
काठमाडौँः नेपाल बार एशोसिएशन अन्तर्गतको मानव अधिकार तथा जनसरोकार समितिले कोरोना (कोभिड–१९) को जोखिमका कारण समस्या परेका नागरिकलाई राहत दिने कार्यलाई व्यवस्थित गर्न सरकारसँग अपिल गरेको छ। समितिले राहत वितरण व्यवस्थित नहुँदा त्यसैबाट संक्रमित हुने जोखिम रहेको भन्दै व्यवस्थित गर्न अपिल गरेको हो।
समितिका संयोजक एवं बार एशोसिशनका पूर्व महासचिव सुनीलकुमार पोखरेलले विज्ञप्ति जारी गर्दै विपन्न, न्यून आय भएका र ज्यालादारी दिइने राहत वितरण प्रक्रियालाई सुरक्षित बनाउन आग्रह गरेका छन्।
विज्ञप्तिमा शहरी क्षेत्रमा अस्थायी बसोबास गरिरहेका नागरिकलाई राज्यले आस्वस्त पार्न नसकेको नसक्दा विभिन्न पीडा झेलेर गाउँ फर्कने क्रम रहेकोमा पनि सरकारको ध्यानाकर्षण गरेको छ। अस्थायी बसोबास गरिरहेका नागरिकलाई राहतको विश्वसनीय वातावरण तयार पार्न वा सुरक्षा निकायको समन्वयमा घरसम्म पुग्नृ व्यवस्था गर्न पनि सरकारलाई समितिले सुझाव दिएको छ ।
विपदमा समयमा कोभिड बाहेकका अन्य रोगका विरामीहरुले उपचार नपाउने अवस्था बनिरहेको भन्दै यसतर्फ सचेत रहन सरकारलाई समितिले अपिल गरेको छ। स्वास्थ्य उपचार पाउने नागरिकको हक सुनिश्चित गर्न पनि समितिले सरकारलाई ध्यानाकर्षण गरेको छ।
समितिले कोरोना जोखिम न्यूनीकरणका लागि अवलम्बन गरिएको सामाजिक दूरी कायम राख्ने अभियानलाई पालना गर्न पनि सबैलाई अपिल गरेको छ।