PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोनाले उदांगिएको विश्व नेतृत्वः के महामारीले सुपर पावरको परिभाषा र केन्द्र बदल्दैछ?



पहिलोपोस्ट

कोरोनाले उदांगिएको विश्व नेतृत्वः के महामारीले सुपर पावरको परिभाषा र केन्द्र बदल्दैछ?
Photo: asiatimes.com

  • कञ्चनराज गिरी-

कोरोनाको कहरले संसार त्रस्त छ। मानिस आक्रान्त छन्। दिनहुँ हजारौँ व्यक्ति संक्रमित भैरहेका छन्। संक्रमण र मृत्युदरको ग्राफ उकालो लाग्दो छ। विश्वका २०४ देश तथा सीमामा फैलिसकेको कोभिड १९ नामको यो महामारीलाई प्रकृति र मानवबीचको विश्वयुद्दको रुपमा पनि ब्याख्या गरिएको छ। विश्व अर्थ व्यवस्था नै ठप्प पारेको महामारीले धेरै क्षेत्रलाई उदाङ्गो पारिदिएको छ।

विश्व नेतृत्व

कोरोना भाइरसलाई बेवास्ता गर्नेमा अग्रस्थानमा आउँछन् -अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प। नोभेम्बरमा हुने रास्ट्रपति निर्वाचनको मुडमा पुगिसकेका उनले सुरुमा कोरोना भाइरस हल्ला भएको र गर्मी लागेपछि आफैं जादुजस्तै हराउँछ, भन्ने जस्ता अभिव्यक्ति दिए। संक्रमितको संख्या बढ्न थालेपछि सबै कुरा आफ्नो नियन्त्रणमा भएको बताए। संक्रमितको संख्या हजारौँ पुगेपछि कोभिड १९ लाई महामारीको रूपमा स्वीकार गरे र देशमा संकटकाल घोषणा गरे। अहिले अमेरिका संसारमै सबैभन्दा बढी कोरोना संक्रमित हुने देश बनेपछि उनी मृतकको संख्या एक लाखमा रोक्न सके त्यो आफ्नो सफलता हुने बताइरहेका छन्। यस्तै बेवास्ताका कारण इटाली, स्पेन, फ्रान्स, जर्मनी, बेलायत लगायतका युरोपेली देशहरूले अहिले मृत्युको त्रासदी बेहोर्नु परिरहेको छ ।

अझ केही त्यस्ता देश छन् जसले आजसम्म कोभिड १९ लाई गम्भीरतापूर्वक लिएका छैनन्। बेलारुसका रास्ट्रपति अलेक्जेण्डर लुकाशेन्कोले कोरोना भाइरसलाई पागलपनको संज्ञा दिइरहेका छन्। छिमेकी देश युक्रेन, पोल्याण्ड, रसिया, लात्भिया, लिथुआनियाले सबै यातायात र सिमाना बन्द गर्नुलाई मुर्खता भन्दै उनी जनतालाई काममा जान, साउना जान र भोड्का खान भनिरहेका छन्। ब्राजिलका रास्ट्रपति जायर बोल्सोनारो कोरोना भाइरसलाई मिडियाको हौवा बताउँछन्। यस्तो सानोतिनो रुघाखोकीले केही नहुने भन्दै उनी ब्राजिलियनहरु नालीमा पौडी खेलेर पनि बिरामी नपर्ने दाबी गर्दै आएका छन्। इरान, चीन र रसियाजस्ता देशहरुले संक्रमित तथा मृतकको संख्या लुकाइराखेको आरोप लाग्ने गरेको छ।

यसरी आजको विश्व प्रथम तथा दोस्रो विश्वयुद्धमाझै आफ्नो क्षणिक हितलाई महत्त्व दिने, अदूरदर्शी, पपुलिस्ट, रास्ट्रवादीहरुको नेतृत्वमा पुगेको प्रष्ट भएको छ। यति संवेदनहीन हातहरुमा पुगेको विश्वले त्यसको कस्तो मूल्य चुकाउनु पर्ने हो। त्यो समयक्रमसँगै प्रष्ट हुँदै जानेछ।

विश्व स्वास्थ्यको दूर्दशा

विश्वका कुनै पनि देश विश्वव्यापी महामारी नियन्त्रण गर्ने सामर्थ्यमा छैनन् भन्ने  कोभिड १९ महामारीले छर्लङ्ग पारिदिएको छ । डब्लुएचओको हेल्थ सिस्टम पर्फर्मेन्स अध्ययनको पहिलो स्थानमा रहेको फ्रान्स र दोस्रो स्थानमा रहेको इटाली नै अहिले कोरोना भाइरसबाट सबैभन्दा बढी आक्रान्त हुने देशको सूचीमा अग्रस्थानमा छन्। संसारकै उत्कृष्ट स्वास्थ्य सेवा भएका स्पेन, जर्मनी, बेलायत जस्ता युरोपेली देशहरुको अवस्था उत्तिकै  नाजुक छ ।

यसले प्रशस्त स्वास्थ्य संस्था वा डाक्टर र बिरामीको अनुपातमात्र उत्कृष्ट स्वास्थ्य सेवाको मानक हुन नसक्ने कुरा प्रमाणित भएको छ। साथै उपचारभन्दा रोकथाम नै बढी प्रभावकारी हुने कुरा प्रष्ट भएको छ। चीन र कोरियाले यो कुरालाई प्रमाणित पनि गरिदिएका छन्। चीनले प्रयोग गरेको लकडाउनको मोडल, जुन पहिले लोकतन्त्र र मानव अधिकारका दृस्टिले अनुचित भनी आलोचित भएको थियो जुन आज विश्वभरी प्रयोग भएको छ। र यो मोडल कोभिड १९ को संक्रमण नियन्त्रण गर्ने एउटामात्र उपाय सिद्ध भएको छ।

प्रकृतिको  प्रहार

कोरोनाको विश्वव्यापी महामारीलाई प्रकृतिलाई सन्तुलित राख्ने प्रकृतिको एक प्राकृतिक प्रक्रियाको रूपमा पनि अर्थ्याउन सकिन्छ। सुरुवाती दिनहरुमा कोरोना भाइरसलाई चीनको प्रयोगशालाबाट फुत्केको जैविक हतियार भनेर व्याख्या गरिएको थियो । तर यो कुरा असत्य प्रमाणित भैसकेको छ। अहिले उक्त भाइरस चमेरा, सालक जस्ता जीवजन्तुबाट मान्छेमा सरेको हुनसक्ने सम्भावना औँल्याइएको छ। जे भए पनि प्रकृति र मान्छेबीच हजारौँ वर्षदेखि एउटा अघोषित द्वन्द चलिरहेकै छ। मानिसले पशुपन्छी माथि निर्मम प्रहार गरेकै छ। वातावरणमा विनाशलीला मच्चाएकै छ। भनिन्छ मानव जातिको अस्तित्व पृथ्वीमा नहुने हो भने प्रकृति फस्टाउँछ भने अन्य पशुपन्छी तथा वनस्पति नहुने हो भने प्रकृति क्षणभरमै अस्ताउँछ। यस अर्थमा मानिस आफैँ पनि प्रकृतिको लागि भाइरस हो।

फलतः हामी आफ्नै कुकृत्यको कारण प्रकृतिले समय समयमा मच्चाउँदै आएको ताण्डवको प्रकोप सहन गर्न बाध्य छौँ। कोभिड १९ को रुपमा आज हामी प्रकृतिको सामुन्ने निरीह बनेका छौँ। घरमै थुनिनु पर्दा हामीले पशुपन्छीले चिडियाघरमा कस्तो महसुस गरिरहेका होलान भन्ने कुरा अनुभूत गरेका छौँ। प्रकृतिले मानिसको आर्थिक सामाजिक अवस्था वा जाति वा वर्णको आधारमा भेदभाव नगरी प्रहार गरेको  छ। र प्रकृतिले निष्पाप बालबालिकाहरुलाई विशिष्ट स्थानमा राखेको छ भन्ने कुराको बोध पनि हामीलाई भएको छ। यसले प्रकृतिसामु मानिसको केही जोर नचल्ने र प्रकृति  सदैव मानव जातिभन्दा बलवान भएको पुष्टि भएको छ।

सभ्यता र संस्कृति

विकसित देशहरूको विकास र समृद्धिको कारक उनीहरुको सभ्यता र अनुशासनलाई मानिँदै आइएको थियो। तर उनीहरु सभ्य र सुसंस्कृत हुन्छन् भन्ने हाम्रो धारणा कोभिड १९ को प्रकोपले गलत साबित गरिदिएको छ। लोकतन्त्र र स्वतन्त्रताको नाममा सरकारी लकडाउनलाई अवज्ञा गर्नेहरुको कारण नै युरोप र अमेरिका महामारीको यो भयानक दलदलमा फसेको देखिन्छ। अझ लकडाउनहरुको घोषणा भएपश्चात खाद्यान्नदेखि ट्वाइलेट पेपरसम्म थुपार्ने होडबाजीले उनीहरुको चेतनास्तर पनि संसार सामु उदाङ्गो भएको छ।

अर्कोतर्फ पूर्वीय दर्शनका कतिपय मान्यता तथा अभ्यासले यो प्रकोपपश्चात् विश्वमा जबर्जस्त दबदबा बनाउने पक्का छ। यो महामारीले पूर्वीय संस्कृतिमा प्रचलित नमस्कारलाई विश्वमा अभिवादनको सबैभन्दा स्वस्थ्यकर र सुरक्षित तरिकाको रूपमा स्थापित गरिसकेको छ। पूर्वीय दर्शनको जीवन पद्धतिको रूपमा रहेको योगा अहिले विश्वले आत्मसात् गरिसकेको छ र  विगत पाँच वर्षयता बिश्वले योगा दिवस पनि मनाउँदै आएको छ। यो महामारी पश्चात पूर्वीय दर्शन र विशेषगरि हिन्दु धर्म संस्कृतिप्रति पश्चिमी समाजको रुचि तथा अध्ययन अन्वेषणमा बढोत्तरी हुन सक्ने आकलन   गर्न सकिन्छ ।

शक्ति संरचनामा परिवर्तन?

के शक्तिको मानक सैन्य क्षमता मात्र हो त? यसमा संकट व्यवस्थापन गर्नसक्ने क्षमताले कति महत्त्व राख्दछ? विश्वको सर्वशक्तिमान राष्ट्र अमेरिका यो प्रकोपबाट सबैभन्दा आहात हुने देखिएको छ। धर्तीको स्वर्ग मानिएको अमेरिकाको अर्थतन्त्र नराम्ररी प्रभावित हुने देखिन्छ। यो घटनापश्चात अमेरिकाले संसारमा सबैभन्दा ठूलो अर्थतन्त्र वा सैन्य शक्तिको रूपमा आफ्नो प्रभुत्व कायम राखिराख्न सक्ला?

वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट चीन भने सामान्य अवस्थातर्फ फर्कंदै छ। कोरोनाबाट आक्रान्त मुलुकहरु चीनको मुख ताक्नुपर्ने अवस्थामा आइपुगेका छन्। र चीनले सबैतिर सहयोगको हात अघि बढाइरहेको पनि देखिन्छ। भनिन्छ ‘संकट व्यवस्थापन नै व्यवस्थापकीय सफलताको चुरो हो। के चीन यो संकटको बुद्दिमततापूर्वक व्यवस्थापन गरेर विश्वमा नयाँ सुपर पावरको रुपमा उदाएको हो त?

समसामयिक प्रश्नहरु

ढिलोचाँडो कोरोनाविरुद्धको युद्धमा सफलता प्राप्त गर्न त सकिएला नै तर आज सबै क्षेत्रमा उदाङ्गिएको विश्वसामु अनेक प्रश्न उब्जिएका छन्। के विश्वको सर्वोत्कृष्ट व्यवस्था मानिएको लोकतन्त्र निरपेक्ष हुन्छ? के हाम्रा विकासका मोडल सही छन्? कृषिको विकासबिना अर्थतन्त्रको दिगोपना सम्भव छ? के हाम्रो औधोगिकीकरण र शहरीकरणका मोडल दिगो प्रकृतिका छन्? कतै हामी विज्ञान प्रविधिभन्दा बढी खेलकूदमा लगानी गरिरहेका त छैनौँ? के स्वास्थ्य, शिक्षा, वातावरण, पर्यटन लगायतका क्षेत्रमा हामी सही दिशामा अघि बढिरहेका छौँ? सम्भवतः यो महामारीको अन्त्यपश्चात यी प्रश्नहरुको उत्तर खोजिनेछ।  तर एउटा कुरा भने अवश्यम्भावी छ- कोभिड १९ महामारीले विश्व इतिहासमा प्रथम विश्व युद्ध, १९२८ को आर्थिक मन्दी, दोस्रो विश्वयुद्ध र शीत युद्धझैं विश्वमा थुप्रै मान्यता तथा सिद्धान्त स्थापित गरेर भने पक्कै जानेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell