PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

कपिलवस्तु अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ



रासस

कपिलवस्तु अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ
Photo: pharmaceutical-technology.com

चन्द्रौटा : कपिलवस्तु अस्पतालको आइसोलेसन वार्डमा उपचारका क्रममा मृत्यु भएका एक युवकको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। कपिलवस्तुको विजयनगर २ जर्लैया घर भएका उनको सोमवार साँझ उपचारका क्रममा मृत्यु भएको थियो।

एक दिनअघि नै कोरोनाको आंशका गर्दै उनको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा किशोर बञ्जाडेले बताए। बिरामीलाई शुक्रवार शिवराज नगरपालिकाको चन्द्रौटामा रहेको अस्पतालबाट सिफारिस गरी कपिलवस्तु अस्पताल पठाइएको थियो।

छाती दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएकाले आइसोलेसनमा राखेर उपचार गरिएको बञ्जाडेले बताए। रिपोर्ट नेगेटिभ आएकाले उनको शव परिवारको जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए।

नेपालगञ्जमा कोरोना जाँच यन्त्र जडान 

कोभिड-१९ को परीक्षण गर्न नेपालगञ्जमा पोलिमिरेज चेन रियाक्सन (पिसिआर) मेसिन जडान शुरु भएको छ। बाँके र बर्दिया जिल्लाका शंकास्पद बिरामीलाई लक्ष्य गरी भेरी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि यन्त्र जडान आजदेखि शुरु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले जानकारी दिए।

उनका अनुसार आज नेपालगञ्ज आइपुगेको यन्त्र जडान गर्न शुरु गरिएको छ। यन्त्र जडान गरेर एकदुई दिनमै कोरोना भाइरस परीक्षण शुरु गरिने छ। भेरी अस्पतालमा जडान भइरहेको यन्त्रले एक दिनमा सय जना जतिको कोरोना भाइरस नमुना परीक्षण गर्न सक्नेछ।

भेरी अस्पतालमा कोरोना परीक्षण गर्ने पिसिआर मेसिन खरिद तथा जडानका लागि प्रदेश सरकारले आफैँ खर्च बेहोर्ने निर्णय गरिसकेको छ। 

चार सय जना आइसोलेसनमा

बाँकेमा स्थानीय तहले सञ्चालन गरेका आइसोलेसनमा चार सय जना भन्दा बढी निगरानीमा छन्। तीमध्ये अहिलेसम्म ३१ जनाको नमुना जाँच भएको छ भने २३ जनाको नमुना परीक्षणका लागि काठमाडौं पठाइएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाहले जानकारी दिए।

आज नेपालगञ्ज आएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले यसप्रति चासो देखाउँदै बाँके र बर्दिया जिल्लाका शंकास्पद बिरामीलाई लक्ष्य गरी भेरी अस्पतालमा कोरोना भाइरस परीक्षण यन्त्र जडानको काम द्रुत गतिमा गर्न निर्देशन दिए।

राज्यमन्त्री रावतले नेपालगञ्जमा भेरी अस्पतालका निमित्त प्रमुख डा थापासँग कोरोना परीक्षण यन्त्र जडानको प्रक्रियाबारे जानकारी लिँदै कुनै ढिलाइ नगर्न आग्रह गरे। अस्पताल प्रमुख डा थापाले आजदेखि नै भेरी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि यन्त्र जडान गर्ने प्रक्रिया अघि बढेको बताए।

रगत अभाव नहुन दिन पहल

कोभिड-१९ संक्रमण रोकथामका लागि जारी लकडाउनमा बिरामीलाई रगतको अभाव नदिन पहल गरिएको छ। लकडाउनका कारण बाँकेस्थित अस्पतालमा रगतको अभाव भएपछि अन्तर पार्टी युवा सञ्जाल बाँकेले २४ सै घण्टा बिरामीलाई रगत उपलब्ध गराउने व्यवस्थाको सुरुवात गरेको छ।

रगतका अभावमा रहेका बिरामीलाई रगत उपलब्ध गराउन सञ्जालले सम्पर्क व्यक्ति तोकेर रगत संकलनदेखि बिरामीलाई उपलब्ध गराउन सहजीकरण गर्दै आएको नेकपा बाँकेका कार्यालय सदस्य रत्न खत्रीले जानकारी दिए।

गुल्मीबाट पाँच जनाको स्वाब परीक्षण

कोरोना संक्रमणको आशंकामा जिल्लामा पहिलो पटक पाँच व्यक्तिको स्वाब परीक्षणका लागि पठाइएको छ। रेसुंगा र मुसिकोट नगरपालिका तथा सत्यवती गाउँपालिकामा क्वारेन्टाइनमा रहेका पाँच व्यक्तिको स्वाब संकलन गरेर आज प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको गुल्मी अस्पताल तम्घासका डा उत्तम पच्याले जानकारी दिए।

जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेका व्यक्तिमध्ये रेसुंगाबाट एक, मुसिकोटबाट दुई र सत्यवती गाउँपालिकावाट दुई गरी पाँच व्यक्तिको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको हो। स्वाब परीक्षणका लागि पठाइएका पाँचै जना गत चैत ४ गते कतार एयरवेजको विमानबाट कोरोना संक्रमित युवतीसँगै नेपाल आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell