- राजु आचार्य -
मानिस घर रुपी पिजंडामा सीमित भएको छ। त्यही मानिसलाई देखेर खुर्सानी, गाँजर, दूध भात खाएर ‘पट्टु, गोपी कृष्ण को हो?’ भनेर जिस्क्याई रहने त्यो सुगा अहिले कति खुसी भयो होला?
डोरीले बाँधेर रुख चढ्न समेत प्रतिबन्ध गरिएको त्यो बाँदर हाम्रो अवस्था देखेर कति उफ्रन्छ होला ? खुला ठाउँमा मानिस घुम्न नपाउँदा बाँदरले कम्ता टीठ त मानेको छैन।
पश्चिम नेपालका दूर दराजमा पालिएको च्याखुरा भारतबाट फर्किएका मानिसलाई देखेर कति खुसी भएको होला? 'विश्व जितें' भन्नेहरू आँखाले पनि देख्न नसकिने भाइरसको अगाडि यसरी त्रसित भएको देखेर खुसीले गद्गद गद्गद नै भयो होला।
तागत दिन्छ भन्दै खोलाका पाहा (एक प्रकारको भ्यागुता) स्वाहा पार्ने ती मानिस छिमेकीकोमा समेत जान नपाउँदा त्यो पाहा कति खुसी भयो होला! पाहा खाएर औषधि हुन्छ भन्नेलाई ‘बल्ल खाइस?' पनि भन्दो हो। चीनको वुहानमा रहेका चमेरा र निरबिरालोलाइ भाइरस सारेकोमा धन्यवाद पनि दियो होला।
वन्यजन्तुहरूलाई सीमित घेरा भित्र राखेर पाल्नेहरूले बल्ल एकै ठाउँमा लामो समय बस्दा कस्तो हुन्छ भनेर थाहा पाए होलान्। मानिसहरू मासुको लागि, मनोरञ्जनको लागि, अवैध व्यापारको लागि, औषधिको लागि वन्यजन्तुहरूलाई पाल्दै आएका छन्। पाल्दा खेरि अन्तर्राष्ट्रिय मापदण्ड माने त हुन्थ्यो नि, तर अमानवीय तरिकाले राख्दै/पाल्दै आएका छन्। यसरी राख्दा तिनलाई कति तनाव र दु:ख हुँदो हो। मानिसले वन्यजन्तुहरू पालना थालेको करिब १० हजार वर्ष जति भयो जसको सुरुवात उसले ब्वाँसोबाट गरेको थियो।
+++
‘लकडाउन’ भएको २ हप्ता नाघ्यो। मानिसहरूलाई भने शताब्दी नागे झैँ भएको छ। नेपालीहरूलाई सरकारले कहिले ‘लकडाउन’ खोल्ला र बाहिर जाउँला जस्तै भएको छ। जेल बसे जस्तो भएको छ। प्रधानमन्त्रीको सम्बोधनमा पनि लकडाउनलाई उनले आफ्नो जेल जीवनसँग तुलना गरेका छन्। कोही मर्निङ वाकको निहुँमा त कोही तरकारी किन्ने निहुँमा बाहिर निस्कने अनेक वाहना खोजी रहेका छन्।
अल्छी लागेको प्रसङ्गहरू फेसबुक, ट्विटर, युट्युब र टिकटकमा प्रशस्तै देखिएका छन्। चीनको वुहान करिब २ महिनापछि ‘लकडाउन’बाट भर्खर खुलेको छ। जनजीवन अझै सामान्य भई सकेको छैन। नेपालको ‘लकडाउन’ कहिलेसम्म रहन्छ, भन्न सकिन्न। अहिलेलाई वैशाख ३ सम्म सरकारले पक्का गरी सकेको छ। सरकारको तयारी र भारतमा बढ्दै गएको दर हेर्दा, लकडाउन थपिने अनुमान गर्न सक्छौँ।
‘लकडाउन’को बेला मानिसलाई परेको तनावको दीर्घकालीन असरको विश्लेषण हुँदै रहला। केही समयको ‘लक डाउन’ले यो हालत छ हाम्रो। तर हाम्रै कारणले जीवनभर वा जीवनको कुनै कालखण्ड ‘लकडाउन’मा बसिरहेका वन्यजन्तुहरू के सोच्दा हुन्? वन्यजन्तुहरूले माथि कल्पना गरिएजस्तो त पक्कै सोच्दैनन् होला। मानिसलाई 'खुच्युं' त पक्कै भन्दैनन् होला। किनकी यिनीहरु हामी जस्तो स्वार्थी छैनन्।
वन्यजन्तुको लागि चिडियाखाना संसारको सबैभन्दा तनावपूर्ण स्थान हो। प्राकृतिक रूपमा खाने, खेल्ने, कुद्ने, सन्तान वृद्धी गर्ने, आफू जोगिने, अरूलाई मार्ने आदि यिनको प्राकृतिक वानी व्यवहार हुन्। तर चिडियाखाना वा त्यस्तै सीमित घेरामा रहने बित्तिकै यिनको तनावपूर्ण जीवन सुरु हुन्छ। यिनको खाना परिवर्तन हुन्छ, यिनले प्रतिरक्षा गर्नु पर्दैन, अरूलाई सिकार गर्नु पर्दैन, पोथीको लागि अन्य भालेसँग प्रतिस्पर्धा हुँदैन, रिसाहा बानी बढ्छ, आराम गर्न पाउँदैनन् आदि। यसै कारणले उद्देश्यविहीन कामहरू लगातार गर्न थाल्छन्। जस्तै हिँडिरहने, टाउको हल्लाई रहने, एकोहोरो हुने आदी। यिनै कारणले दिमागमा असर गर्छ। जसले गर्दा मुटु, श्वास प्रश्वास र प्रतिरक्षा प्रणालीलाई समेत असर गर्छ।
अत्याधिक तनावले आफ्नो टाउको तथा चुच्चो भित्ता तथा पिँजडामा ठोकेर रक्तस्राव भएर मरेका उदाहरण पनि थुप्रै छन्। हामीमा र यिनका के फरक छ त ! हामीले अहिले अनुभव गरेको लक डाउन त यिनले बर्षौ देखि गर्दै आएका छन्।
वन्यजन्तुको जुनसुकै हिसाबले नजिक रहनु कोरोना लगायत थुप्रै रोग लाग्ने सम्भावना रही रहन्छ। यसो भनी रहँदा चिडियाखाना चाहिँदैन भन्ने होइन। घाइते वन्यजन्तुको उद्धार, उपचार, र व्यवस्थापनको लागि चिडियाखाना लगायत उद्धार केन्द्रहरू अनिवार्य छन्। संसारभरि चिडियाखानाले सञ्चालन गरेका संरक्षणका कामहरूलाई नजर अन्दाज गर्न भने मिल्दै मिल्दैन।
तर स्वस्थ र प्राकृतिक वासस्थानमा फर्कन सक्ने वन्यजन्तुलाई प्राकृतिक वासस्थानमा छोड्दा राम्रै हुन्छ। ‘लक डाउन’ ले यही शिक्षा दिएको छ। सकिँदैन भने पनि बस्ने स्थान खुला र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुनै पर्छ। विश्वमै दुर्लभ जिवहरुको सुरक्षाको लागि पनि चिडियाखाना त नभई हुन्न। सन् २०१३ मा कोस्टारिकाले जस्तो देश भरिका चिडियाखाना नै बन्द गर्न त कसले पो सक्ला र !