PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

कोभिड -१९ भाइरस मुक्त भए पनि 'कोरोना'को कहरले नछोड्ने भयो कनिकालाई



पहिलोपोस्ट

कोभिड -१९ भाइरस मुक्त भए पनि 'कोरोना'को कहरले नछोड्ने भयो कनिकालाई

कनिका कपुर आफ्नो गायकीका कारण जति चर्चामा थिइन्, त्यसभन्दा धेरै चर्चित बनायो कोरोनाका कारण। कोरोना संक्रमण भएपछि उनी लामो समय अस्पतालमा बस्न बाध्य भइन्। हालै उनको कोभिड १९ परीक्षण नेगेटिभ देखियो। कोरोनाको संक्रमण देखिएदेखि नै विवादित उनलाई पूरै ठीक भए पनि कोरोनाको कहरले भने नछाड्ने भएको छ।

कोरोनाको उपचार पूरा भएपछि अहिले गायिका कपुर घरमा छिन्। त्यहाँ पनि उनले १४ दिन होम-क्वारेन्टाइनको नियम पालन गरेर बस्नुपर्नेछ। कोरोनामुक्त भए भन्दैमा उनलाई जे लाग्यो, त्यही गर्ने छुट छैन।

अस्पतालबाट डिस्चार्ज भएको १४ दिनसम्म उनी क्वारेन्टाइन बस्नेछिन्। त्यसपछि पनि उनलाई कोरोनाले छाड्नेवाला छैन। यसपाला भने रोग होइन, उनको पछाडि लाग्नेछ प्रहरी।

चर्चित गायिकाविरुद्ध प्रहरीमा उजुरी परेको छ। र, उजुरी दिएका छन् लखनउका प्रमुख मेडिकल अधिकृत नरेन्द्रकुमार अग्रवालले। सरोजिनी नगर प्रहरी कार्यालयमा कनिकाविरुद्ध उजुरी परेको हो।

प्रहरीका डेपुटी कमिसनर दिनेशकुमार सिंहले भने, 'प्रमुख मेडिकल अधिकृतले उजुरी दिनुभएको छ। अरुको जीवनलाई जोखिममा पार्नेगरी लापर्वाहीपूर्वक कोरोना भाइरस फैलाउने गतिविधि गरेको उजुरी छ।'

उक्त उजुरीबाहेक पनि कनिका विरुद्ध दुई थप उजुरी परेको छ - गैर जिम्मेवार गतिविधि गरेको भन्दै। यी उजुरीहरु पनि कोरोनासँग सम्बन्धित छन्। हजरतगञ्ज पुलिस स्टेसन र गोमती नगर पुलिस स्टेसनमा उनीविरुद्ध उजुरी परेको हो।

पाँच पटकसम्म कोभिड - १९ को परीक्षणमा पोजेटिभ देखिएकी कनिकाको पछिल्लो रिपोर्ट भने नेगेटिभ आएको थियो। गत आइतवार उनी रिहा भएकी हुन्। लखनउको महानगरमा रहेको घरमा उनी अहिले होम क्वारेन्टाइनमा छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell