PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

बडूको चेतावनी: चोर नाकाबाट नेपाल प्रवेश गर्नेहरु दिनदिनै बढ्दैछन्, मापदण्ड बनाएर नभित्र्याए स्थिति भयावह हुनसक्छ



पहिलोपोस्ट

बडूको चेतावनी: चोर नाकाबाट नेपाल प्रवेश गर्नेहरु दिनदिनै बढ्दैछन्, मापदण्ड बनाएर नभित्र्याए स्थिति भयावह हुनसक्छ

काठमाडौं: नेपाली कांग्रेसका नेता एवं सांसद दिलेन्द्रप्रसाद बडूले सीमामा अलपत्र नेपाली नागरिकलाई क्वारेन्टाइनको मापदण्ड बनाएर नेपाल प्रवेश गराउन सरकारसँग माग गरेका छन्।

सीमामा रोकेर भारतीय क्वारेन्टाइनमा राख्दा धेरैजना चोर नाकाबाट लुकिछिपी नेपाल प्रवेश गरिरहेको र यो संख्या दिनानुदिन बढ्दै गइरहेको भन्दै बडूले समयमै मापदण्ड बनाएर प्रवेश गर्न नदिए गाउँ गाउँमा कोरोना भाइरसको संक्रमण फैलिने चेतावनी दिएका छन्। 'नाकापारीको वर्तमानको बसाईको नाजुक अवस्था र अभिलेख बिना नै अवैध चोरी नाकाहरुबाट नेपाल प्रवेश गर्नेहरूको दिनानुदिन बढिरहेको बाध्यात्मक संख्याका कारणले सीमा क्षेत्रमा संक्रमणको जोखिम झन बढ्दै छ', धेरै नेपालीहरु लुकीछिपी महाकालीमा पौडी खेल्दै, ट्युबबाट तर्दै आइरहेका बेला बडूले भनेका छन्।

सर्वोच्च अदालतले समेत सीमामा अलपत्र नेपालीलाई नेपाल ल्याउन फैसला गरेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमा सीमानाकाको दुबैतर्फको बस्तुगत यथार्थ र यसबाट परिरहेको प्रतिकुल प्रभावलाई बुझ्न नसक्नु दु:खद भएको बडूको भनाई छ।

नेता बडूले मापदण्ड अनुसार पर्याप्त क्वारेन्टाइन तयार गरेर कडाइका साथ २१ दिन अनिवार्य क्वारेन्टाइनमा बस्ने अवस्था सुनिश्चित गरी सीमा नाकामा रहेका नागरिकलाई स्पष्ट अभिलेख र स्वास्थ्य परीक्षण सहित आ-आफ्नो स्थानीय तह र प्रहरीको जिम्मा लगाउने व्यवस्थामा ढिलो नगर्न पनि सुझाव दिएका छन्। 'सिंहदरबारका सत्तासिनहरूले स्थानीय अवस्था, समस्या र आवश्यकतालाई बुझिदिने कहिले?' बडूको प्रश्न छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell