PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोना संक्रमण नभएको एसियाली देश, जहाँ चलिरहेछ विवाह समारोह र साइकल र्‍याली, कोही मास्क लगाउँदैनन्



पहिलोपोस्ट

कोरोना संक्रमण नभएको एसियाली देश, जहाँ चलिरहेछ विवाह समारोह र साइकल र्‍याली, कोही मास्क लगाउँदैनन्

काठमाडौं: महाव्याधि कोरोना भाइरसको संक्रमण विश्वका २ सय ११ देशमा देखिइसकेको छ। तर, संसारमा केही यस्ता देश छन् जहाँ एउटा पनि संक्रमित देखिएको छैन। एसियामा तुर्कमेनिस्तान यस्तो देश हो जहाँ हालसम्म कोरोना संक्रमण छैन।

यद्यपि विशेषज्ञहरु भने सरकारले सूचना लुकाएको आशंका गर्छन्। यसबाट महामारीविरुद्धका तयारी र प्रयासमाथि बाधा पुग्ने उनीहरुको बुझाई छ।

पुरै विश्व कोरोना महामारीसँग जुधिरहेका बेला र संक्रमण फैलिन नदिन लकडाउन गरिएको अवस्था छ। तर, यस्तो बेला तुर्कमेनिस्तानमा भने मंगलबार विश्व स्वास्थ्य दिवसका अवसरमा साइकल र्‍याली निकालिएको छ। पुरा विश्व कोरोनाको त्रासमा रहेका बेला यहाँ भने निष्फिक्री दिवस मनाइयो।

मध्य एसियाली देश तुर्कमेनिस्तानले हालसम्म एउटा संक्रमित नदेखिएको तथ्यांक दिइरहेको छ। तर, युरोपेली चिकित्सकहरु सेन्सरशिपका लागि चर्चित सरकारका तर्फबाट जारी तथ्यांकमाथि आशंका गरिरहेका छन्।

तुर्कमेनिस्तानको स्वास्थ्य प्रणालीको अध्ययन गर्दै आएका लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका प्रोफेसर मार्टिन मैक्कीले तुर्कमेनिस्तानबाट आधिकारिक रुपमा जारी गरिएका तथ्यांकमाथि विश्वास गर्न नसकिने बताएका छन्।

यसअघि सन् २००० को दशकमा कैयौ विरामीको बारेमा सूचना लुकाएको तथ्य पेस गर्दै मैक्कीले अहिले पनि विश्वास गर्ने आधार नरहेको उल्लेख गरे। उनका अनुसार तुर्कमेनिस्तानमा धेरै नागरिक कोभिड १९ को त्रासबाट चिन्तित छन्।

तर, तुर्कमेनिस्तानको प्रशासनले भने कोरोना भाइरसको संक्रमण आउन नदिन सम्पूर्ण कदम चालिरहेको र कोही संक्रमित भए उनीहरुको खोजी भइरहेको बताएको छ।

तुर्कमेनिस्तानले संयुक्त राष्ट्रसंघका एजेन्सीहरुसँग मिलेर कोरोनाको सम्भावित जोखिमको सामना गर्न एक्सन प्लानमाथि पनि छलफल गरिरहेको छ।

राष्ट्रसंघका रेसिडेन्ट कोर्डिनेटर एलेना पनोवाले एक्सन प्लानअन्तर्गत तुर्कमेनिस्तानमा समन्वय, सञ्चार जोखिम, घटनाको पहिचान, ल्याब टेस्ट र अन्य उपायबारे छलफल भइरहेको बीबीसीलाई बताएकी छिन्।

पनोवाले सरकारी तथ्यांक अनुसार तुर्कमेनिस्तानमा हालसम्म कोरोना संक्रमित नभेटिएको र आफूहरु यहीँ तथ्यांकलाई आधिकारिक मान्ने बताइन्।

तुर्कमेनिस्तानले चीनमा कोरोना भाइरस देखिएको शुरुको अवस्थामै यात्रामा रोक लगाउने र अन्य कदम चालेकाले यहाँ संक्रमण नदेखिएको पनोवाको बुझाई छ।

तुर्कमेनिस्तानले करिब एक महिना अघि नै सबै सीमा बन्द गरेको थियो।

फेब्रअरीमै चीन र अन्य प्रभावित देशसँग हवाई उडानमा रोक लगाएको थियो। साथै सबै अन्तर्राष्ट्रिय उडानलाई राजधानीबाट तुर्कमेनाबादतर्फ डाइभर्ट गरिएको थियो। जहाँ एक क्वारेन्टाइन क्षेत्र बनाइएको थियो।

राष्ट्रसंघका रेसिडेन्ट कोर्डिनेटर पनोवाले तुर्कमेनिस्तानमा आउने कोभिड १९ को लक्षण देखिएका सबैको परीक्षण गरिएको तर नभेटिएको बताइन्। तर, कति मानिसको परीक्षण गरियो र तुर्कमेनिस्तानसँग कति टेस्ट किट छन् भन्ने एकीन तथ्यांक नभएको पनोवाको भनाई छ। सरकारी अधिकारीले भने देशमा पर्याप्त टेस्ट गरेको बताउँदै आएका छन्।

कोरोना महामारीको संक्रमणसँग लड्न तुर्कमेनिस्तानको स्वास्थ्य प्रणाली पनि तयारी अवस्थामा रहेको पनोवा बताउँछिन्। उनका अनुसार महामारीविरुद्ध कैयौ स्तरमा तयारी भइरहेको छ भने यहाँका अस्पतालहरु पनि सुविधासम्पन्न छन्।

'यद्यपि यदि संक्रमण फैलियो भने हेल्थ सिस्टममाथि दबाव पर्नेछ। अरु देशको हालत पनि त्यस्तै छ। यसकारण तपाई जति धेरै तयारी गर्नुस् कम पर्नेछ। हामीले भेन्टिलेटर र अन्य उपकरण जुटाउन सुझाव दिएका छौं,' उनले भनिन्।

यहाँ कोरोना संक्रमणलाई लिएर नागरिकमा सचेतना बढेको छ। शहरहरुमा आवतजावतमा रोक लगाइएको छ भने राजधानी अश्गाबाटमा आउन चिकित्सकले दिएको आफू स्वस्थ रहेको रिपोर्ट आवश्यक पर्छ।

कोरोनाको सम्भावित जोखिमविरुद्ध बजार र गल्लीहरुमा कीटनाशक औषधि छर्किन थालिएको छ। राष्ट्रपति गुरबांगुली बेरदीमुहामेदोवले घास यो धुवाबाट भाइरस मर्ने बताएका छन्। यद्यपि यसको कुनै प्रमाणित आधार छैन।

यति हुँदाहुँदै पनि बाँकी विश्वको तुलनामा तुर्कमेनिस्तानमा मानिसहरुको दैनिक जनजीवन सामान्य छ।

क्याफे र रेष्टुरेन्ट खुला छन्। विहेमा सहभागीको भीडभाड छ। कोही पनि मास्क लगाउँदैनन्। ठूलो संख्यामा भेला हुन छाडेका छैनन्। सामुहिक एक्सरसाइज (व्यायाम) चलिरहेको छ।

धेरै तुर्कमेनिस्तानमा कोरोना भाइरस महामारीको गम्भीरता पूर्ण रुपमा नजरअन्दाज गरिएको टिप्पणी पनि गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell