PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

काखा पाखाको राजनीति कहिलेसम्म?



पहिलोपोस्ट

काखा पाखाको राजनीति कहिलेसम्म?

  • दिपकराज तिवारी -

यो समय सरकारलाई गाली गर्ने समय होइन। तर, भोक खप्न नसकी मरे पनि आफ्नै माटोमा मरौला भनेर महाकाली नदीमा हामफालेर मातृभूमी टेकेका एक निरीह नेपालीलाई अर्धनग्न अवस्थामा सुरक्षाकर्मीले पक्राउ गरी हिँडाएको दृष्यले सरकारको विवेदकारी व्यवहारको बारेमा केही लेख्न बाध्य बनायो।

अमेरिकाजस्तो विकसित र शक्ति सम्पन्न देशलाई समेत हायलकायल बनाएको कोरोना भाइरसले नेपाल जस्तो सानो अर्थतन्त्र र सीमित स्रोत साधन भएको देशलाई प्रभावित तुल्याउने नै भयो। यस्तो अवस्थामा सरकारका विवशताहरु सबैले बुझेका छन्। यस घडीमा कोरोना भाइरसको महामारीसँग जुध्ने एउटै उपाय लकडाउननै हो। लकडाउन अप्रिय भए पनि निर्विकल्प हो।

सीमित स्रोत साधनबीच सरकारले अवलम्बन गरेका केही कार्य प्रशंसनीय पनि छन्। केही हप्ता अगाडि उत्तरको छिमेकी चीनबाट १ सय ७५ नेपालीहरुलाई उद्दार गरेर ल्याएको विषयमा सरकारले संसारभरीका नेपालीको मन जितेको थियो। चीन सरकारले नेपालीको सुरक्षाको जिम्मा हामी लिन्छौं भनेर जानकारी गराउँदासमेत् जाहाज पठाएर नेपाली ल्याएको पल कम्ता गर्विलो थिएन। सोही कारणबाट पीडित भइ अर्को छिमेकी देश भारतमा फसेका नेपालीको सन्दर्भमा भने सरकार नराम्रोसँग चुक्यो।

चीनबाट उद्दार गरेर ल्याइएका नेपालीहरु र भारतबाट फर्केका नेपालीहरु बीच निकै ठूलो भिन्नता छ। चीनबाट उद्दार गरेर ल्याएकाहरु आर्थिक रुपमा सम्पन्न पढ्न गएका विधार्थी, व्यापारी तथा दक्ष जनशक्तिको रुपमा काम गर्न गएकाहरु हुन्। उता बोर्डरमा फसेकाहरु दैनिक ज्यालादारीमा काम गरी गुजरा गर्ने, कम लेखापढ भएका र अस्थायी काम खोज्न गएका नेपालीहरु हुन्। उनीहरु आफू भारतमा सुरक्षित हुने अवस्था नदेखेपछि ज्यान जोगाउने आशामा हिँडेरै बोर्डरसम्म आएका हुन्। दु:खको बेला मानिसले मातृभूमि सम्झिन्छन्। त्यसैले मरे पनि मातृभूमिमै मरौं वा राष्ट्रकै लागि मरौं भन्ने भावना आउनु पूर्णरुपले प्रकृतिक छ। राष्ट्रियता भनेको पनि यही हो। भोकै चार दिनको पैदल यात्रा तय गरेर बोर्डरसम्म आउनेहरुलाई भोक भन्दा राष्ट्रियताको तिर्खा बढी देखिन्छ।भारतबाट हिँडेर नेपालको बोर्डरसम्मको यात्रा तय गर्नेहरुमा बालबालिकादेखि सुत्केरी महिलासमेत छन्। यस्तो नाजुक अवस्थामा रहेका नेपालीहरु बेर्डरमा आएर हामीलाई मातृभूमि छिर्नदेउ भनेर नाराबाजी गरेको दृष्य करुणदायी छ। सरकार किन त्यति असंम्वेदनशील भएको?

लकडाउन विवशता हो। तर, संकटको बेला सरकारले विकेक गुमायो। सरकार अत्तालियो। सरकार प्रमुखलाई गलत सूचना पुग्यो वा अरु कुनै कुराले प्रभावित भयो त्यसको लेखाजोखा हुँदै गर्ला। तर, दुवै छिमेकी देशमा रहेका नेपालीहरुको उद्दार गर्ने कुरामा सरकारले देखाएको व्यवहार समान छैन।

रोग, भोक र अशक्तताले निरीह भएकामाथि दया र सद्भाव देखाउने कुरामा नेपाली सधै एक कदम अगाडि छन्। यद्यपि, महाकाली पारी देखिएका दृष्यले के यो कुरा संकटमा पनि लागू हुन्छ त भन्ने कुरामा गम्भीर प्रशन खडा गरेको छ। केही दिन अगाडि खरिपाटी क्वारेन्टाइनबाट विदा भएकाहरुले सरकारको जयजयकार गरेको देखेको हो। कोही नागकिलाई सरकारले आफनो खर्चमा चीनबाट काठमाडौं ल्याउँदा, आफैँ हिँडेर बोर्डरसम्म आएका नेपालीहरुलाई किन उपेक्षा गरियो? कतिपय व्यक्तिहरु महाकाली नदीमा हाम फालेर नेपाल प्रवेश गरे। सुरक्षाको हिसाबले उनीहरुले गरेको काम निन्दनीय छ। तर, भोक र निराशाले उपेक्षित व्यक्तिहरुको उक्त कदम बाध्यात्मक परिस्थितिको उपज हो। यसलाई अस्वभाविक मान्न सकिदैन। द्वन्द्व विश्लेषक जोन गाल्टुङका अनुसार आधारभुत आवश्यकता पूरा नहुँदा मानिसहरुको स्वभाव आम मान्छेको जस्तो शान्तिप्रिय हुँदैन। उनीहरु सामान्य अवस्थामा भन्दा हिंस्रक र खतरा मोल्न तयार हुन्छन्। द्वन्द्व विश्लेषकहरुले यसलाई आधारभूत आवश्यकताको सिद्धान्त मानेका छन्। यही सिद्धान्तका आधारमा माहाकाली पारी भएको अवस्थालाई विष्लेषण गर्दा समयमै यसलाई सम्बोधन नगर्ने हो भने खतरानाक अवस्था निम्तिन सक्ने कुरा आकंलन गर्न सकिन्छ। आधुनिक समाजमा गाँस, बास, सुरक्षा, आत्मसम्मान र मायालाई मान्छेका आधारभूत आवश्यकता मानिन्छ। त्यसैले अर्काको देशमा अपहेलित भएर भौकै प्यासै हिँडेर बोर्डर पुगेकाहरुले माहाकालीमा हाम फाले भनेर उनीहरुलाई कारबाही र हेला गर्नु आवश्यक थिएन।

नेपालमा भन्दा भारतमा बढी संक्रमण फैलिएको कारण उताबाट नेपाल आउने व्यक्तिहरुले नेपालमा संक्रमण फैलाउन सक्छन् भन्ने नेपाल सरकारको चासो अस्वभाविक हैन। तथापि, संकटको बेलामा घरको ढोका थुन्ने सरकारी रवैयाले महाकाली पारी फसेका नेपालीहरुको आधारभूत अधिकार खोसेको छ। महाकाली नदीमा हाम फालेर बचेकाहरुलाई सुरक्षाकर्मीहरुले निकृष्ट र अमानवीय व्यवहार देखाए। अर्धनग्न अवस्थामा पक्राउ गरी शहर डुलाएको दृष्य किन सिंह दरबारको आँखामा परेन?

राष्ट्रपतिले संसारभरमा भएका नेपालीहरुको स्वस्थ्यको चासो व्यक्त गर्दा किन बोर्डरमा फसेका नेपालीको अवस्था सम्बोधन गर्नुभएन? आम नागरिकले समेत बुझेको कुरा के छ भने चीनमा हुनेहरुका आाफ्न्त कुनै न कुनै शक्ति केन्द्रसँग जोडिएका छन्। उनीहरुको बारेमा दिनहुँ चासो बढेपछि सरकारलाई दवाव बनाउनेहरु धेरै भए। तर, नदी पारी फसेका सुदुरपश्चिमका आम नागरिकहरुको राज्यका कुनै पनि निकायमा पहुँच छैन। उनीहरुको पक्षमा बोलिदिने कोही नभएकोले नै उनीहरु उपेक्षाको शिकार भएका हुन्। नेपालको ठूलो दुभाग्य यही हो।

यस्तो विषम अवस्थामा सत्ताधारी र तिनका अधिकांश कार्यकताहरु शक्ति केन्द्रका अन्धभक्त भएका छन्। शासक रिझाउँदा आफ्नो विवेक गुमेको तिनले देख्दैनन्। त्यसैले देखेर पनि बोल्न डराउनेहरुले सरकारलाई सचेत गराउने काम किन गरुन? प्रतीपक्षहरु सरकार गिराउने खेल भन्दा अरु कुरामा रचनात्मक हुन सक्दैनन्। नेपाली कांग्रेसका एक नेताले मध्यावधी चुनावको कुरा गर्नुले यसलाई पुष्टि गर्छ। मुलधारका पार्टीहरुको काम कारवाहीमा असन्तुष्ट भएर वैकल्पिक पार्टी खोलेकाहरुले समेत महाकाली पारीको वर्तमान अवस्थाका सम्बन्धमा कुरा नउठाएको परिदृष्यले के देखाउँछ भने नेपालको राजनीतिक चेतना २०४६ सालभन्दा माथि उठेको छैन। बोर्डर पारीको वर्तमान परिस्थिति पुरानै सोचले जन्माएको एउटा उपज हो।

हालसम्म पनि बोर्डरमा फसेकाहरुको उचित व्यवस्थापन हुन सकेको छैन। उनीहरुमध्ये कसैकसैलाई संक्रमण भएको समाचार पनि आएको छ। ठूलो समूह एकै ठाउँमा जम्मा भएर नाराबाजी गर्दा कति व्यक्तिहरुलाई रोग सरेको होला? यस विषयमा सोच्न जरुरी छ। फसेकाहरुलाई भारतका स्थानीय निकायहरुले लगेर क्वारेन्टाइनमा राखेको भन्ने सुन्नमा आएको छ। क्वारेन्टटाइनमा एउटै कोठामा धेरै जनालाई राखेको विषय अझै गम्भीर छ। यस्तो अवस्थामा भारतमा फसेका नेपाल आउन खोज्ने नेपाली नागरिकहरुलाई सुरक्षित रुपमा नेपाल आउन दिनु उचित हुन्छ।

नेपाल भारतको सीमा खुला भएकाले सरकारले सहज रुपमा नागरिकहरुलाई नेपाल आउन नदिए लुकी चोरी आउनेहरु पनि सम्भावित संक्रमणका स्रोत हुन सक्छन्। अतः फसेका नेपालीहरुको आवागमनलाई सहज तुल्याएर उनीहरुको स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा बस्न वातावरण मिलाउने व्यवस्था सरकारले गर्नुपर्छ। आवगमनलाई सहज बनाउने हो भने मात्र संक्रमितको ट्रेस गर्न सकिन्छ। पारी भएकाहरुलाई जसरी भए पनि पारीनै रोक्ने सरकारको वर्तमान नीतिले कोरोना भाइरससँग लड्न सक्दैन। यस्तो रवैयाले संक्रमण थप्छ घटाउँदैन। पारी फसेकाहरु पनि आफ्नै नागरिक हुन्। संक्रमित भएकाहरुको समेत देशमा साधन स्रोतले भ्याएसम्म आफ्नै देशमा आएर उपचार पाउने नैसर्गिक अधिकार छ। चीनमा फसेकालाई काखा र महाकाली पारी फसेकालाई पाखा नगरियोस्। कुनै हिसाबले आइसकेकाहरुलाई सुसूचित गर्ने र उचित स्थानमा क्वारेन्टटाइनमा राखियोस्। यस अवधीमा देशका सबै निकायहरु पूर्ण रुपमा परिचालन गरियोस र नागरिकहरुलाई अधिकार र कर्तव्य पालना गर्न लगाइयोस्। अबउपरान्त कसैले पनि आफ्नो देश फर्कँदा नदीमा हाम फाल्नुपर्ने अवस्था नहोस्। सबै आलोचना विरोध गर्नका लागि मात्र हुँदैनन्। कोरोना महामारीबाट संसारले छिट्टै मुक्ति पाएको हेर्न पाइयोस्।

(लेखक क्यालिफोर्नियामा बस्छन्।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell