PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

ट्रम्पले प्रतिकार गर्ने धम्की दिएपछि भारतले फिर्ता लियो औषधि निर्यातको प्रतिबन्ध



पहिलोपोस्ट

ट्रम्पले प्रतिकार गर्ने धम्की दिएपछि भारतले फिर्ता लियो औषधि निर्यातको प्रतिबन्ध
Photo: GETTY IMAGES

भारत सरकार हाइड्रोक्सिक्लोरोक्विन नामक औषधिको निर्यातमा लगाइएको प्रतिबन्ध फिर्ता गर्न सहमत भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस डिजिज (कोभिड-१९)को उपचारमा उक्त औषधि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै आएका छन्।

राष्ट्रपति ट्रम्पले औषधिको निर्यात सहज नगरे प्रतिकार गर्ने बताएपछि चिकित्सा विशेषज्ञहरूको आरक्षणका बावजुद भारतले प्रतिबन्ध फिर्ता गर्ने निर्णय लिएको हो। राष्ट्रपति ट्रम्पले सो औषधि कोभिड-१९ को उपचारमा अत्यन्त महत्वपूर्ण रहेको बताए पनि त्यसमा वैज्ञानिक प्रमाण भने छैन।

भारत हाइड्रोक्सिक्लोरोक्विन औषधि उत्पादन गर्ने ठूला उत्पादकमध्येको एक हो। भारतले यो औषधि कति मात्रामा निर्यात गर्नेछ भन्ने कुरा भने खुलेको छैन। भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्वले औषधिको स्टकको अवस्था हेरेर कम्पनीहरुले सहमति भएअनुसार निर्यातको प्रतिबद्धता जनाउने बताएका छन्।

भारत र अमेरिकाबीच भएको के हो?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै पनि हालतमा औषधिको निर्यात नगर्न निर्देशन दिएको भोलिपल्ट आइतवार अमेरिकी राष्ट्रपति ट्रम्पले उनलाई फोन गरेका थिए। न्यु योर्क टाइम्सका अनुसार राष्ट्रपति ट्रम्पको हाइड्रोक्सिक्लोरोक्विन औषधि उत्पादन गर्ने फ्रेन्च कम्पनी सनोफीमा व्यक्तिगत शेयर छ।

भारतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि मोदीले यस्तो निर्देशन दिएको बताइएको छ। मंगलवारसम्म भारतमा ३ हजार ९८१ मा संक्रमण देखिएकामा ११४ जनाको मृत्यु भएको छ।

ट्रम्पले मोदीलाई फोन गरेको भोलिपल्ट भारतीय मिडियामा भारतले उनको अनुरोधबारे विचार गर्न सक्ने खवर आएका थिए। सोही दिन ह्वाइट हाउसको प्रेस ब्रिफिङका क्रममा ट्रम्पले औषधिको निर्यातमा प्रतिबन्ध लगाउने भारतको निर्णय आफूलाई मन नपरेको बताएका थिए।

‘पक्कै पनि यसको प्रतिकार हुनेछ, किन हुँदैन,’ उनले भनेका थिए।

भारतले मंगलवार जारी गरेको वक्तव्यमा समेत भारतमा कोरोना भाइरसको निकै प्रभाव भएपनि छिमेकी राष्ट्रहरुमा उचित मात्रामा औषधिको निर्यात गरिने उल्लेख छ।

अमेरिकामा हालसम्म कोरोना भाइरसबाट ३ लाख ७० हजार बढी मानिस संक्रमित भएकामध्ये ११ हजार बढीको मृत्यु भइसकेको छ।

के हो हाइड्रोक्सिक्लोरोक्विन?

हाइड्रोक्सिक्लोरोक्विन मलेरियाविरुद्धको निकै पुरानो र प्रख्यात मानिएको क्लोरोक्विन नामक औषधिसँग मिल्दोजुल्दो छ। सो औषधिलाई केही दशक यता एन्टि-भाइरल एजेन्टको रुपमा पनि प्रयोग गरिँदै आएको थियो।

यस्तोमा राष्ट्रपति ट्रम्पले अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडिए)ले उक्त औषधिलाई कोरोना भाइरसको उपचारको लागि स्वीकृत गरेको दावी गरेका थिए। तर एफडिएले भने यसको खण्डन गरेको छ। पछि राष्ट्रपति ट्रम्पले सो औषधि अत्यावश्यक प्रयोगको लागि स्वीकृत भएको बताएका थिए। अर्थात सरकारले यसको स्वीकृत नगरिसकेको भएपनि मृत्युको दोसाँधमा रहेकाहरुलाई चिकित्सकहरुले उक्त औषधि दिन सक्छन्।

क्लोरोक्विन ‘रजिस्टर्ड ड्रग’ भएकाले पनि यस्तो अवस्थामा चिकित्सकहरुले यो औषधि सेवनको सल्लाह दिन सक्छन्।

भारतमा हाइड्रोक्सिक्लोरोक्विन औषधि पसलमा सजिलै किन्न पाइन्छ र त्यति महंगो पनि छैन। तर, यो औषधि कोभिड-१९ को उपचारमा प्रयोग गर्न सकिने कुरा बाहिर आएपछि यसको बिक्रीमा कडाई गरिएको छ।

तर, भारतले आवश्यक परेको खण्डमा प्रतिमहिना १०० टनसम्म औषधि उत्पादन गर्न सक्ने बताइएको छ, जुन करिब ७ करोड बिरामीको उपचारको लागि पर्याप्त हुन्छ।

कोभिड-१९ विरुद्ध यसले साँच्चै काम गर्छ?

‘ल्याबमा क्लोरोक्विनले कोरोना भाइरसविरुद्ध काम गरेको पाइएको थियो, उपचारमा सहयोग पुयाउन सक्ने आंशिक प्रमाण चिकित्सकहरुले पाएका छन्,’ बिबिसीका स्वास्थ्य संवाददाता जेम्स गेलाघरले भने।

तर यसको क्लिनिकल अथवा मानविय परीक्षण भने पूरा भएको छैन, जुन परीक्षण औषधिले बिरामीमा कस्तो प्रभाव पार्छ भन्ने बुझ्नको लागि अत्यावश्यक हुन्छ। चीन, अमेरिका, बेलायत र स्पेनले यसको परीक्षण गरिरहेका छन्।

‘यदि कोभिड १९ को उपचारमा यसको ठूलै प्रभाव हुन्थ्यो भने अहिलेसम्म त्यसको प्रमाणहरु आइसक्थे तर आएको छैन। यसको अर्थ यदि यसले कामै गर्ने भएपनि निकै कम प्रभावकारी हुन सक्छ,’ भारतका कन्सल्टेन्ट फिजिसियन डा जोयीता बासुले बिबिसीलाई भनिन्।

औषधिको प्रभावबारेको नतिजा आउन बाँकी रहेको भएपनि जोखिमपूर्ण रुपमा यसको प्रयोग हुन थालि सकेको छ। ट्रम्पको घोषणा पछि सो औषधिको ‘ओभरडोज’का कारण नाइजेरियामा बिरामीहरुलाई नकरात्मक प्रभाव परेको केही रिपोर्ट आएका छन्।

हाइड्रोक्सिक्लोरोक्विनको मात्रा सतर्कतापूर्वक नियन्त्रण नगरिए यसले शरीरमा गम्भीर असर गर्न सक्ने ल्यान्सेट मेडिकल जर्नलको एक आर्टिकलमा उल्लेख गरिएको छ। सोही निश्चितताको अभावका कारण पनि फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जालहरुले उक्त औषधिलाई कोरोनाको उपचार भनेर गरिएका प्रख्यात नेताहरुका पोस्टहरु डिलिट गर्ने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell