PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लकडाउनमा घरमै तबला सिक्दै कोमल वली



मन्दिरा खत्री

लकडाउनमा घरमै तबला सिक्दै कोमल वली

काठमाडौं : संसद्, बैठक र भेटघाटमै व्यस्त रहने नेताहरुको दैनिकी। देश दुई सातायता लकडाउनमा छ। यसले दैनिक कार्यतालिका फेरिएको छ। सांसद कोमल वली पनि लकडाउन घोषणासँगै घरमै छिन्। परिवारलाई खासै समय दिन नपाउने वलीलाई अहिले लकडाउनले पर्याप्त समय जुराइदिएको छ।

लकडाउनले उनको नियमित दैनिकीमा भने केही परिवर्तन ल्याएको छ। बिहान उठ्ने समयमा पनि परिवर्तन आएको छ। ‘लकडाउनले बिहान उठ्ने समयमा प्रभाव पारेको छ। पहिले म बिहान साढे ५ बजे उठिसक्थेँ अहिले बिहान साढे छ बजेमात्र उठ्छु’, उनले भनिन्।

बिहान उठेपछि उनी घरमै योगा गर्छिन्। त्यसपछि नुहाएर पूजापाठमा लाग्छिन्। अनि बिहानको खाजा खाँदै परिवारसँग बसेर समाचार सुन्छिन्।

जिल्लाबाट फोन गरेर मानिसहरु उनलाई लकडाउनले भोग्नुपरेको समस्या सुनाँउछन्। कहिले उनी आफैं फोन गरेर लकडाउनको अवस्थाबारे अपडेट लिन्छिन्।

‘प्रत्येक दिन निर्वाचन क्षेत्र दाङ र अन्य जिल्लाका साथी–भाइहरुसँग लकडाउनको स्थितिबारे फोन गरेर बुझ्छु’, उनले भनिन् ‘उहाँहरु सबैजना लकडाउन कहिलेसम्म भनेर आत्तिनुभएको छ। लकडाउनले सबैमा एक किसिमको छटपटी छ।’

फुर्सदको सदुपयोग गर्दै उनी हालसम्म संसद् बैठकमा बोलेका विषयलाई लिपिबद्ध  गरिरहेकी छिन्। यससँगै उनी फिल्म हेर्छिन्, किताब पढ्छिन्। हाल डा. प्रमोद ढकालले लेखेको पूर्वीय दर्शनको पुनर्व्याख्या अध्ययन गरिरहेको वलीले बताइन्।  

उनले भनिन् ‘यो किताबमा पूर्वीय दर्शनसम्बन्धी पुनर्व्याख्या गरिएको छ। एकदमै राम्रो किताब रहेछ। अब भोलिसम्म त पढिसक्छु होला।’

संसद् अधिवेशन नभए पनि उनी संसदीय दलका नेता तथा अन्य सांसदसँग मेसेन्जर ग्रुपमार्फत दैनिक कुराकानी गर्दै आएकी छिन्। ‘सबै जना आत्तिएको अवस्था छ। ग्रुप कलमा अब कसरी अघि बढ्न सकिन्छ, मानिसहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौँ’, उनले भनिन्। 

फुर्सदको समयमा उनी कविता पनि लेख्छिन्। त्यसबाहेक गीत–संगीतलाई पनि समय दिन भ्याएकी छिन्। तबला बजाउन पनि सिकिरहेकी छिन्। उनी भन्छिन् ‘नयाँ तबला ल्याएको दुई महिना बढी भइसक्यो। व्यस्तताको कारण बजाउन पाएको थिइन्। लकडाउनले सिक्ने अवसर जुटाइदियो।’

यससँगै वली लकडाउनको समयमा सडकका कुकुरलाई खाना खुवाइरहेकी छिन्। साताको दुई पटक सनेपामा रहेको स्नेहा सेन्टरमार्फत सडकका कुकुरलाई खाना खुवाइरहेको उनले बताइन्। ‘स्नेहा सेन्टरले सडकमा अलपत्र परेका जनावरहरुलाई उद्दार गर्दै आएको छ।

''मैले पनि साताको दुई पटक सडकका कुकुरलाई खाना खुवाउने गरेको छु। दुई तीन किलोमिटर हिड्न पनि पाइयो। अनि कुकुरलाई खाना पनि खुवाउन पाइयो' उनले सुनाइन।

लकडाउनको बाँकी समय कुनै प्रेसर फिल नगरी सकेसम्म सिर्जनशील कार्य गरेर बिताउने योजनामा छिन् उनी।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell