PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

प्रधानमन्त्री आइसियुमा, कसले चलाइरहेको छ बेलायतको शासन?



पहिलोपोस्ट

प्रधानमन्त्री आइसियुमा, कसले चलाइरहेको छ बेलायतको शासन?

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोभिड-१९ को संक्रमण विरुद्ध अस्पतालको शैय्यामा उपचार गराइरहेका छन्। अस्पतालको आइसियुमा रहेका उनको अनुपस्थितिमा कसले बेलायतको सरकार चलाइरहेको छ?

बेलायतमा शासकीय विशेषाधिकार प्रधानमन्त्रीमा निहित छ। विशेष निर्णयहरु मन्त्रिपरिषद् वा उपसमितिहरुले सामूहिक निर्णयबाट गर्दै आएका छन्।

जोनसनको स्वास्थ्य यतिबेला अस्पालतमा स्थिर रहेको उनका प्रवक्ताले बताएका छन्। उनलाई निमोनिया नभएको र भेन्टिलेटरको पनि प्रयोग नगरिएको बताइएको छ। तर, राष्ट्रिय आपतकालको यस घडीमा प्रधानमन्त्री नै अस्पतालमा भर्ना हुँदा बेलायतको शासनभार कसले सम्हालिरहेको छ? उनको स्थानमा कसले निर्णय गरिरहेको छ भन्ने प्रश्न उठेको सीएनएनले जनाएको छ।

जोनसनले यसअघि परराष्ट्र मन्त्री डोमिनिक रावलाई कार्यवाहकको जिम्मेवारी दिइसकेका छन्। उनले आफ्नो अनुपस्थितिमा काम गर्न उनलाई जिम्मेवारी दिए पनि हाल यहाँ प्रधानमन्त्रीको असमर्थताका बेला उनको स्थानमा कोही छैन।

अहिले देश त्यहाँको फरेन एण्ड कमनवेल्थ अफिसबाट कर्मचारीहरुको सहयोगमा रावले नै देश चलाइरहेका छन्। पत्रकारका लागि दैनिक दिइने अपडेटमा प्रवक्ताले भनेका छन्- आवश्यक परे रावले नै सुरक्षा परिषदको बैठकको अध्यक्षता गर्नेछन्।

आवश्यक परे बेलायतको मन्त्रिपरिषदलाई प्रधानमन्त्रीको अनुपस्थितिमा सैन्य कदमसमेत चाल्न सक्ने ती प्रवक्ताले बताएका छन्।

कोभिड-१९ सम्बन्धि निर्णयहरु दैनिक बिहान हुने बैठकबाट लिइँदै आएको छ। यसको अध्यक्षता रावले नै गर्दै आएका छन् र अन्य मन्त्रीस्तरीय समूह पनि सहभागी हुन्छन्। तर, रावलाई मन्त्रीहरु र कर्मचारीहरुको नियुक्ति र बर्खास्तको अधिकार भने छैन।

'प्रधानमन्त्रीको वरिपरि एउटा समूह छ जसले सरकारको कामलाई निरन्तर अगाडि बढाइरहेको छ,' बेलायत सरकारका वरिष्ठ मन्त्री मिचेल गोभले भने। तर, उनले न्युक्लियर आक्रमणको अवस्था आए कसले निर्णय लिने भन्ने भन्न चाहेनन्।

बेलायतको हाउस अफ कमन्सको सुरक्षा समितिका अध्यक्ष कन्जरभेटिभ पार्टीका सांसद टोवियास एलउडले प्रश्न गरेका थिए- 'शत प्रतिशत स्पष्ट हुन आवश्यक छ कि बेलायतको राष्ट्रिय सुरक्षाको विषयमा निर्णय गर्ने अधिकार कसमा निहित छ?'

बेलायतको बकिमघम दरबार र रानीले जोनसनको अवस्थाका बारेमा नियमित जानकारी लिइरहेका छन्। त्यस्तै डुक अप क्याम्ब्रिजबाट पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना आएको छ। राजकुमार विलियमले सन्देश पठाउँदै स्वास्थ्य लाभको कामना गरेको डाउनिङ स्ट्रिटका प्रवक्ताले भनेका छन्।

'संक्रमण फैलन नदिनका लागि युके अझै लकडाउनमै रहने छ। अझै थप केही गर्नुपर्ने अवस्था आयो भने पनि त्यसको लागि तयारी भइरहेको छ,' ती प्रवक्ताले भने।

बेलायतमा विशेषाधिकार प्रधानमन्त्रीमा निहित छ। प्रमुख निर्णयहरु सामुहिकरुपमा लिइन्छन्। अधिकांश अधिकार त्यहाँका मन्त्रीहरु पनि निहित छ।

यतिबेला बेलायत सरकारमा भाइरसको विषयका प्रमुख सल्लाहकार निल फर्गुनसनलाई पनि कोभिड-१९ को संक्रमण भएको बताइएको छ। अन्य विशिष्ट मन्त्री तथा सल्लाहकारहरुलाई सेल्फ आइसोलेसनमा बस्न भनिएको छ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार डोमिनिक कुमिङ पनि प्रधानमन्त्री जोनसनलाई संक्रमण पुष्टि भएसँगै सेल्फ आइसोलेसनमा छन्। उनी अझै डाउनिङ स्ट्रिट फर्किएका छैनन्।

जोनसनलाई आइतवार साँझ अस्पतालमा लगिएको थियो। सोमवार उनलाई आइसियुमा सारियो। प्रधानमन्त्रीको अवस्थाबारे उनलाई आइसियुमा सारिएको एक घण्टासम्म त्यहाँका मन्त्रीहरुलाई समेत जानकारी दिइएको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell