काठमाडौँः चैत ९ गते सरकारले निर्णय सार्वजनिक गर्यो -सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पताललाई कोरोना भाइरस उपचारको 'डेडिकेटेड' अस्पताल बनाउने। मन्त्रिपरिषद्ले निर्णय गरेको दुई साता भइसकेको छ। तर अझै उपचार थालनी हुन सकेको छैन। उपचार त परै जाओस् आवश्यक उपकरण समेत अस्पतालले प्राप्त गरिसकेको छैन।
अहिले परीक्षण र उपचारको मुख्य भार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र छ। बिरामीको चाप बढेपछि सरकारले उपचारको डेडिकेटेड अस्पतालका रुपमा चन्द्रगिरि नगरपालिकास्थित सशस्त्र प्रहरीको अस्पताललाई तोकेको थियो। तर आवश्यक संचरना तयार भइसकेको छैन।
भौतिक पूर्वधार र आन्तरिक व्यवस्थापन हुन नसक्दा अस्पताल चाँडै सञ्चालनमा आउनेमा प्रश्न उठेको छ। 'स्वास्थय मन्त्रालय, नेपाली सेनाको समन्वयमा तयारी गरिरहेका छौँ। अबको केही दिनमा सञ्चालनमा आउँछ।' सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठले भने।
अस्पतालमा यसअघि कोरोना आशंका एक जना विरामी पुगेका थिए। ४९ वर्षीय एक विदेशी नागरिकको कोरोना संक्रमण परीक्षण गरिएको थियो। तर कोरोना नेगेटिभ देखिएको थियो। डिआइजी श्रेष्ठले ती व्यक्तिमा कोरोना नदेखिएको बताए। त्यसयता अस्पतालमा कोरोना परीक्षण र उपचारका कुनै विरामी छैनन्।
किन भयो ढिला?
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सेना, प्रहरी र चिकित्सक प्रयोग गरेर तत्काल अस्पताल सञ्चालनमा ल्याउने बताएका थिए। तर निर्णयको दुई साता बितिसक्दा पनि अस्पताल सञ्चालनमा आएको छैन। किन भयो त ढिला?
सरकारले डेडिकेटेड अस्पताल घोषणा गरे पनि अस्पताल हाताभित्र प्रहरीका गण समेत छन्। सशस्त्र प्रहरीको केन्द्रीय वर्कशप, पशुपतिनाथ बाहिनी, प्राविधिक तालिम शिक्षालय र कुकुर तालिम केन्द्र त्यहाँ छन्। त्यहाँ झन्डै ९ सयभन्दा बढी प्रहरी तथा कर्मचारी छन्। कोरोनाकै विषेश अस्पताल बनाउने भएपछि उनीहरुलाई त्यहाँबाट हटाउनु पर्ने भयो। तर उनीहरुलाई कहाँ व्यवस्थापन गर्ने भन्ने समस्याले केही दिन बित्यो।
सरकारले हतारमा निर्णय र व्यवस्थापनमा कमजोरी हुँदा समस्या देखिएको छ। 'हामीले उनीहरुलाई कहाँ राख्ने भन्ने व्यवस्थापन गरिरहेका छौँ। त्यहाँबाट सार्छौँ।' डिआइजी श्रेष्ठले भने।
सशस्त्र प्रहरी बलले त्यहाँ रहेको पशुपति बाहिनीलाई सानो गौचरणमा रहेको स्टाफ कलेजमा राखेको छ। त्यस्तै कर्मचारीलाई सशस्त्र प्रहरी प्रतिष्ठान मातातीर्थामा लगिएको छ।
कर्मचारी व्यवस्थापन मात्र होइन अस्पतालभित्रका विरामीलाई व्यवस्थापन पनि गर्नु पर्ने हुन्छ। ११० शय्याको अस्पतालमा अहिले पनि सय वटा बेडमा बिरामी छन्। धेरै जसो बिरामी दुर्घटना परेका र केही दीर्घरोगी छन्। कोरोनाका संक्रमित आशंका भएका बिरामीलाई राख्नु परे उनीहरुलाई त्यहाँबाट अन्यत्र सार्नुपर्छ। उनीहरुलाई कहाँ राख्ने समस्याले पनि अलमलमा पार्यो। सशस्त्र प्रहरीले अहिले नेपाली सेनाको अस्पतालमा उनीहरुलाई राख्ने तयारी गरिरहेको छ।
'नेपाल प्रहरी र नेपाली सेनाको अस्पतालमा राख्ने कुरा भएको छ। उहाँहरुलाई त्यहीँ लगिन्छ।' डिआइजी श्रेष्ठले भने।
अस्पतालमा रहेका २८ जना विरामीलाई भने सशस्त्र प्रहरीले नेपाली सेनाको छाउनीमा रहेको अस्पतालमा लगेको छ। अत्यावश्यक उपचारको लागि आउने बिरामीलाई नेपाली सेनाको अस्पतालमा व्यवस्था मिलाएको डिआइजी श्रेष्ठले बताए।