PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

कोरोना आशंकामा उपचार नपाउँदा वीरगंजमा १८ वर्षीय युवकको मृत्यु



राधेश्याम पटेल

कोरोना आशंकामा उपचार नपाउँदा वीरगंजमा १८ वर्षीय युवकको मृत्यु

वीरगंजः नेशनल मेडिकल कलेज वीरगंजले कोरोनाको अशंकामा रेफर गरेको एक बिरामीको मृत्यु भएको छ। बारा महागढीमाई नगरपालिका ४ दहियारका १८ वर्षीय निरञ्जन सहनीको उपचारको क्रममा वीरगंज हेल्थ केयर हस्पिटलमा मृत्यु भएको हो। बुधवार बिहान साढे १० बजे सहनीको मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ।

वीरगंजबाट २० किलोमिटर पूर्वमा पर्ने दहियारबाट बुधवार बिहान ६ बजे सहनीलाई उपचारका लागि नेशनल मेडिकल कलेज ल्याइएको थियो। प्रारम्भिक स्वास्थ्य परीक्षणमा कोरोनासँग मिल्दोजुल्दो लक्षण पाइएपछि हेल्थ केयरमा रेफर गरिएको परिवारले बताएका छन्।

‘सहनीलाई ज्वरो, सुक्खा खोकी र दम फुल्ने समस्या थियो। एक्सरेमा निमोनिया देखिएपछि चिकित्सकले हेल्थ केयर अस्पताल वा काठमाडौँ लैजान सुझाव दिए,’ निरञ्जनका परिवारका एक सदस्यले भने।

नेशनल मेडिकल कलेजले ५० बेड सम्मको कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन वार्ड राखेको दाबी गर्दै आएता पनि सामान्य विरामीलाई पनि फर्काउँदै आएको सेवाग्राहीको गुनिसो छ। यसअघि पनि गहुँ दाइ गर्ने थ्रेसरमा खुटा बेरिएका घाइतेको उपचार गर्न नमानेपछि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको थियो।

तर अस्पतालका चिकित्सक कोरोनाको आशंकाभन्दा आइसियु खाली नभएका कारण रेफर गरिएको बताउँछन्।

‘कोरोनाको रोगी हो भनेर होइन। आइसियु खाली नभएर प्रारम्भिक उपचार गरी रेफर गरेका हौँ', नेशनल मेडिकल कलेजका निर्देशक डा. प्रमोद सर्राफले भने, ‘विरामीको लक्ष्ण हेर्दा कोरोना जस्तै थियो। तर जबसम्म उसको परीक्षण हुँदैन तबसम्म यकिन गर्ने अवस्था छैन, कि उसको मृत्यु कोरानाबाट भएको हो कि समान्य निमोनियाबाट।’

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा कोराना रोग रोकथाम तथा नियन्त्रण जिल्ला स्तरीय समितिका संयोजक डा. मदनकुमार उपाध्यायले मृतकको स्वाब सङ्कलन गरी परीक्षणको लागि हेटौँडा पठाइएको र नतिजा आएपछि केही भन्न सकिने बताए।

शव अहिले हेल्थ केयर अस्पतालमै छ। परीक्षण नतिजा नआएसम्म अस्पताल प्रशासनले आकस्मिक कक्ष सञ्चालन गर्न समेत रोक लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell