PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

११ दिनपछि उठ्यो बाबुरामको शव, परिवारलाई आर्थिक सहयोग गर्ने सहमति



रासस

११ दिनपछि उठ्यो बाबुरामको शव, परिवारलाई आर्थिक सहयोग गर्ने सहमति

बुटवलः बुटवलको कोरोना अस्पतालमा यही चैत १६ गते ज्यान गुमाएका पाल्पा रिब्दीकोटका बाबुराम थापाको शव ११ दिनपछि परिवारले बुझेको छ। बुधबार भएको सर्वपक्षीय बैठकले राहत दिने निर्णय गरेपछि शव उठाउन परिवारजन सहमत भएका हुन्।

उपचारमा लापरवाही भएको भन्दै परिवारले क्षतिपूर्ति माग गरी शव उठाउन मानेका थिएनन्। प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालय, बुटवलमा क्रियाशील सामाजिक संस्था र मृतकका आफन्तबीच भएको छलफलमा शव उठाउने सहमति भएको हो।

प्रदेश सरकारको पहलमा मृतककी श्रीमतीलाई स्थानीय तहमा जागिर दिलाउने र दुई छोरालाई कक्षा १२ सम्म निःशुल्क पढाउने सहमति भएको बैठकमा सहभागी पूर्व सभासद विनोद पहाडीले जानकारी दिए। मृतकका परिवारलाई सामाजिक संघ संस्थाले रु आठ लाख राहत दिने निर्णयसमेत भएको छ।

दुवईबाट यही चैत पहिलो साता नेपाल फर्किएका थापा उपचारका लागि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। चैत १६ गते बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उनको ज्यान गएको थियो। उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell