PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

भिडले ठेलमठेल हुने बालाजुको बाइसधारा मेलामा यस्तो देखियो ...

भिडले ठेलमठेल हुने बालाजुको बाइसधारा मेलामा यस्तो देखियो ...

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं  : आज ल्हुती पुन्ही अर्थात् बालाजु बाइसधारा मेला। हरेक वर्ष चैत शुक्ल पूर्णिमाको दिन बालाजुस्थित बाइसधारामा मेला जात्रा लाग्ने गर्छ। त्यहाँ रहेको २२ वटा धारामा स्‍नान गर्न भक्तजनहरुको घुँइचो लाग्ने गर्छ। बालाजु चोकदेखि बाइपाससम्म मानिसहरुको ठेलमठेल हुन्थ्यो।

तर, यसपटक भने बालाजु सुनसान बन्यो। कारण बन्यो कोरोना भाइरसको कारण सरकारले गरेको लकडाउन।

भाइरस फैलिनबाट रोक्ने भन्दै सरकारले लकडाउन गरेको १५ दिन पूरा भइसकेको छ। यसबीच काठमाडौं उपत्यकामा मनाइने धेरै जात्रा पर्वहरु स्थगित भए। यसैक्रममा ल्हुती पुन्ही समेत यसपटक स्थगित गरियो। बालाजुमा श्वेत गणेशको जात्रा पनि विधिवत पूजा मात्रै गरी सकाइयो।  

लकडाउनसँगै बाइसधारामा सर्वसाधरणलाई प्रवेशमा रोक लगाइएको छ। यद्यपि, आज बिहानको समयमा केही स्थानीयलाई बाइसधारमा प्रवेश भने गर्न दिइएको थियो। प्रहरीले पालैपालो उनीहरुलाई प्रवेश गर्न दिएका थिए। स्थानीयका अनुसार बालाजु बाइसधारा मेला रोकिएको यो सम्भवत पहिलोपटक हो।

आजको दिन बिहानै नागर्जुन वनमा रहेको जामाचो डाँडामा पुगेर बालाजु फर्की बाइसधारामा स्नान पनि गर्ने परम्परा रहेको थियो। 

आदिकवि भानुभक्त आचार्यले पनि त्यसबखतको बालाजुको सौन्दर्यतालाई कविता मार्फत् प्रस्तुत गरेका थिए।

' यति दिनपछि मैले बालाजी देख्याँ

पृथ्वीतलभरिमा स्वर्ग हो जानी लेखयाँ।'

भानुभक्त पहिलोपटक कान्तिपुर आउँदा बालाजु देखेर उनले त्यसलाई काठमाडौंकै स्वर्गको रुपमा व्याख्या गरेका थिए। करिब दुई दशक अघिसम्म बालाजुका सबै ढुंगेधारामा मुहानबाटै पानी आउने गर्थ्यो। राजाहरु बुढानीलकण्ठ जान नहुने भएकाले त्यही नै बाल बुढानीलकण्ठ स्थापना गरिएको थियो। पछि महानगरपालिका अन्तर्गत बालाजु बाइसधारा उद्यानका रुपमा पूरै क्षेत्र पार्कको रुपमा विकसित गरिएको छ।

पछिल्लो समय २२ वटै धारामा पानी आउने क्रम बन्द भइसक्यो। मेलाका दिनलाई सबै धारामा पानी आउने व्यवस्था गरिनेमा यसपटक लकडाउनका कारण धारामा पानी छोडिएन। केही धारामा पानी थोरै मात्रामा पानी छोडिएको थियो।

आजकै दिन उपत्यकाका विभिन्न स्थानमा हुने जात्राहरु समेत लकडाउन कै कारण स्थगित भएका छन्। साँखुमा हुने बज्रयोगिनी जात्रा समेत स्थगित भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell