PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

मन्त्रीहरुसँगको छलफलमा स्वास्थ्यमन्त्रीले भने : परीक्षणको क्षमता विस्तार हुँदैछ



पहिलोपोस्ट

मन्त्रीहरुसँगको छलफलमा स्वास्थ्यमन्त्रीले भने : परीक्षणको क्षमता विस्तार हुँदैछ
फोटो : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय।

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाएका तीन मन्त्रीसँग बुधवार मन्त्रालयमा छलफल गरेका छन्।

प्रदेश नम्बर १ को सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाएका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्त नेम्वाङ, गण्डकी प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाएकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल र सुदूरपश्चिम प्रदेश सरकारसँग समन्वयको जिम्मेवारी पाएकी खानेपानी तथा सरसफाइमन्त्री बिना मगरसँग मन्त्री ढकालले छलफल गरेका हुन्।

छलफलमा मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम र नियन्त्रणमा चालिरहेको कदम र गरिरहेको कामको विषयमा जानकारी गराएका थिए। मन्त्री ढकालले प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमुना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने काम अन्तिम अवस्थामा पुगेको बताए। उनका अनुसार हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब)मा गरी तीन हजारको संख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा प्रयोगशालाको जडान, स्तरोन्नति तथा मेसिन थप गरी क्षमता विस्तार हुँदैछ।

सम्बन्धित प्रदेशको समन्वय गर्ने जिम्मेवारी पाएका मन्त्रीहरूले स्वास्थ्य सामग्री र अन्य तयारीको बारेमा प्रदेशगत रूपमा आफ्नो विचार राखेका थिए। केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले उच्चस्तरीय समन्वय समितिमा नरहेका मन्त्रीहरूलाई प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी तोकेको थियो।

यसैबीच, मन्त्री ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा सामग्रीको अभाव हुन नदिने प्रतिबद्धता दोहोर्‍याएका छन्। बुधवार मन्त्रालयमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने तीन जना सांसदको संयुक्त मागपत्र बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य सामाग्रीको अभाव झेल्नु नपर्ने बताएका हुन्।

आवश्यक स्वास्थ्य सामग्रीहरू अस्पतालमा पुगेको भन्दै कतिपय सामग्रीहरू निरन्तर पुर्‍याइने उनले बताए। सुदूरपश्चिम प्रदेशको संवेदनशीलतालाई सरकारले बुझेको भन्दै उनले कोभिड १९ को नमुना परीक्षणको काम दोब्बर बनाउनका लागि बुधवारमात्रै हेलिकप्टर मार्फत पिसिआर मेसिन धनगढी पठाइएको जानकारी दिए। मन्त्री ढकालले नागरिकको तर्फबाट समेत सकारात्मक सहयोगको निम्ति भूमिका निर्वाह गरिदिन सांसदत्रयलाई अनुरोध गरे।

सुदूरपश्चिम प्रदेशमा कोरोना रोकथाममा भइरहेको काम थप प्रभावकारी बनाउने विषयमा आफ्नो भनाइ राख्दै बझाङका प्रतिनिधि सभा सदस्य भैरब बहादुर सिंह, बैतडीका प्रतिनिधि सभा सदस्य दामोदर भण्डारी र दार्चुलाका प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाले नागरिकहरू अहिले पनि सीमा वारपार गरिरहेको भन्दै चिन्ता प्रकट गरे। अहिले सरकारले गरेको प्रयास प्रशंसनीय रहेको र सम्भावित संक्रमितहरूको नमुना परीक्षणको दर बनाउनुपर्ने सांसदहरुले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell