कैलालीः कैलालीमा एक बिरामीको उपचार नपाएर मृत्यु भएको छ। गोदावरी नगरपालिका २ तेघरीका ७६ वर्षीय जनकलाल भट्टलाई धनगढीका अस्पतालले भर्ना गर्न नमानेपछि मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या आएपछि धनगढी उपचारका लागि लगिएको भए पनि अस्पतालहरूले भर्ना गर्न नमानेको मृत्यु भएको मृतककी श्रीमती भागिरती भट्टले बताइन्।
‘बिहान एक्कसी श्वासप्रश्वासमा समस्या आएको थियो’, उनले भनिन् ‘तुरुन्तै अस्पतालमा लगेका थियौँ तर अस्पतालहरूले भर्ना गर्न नै मानेनन्। कसैले डक्टर छैनन् भने कसैले अन्त लगेर उपचार गर भने’ भट्टले भनिन्।
उनले सुरुमा माया मेट्रो अस्पताल पुर्याइएको तर भर्ना गर्न नमानेको बनाइन्।
उनले भनिन्, ‘भेन्टिलेटरमा राख्नुपर्ने भन्यो। धनगढीमा भेन्टिलेटर सुविधा भएको माया मेट्रो अस्पतालले भर्ना गर्न नमानेपछि अर्को भेन्टिलेटर सुविधा भएको निसर्ग अस्पतालमा लग्यौँ। निसर्गले पनि भर्ना गर्न मानेन।’
धनगढीमा भर्ना गर्न नमानेपछि नेपालगन्ज लैजाने तयारी गरिहेका बेला भट्टको मृत्यु भएको हो।
माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले भेन्टिलेटर खाली नभएकाले राख्न नसकिएको बताए। ‘अस्पतालमा ल्याएपछि चेक गरेका हौँ’ उनले भने ‘बिरामीको अवस्था भेन्टिलेटरमा राख्नुपर्ने थियो। भेन्टिलेटर खालि नभएकाले भर्ना गर्न सकेनौँ।’
निसर्ग अस्पतालले भने चिकित्सक नै नभएकाले भर्ना गर्न नसकिएको जनाएको छ।