतमा आफूहरूबाट भएका कमी-कमजोरीप्रति पश्चतापसहित राष्ट्रसँग क्षमायाचना गर्दै अब त्यस्तो गल्ती नदोहोर्याउने सामूहिक प्रतिबद्धता जनाउनुहोस्।
(२०४६ को परिवर्तनपछि नेतृत्व (दल वा सरकार प्रमुख) गर्ने सबैलाई इङ्गित गरी सामूहिक शब्द प्रयोग गरिएको हो)