नयाँ वर्ष नजिकै छ। कोरोनाको कहर चलिरहेको छ। यद्यपि, समग्र रुपमा खेलकुदमा २०७६ साल महत्वपूर्ण रह्यो। यही वर्ष राष्ट्रिय खेलकुद परिषदमा रमेशकुमार सिलवाल १८ औं सदस्यसचिवका रुपमा अघि आए। खेलकुद क्षेत्रमा चर्चामा रहिरहने नेपाल क्रिकेट संघ क्यानको निर्वाचन सम्पन्न भयो। र, सशर्त नै भए पनि क्यान निलम्वन फुकुवा भयो। त्यस्तै वर्षौंदेखि विवादमा घेरिने ओलम्पिक कमिटीको पनि निर्वाचन सम्पन्न भयो।
सबैभन्दा महत्वपू्र्ण पक्ष त नेपालमा दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भयो। र हाता लाग्यो ५१ स्वर्ण पदकसहित २ सय ७ पदक। यद्यपि सागमा पदक जितेका खेलाडीहरुले अझै पुरस्कार नपाएको विषयले भने अझै खेलकुद क्षेत्र आलोचित रहँदै आएको छ। त्यस्तै पछिल्लो समय बढेको कोरोनाको कहरले नेपालको खेलकुद क्षेत्र ठप्प छ।
सिलवालको उदय
पूर्व सदस्यसचिव केशवकुमार विष्टको कार्यकाल सकिएसँगै राष्ट्रिय खेलकुद परिषदमा रमेशकुमार सिलवाल १८ औं सदस्यसचिवका रुपमा अगाडि आए। शैक्षिक, खेलकुद र राजनीतिक क्षेत्रमा काम गर्दै आएका रमेशकुमार सिलवालले साग आयोजनाका लागि मुख्य लक्ष्य राखेका थिए। आयोजनाको हकमा सिलवाल सफल पनि भए। यद्यपि केही विवादस्पद विषयहरुले भने साग सकिएपछि उनलाई घच्चचाइरहेको छ।
औषत भलिबल
नेपालले यसवर्ष एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने अवसर पायो। र, त्यसको सदुपयोग गर्दै भव्यताका साथ प्रतियोगिता सम्पन्नसमेत गर्यो।
भदौ महिनामा लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको प्रतियोगितामा कीर्गिस्तान च्याम्पियन बन्यो। आयोजनाका हिसावले सफल देखिए पनि प्रतिस्पर्धामा भने नेपाल फितलो देखियो। नेपाल समूह चरणको २ खेलमा सोझो सेटमा पराजित हुँदै बाहिरिएको थियो।
यता महिला तर्फ भने भलिबलमा नेपालले आफूलाई अब्बल सावित गर्यो।
कात्तिक महिनामा बंगलादेशको ढाकामा भएको एभिसी सेन्ट्रल जोन महिला भलिवलमा नेपाली टोली च्याम्पियन बन्दै ऐतिहासिक जित हात पार्यो। प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको नेपालले फाइनल लगायतका सबै खेल सोझो सेटमा हराएको थियो।
त्यसपछि मंशिरमा शुरु भयो दक्षिण एसियाली खेलकुद।
सागमा पनि नेपाली महिला भलिवल टोलीले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दियो। नेपाल भन्दा वरीयताको हिसाबले धेरै अघि रहेको भारतसँग फाइनलमा पराजित भए पनि खेलाडीको प्रदर्शनले समर्थकको मन जितेको थियो। सागमा धेरै चर्चामा रहेको खेल मध्ये महिला भलिबल समेत थियो।
यता पुरुष भलिबलतर्फ भने राम्रै प्रदर्शन गरेर पनि सागमा उल्लेखनीय नतिजा निकाल्न सकेन्।
ओलम्पिक कमिटीमा जीवनरामको बाजी
लामो समययता विवादमा रहेको ओलम्पिक कमिटीको कहिले अदालत त कहिले विवाद हुँदै भदौ २८ मा निर्वाचन सम्पन्न भयो। उक्त चुनावबाट प्रतिनिधि सभा सांसदसमेत रहेका जीवनराम श्रेष्ठ अध्यक्षमा चुनिए। बैधानिकताको विवादले कहिले चुनावको मिति घोषणा हुने, कहिले मुद्दा पर्ने र कहिले रोकिने क्रमसँगै ओलम्पिक कमिटीले पनि निर्वाचन मार्फत वैधानिक हिसावले नेतृत्व पायो।
यो सँगै दक्षिण एसियाली खेलकुद (साग) नजिकँदै गर्दा भएको निर्वाचनले साग निर्धारित मितिमै गराउन सहज वातावरणको सिर्जना गर्यो।
चतुरबहादुर चन्दको नेतृत्व र निलम्बन फुकुवा
नेपाल क्रिकेटमा राजनीतिक खिचातानी र सरकारी हस्तक्षेपको कारण देखाउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले नेपाल क्रिकेट संघ क्यानलाई २०७३ सालमा निलम्बन गरेको थियो।
क्यान निलम्बनमै रहे पनि खेल गतिविधिहरु भने सुचारु थिए। नेपाली क्रिकेटका गतिविधिलाई आइसिसीले मोनिटरिङ गरिरहेको थियो। तर, अभिभावक निकाय नहुनुको पीडा राष्ट्रिय टिमले भोग्दै आएको थियो। क्यान निलम्बनकै बीचमा नेपालले एकदिवसीय मान्यता पाएको थियो।
निलम्बन फुकुवाका लागि आइसिसीको रोडम्याप अनुसार नै आइसिसिका प्रतिनिधि, राखेप प्रतिनिध लगायतको उपस्थितिमा असोज ११ गते क्यानको निर्वाचन सम्पन्न भयो। र, क्यान नेतृत्वमा आइपुगे चतुरबहादुर चन्द।
खड्काको राजीनामा, मल्लको कप्तानी र प्रशिक्षकको खोजी
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले असोज २७ गते क्यानको निलम्बन फुकुवा गर्यो। तर, सशर्त।
आइसिसीले शर्तहरु स्पस्ट नबताए पनि आर्थिक पारदर्शिता, प्रशासनलगायतको विषयमा शर्त रहेको भन्ने चर्चाहरु आए। जसलाई क्यानले मौन स्वीकृति दियो।
लामो समयपछि फुकुवा भए पनि यो विषयको चर्चा धेरै समय भने टिकेन। कारण थियो, त्यसको भोलिपल्टै पारस खड्काले कप्तानीबाट दिएको राजिनामा।
निलम्बन फुकुवा भएको भोलिपल्टै पारस खड्काले नेपाली क्रिकेट 'फ्रेस स्टार्ट' र 'कमिटेड भिजन'ले नयाँ बाटोमा अघि बढ्नु पर्ने उल्लेख गर्दै सामाजिक सञ्जालबाट राजीनामा दिए। र, शुरु भयो नयाँ कप्तानको चर्चा।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पारसलाई कप्तानीमा फर्कन आग्रह पनि गरे। क्यानले पारसको राजीनामा स्वीकृत गरेको अर्को कप्तान छानिहाल्न पनि सकेन। पारसले आधिकारीक राजिनामा नदिएकाले क्यानले पत्र नै पठाएर राजीनामाबारे आधिकारीक धारणा माग्यो। र पारसले फेरि पछी आधिकारिक धारणा दिए। क्यानलाई नयाँ कप्तान छान्न बाटो खुल्यो।
त्यसको केही समयमै नेपाली क्रिकेटले नयाँ कप्तान पायो, ज्ञानेन्द्र मल्ल। त्यसयता नेपाली टिमको कप्तानी ज्ञानेन्द्र मल्लले गर्दै आएका छन्।
फुटबल: प्रदर्शनमा औषत, नेतृत्वमा लफडा
यो वर्ष फुटबलका लागि दुई महत्वपूर्ण उपलब्धि हात परे। एउटा रंगशाला, अर्को सागमा स्वर्ण।
महिला फुटबल यसपटक पनि नडेज्दा कप होस या साग रजत पदक हात पार्न सफल रह्यो। पुरुष तर्फ विश्वकप छनोट अन्तर्गत राम्रा मानिएका अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ जस्ता देशहरुसँग खेल्ने मौका पायो। जसमा आफ्नो स्तर अनुसार राम्रै प्रदर्शन गर्यो।
तर, यो वर्ष नेपाली फुटबलमा उमेर समूहमा खासै राम्रो प्रदर्शन भएन। दक्षिण एसियाली खेलकुद तथा एएफसीका विभिन्न उमेर समूहका विभिन्न प्रतियोगितामा नेपालले सहभागिता जनाए पनि प्रदर्शन फितलो रह्यो।
यस वर्ष सहभागिता जनाएको एएफसी यू १९ र यू १६ मा नेपालको प्रदर्शन कमजोर देखियो। साग यू १५ मा राम्रो प्रदर्शन गर्दै नेपाल फाइनलमा त पुग्यो तर फाइनलमा भारतसँग ७–० को लज्जास्पद हार बेहोर्र्यो। त्यस्तै साग यू १८ मा लगातार ३ सिरिज नै जित्ने लक्ष्य लिएको नेपाल समूह चरणबाटै बाहिरियो। हलचोक स्थित एपिएफको मैदानमा भएको खेलमा माल्दिभ्ससँग बराबरीमा रोकिएको नेपाल भुटान सँग ३–० ले पराजित भएको थियो।
तर, सागमा भने फुटबलले नेपाली समर्थकको मन जित्न सफल रह्यो। घरेलु मैदानमा उपाधि हात पारेसँगै लगातार साग लगातार दोस्रो स्वर्ण जित्न नेपाल सफल रह्यो।
त्यस्तै शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पहिलो पटल ए डिभिजन लिगको उपाधि हात पार्यो। ए डिभिजन लिगमै च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखलले ए डिभिजन लिगमा १०० गोल गर्ने पहिलो खेलाडी बन्दै राष्ट्रिय कीर्तिमान बनाए।
फुटबलले पाएको रंगशाला र टरेको ‘होम गेम’
२०७२ को भुकम्प पछि नेपालमा धेरै संरचनाहरु भत्किए। जसमध्ये एउटा थियो नेपाली फुटबलको केन्द्र दशरथ रंगशाला।
साग आयोजना निर्धारित मितिमै हुन्छ भन्दा पत्याउन नसकिने सबै भन्दा ठूलो कारण नै दशरथ रंगशाला थियो। साग शुरु हुन हप्तादिन बाँकी रहँदा पनि भिआइपी तर्फको छानो देखि लिएर धेरै संरचना निर्माण बाँकी थियो। अन्तिम १ महिनाको समयमा खेलकुद मन्त्रीदेखि सदस्यसचिवसम्म रंगशालामा रातदिन बसेर २ सिफ्टसम्म काम लगाएर साग आयोजना हुँदैगर्दा रंगशाला निर्माण सकियो।
साग अघि मंशिर ३ गते नेपाल र कुवेतबीच हुने भनिएको खेल दशरथ रंगशाला निर्माण नभइसकेकै कारण सरेको थियो। भिआइपी तर्फको छानो र निर्माणाधीन रंगशालाका कारण एसियन फुटबल कन्फिडरेसन (एएफसी)ले त्यहाँ खेल हुन नसक्ने बतायो। त्यसपछि एन्फाले खेल भुटानमा सार्ने प्रस्ताव गर्यो। तर, कुवेतले यसमा आनाकानी गर्दै खाडी मुलुकमै खेल सार्न एएफसीसम्मै लविङ गर्न भ्यायो। एन्फा र कुवेत फुटबलको लामै जुहारी पछि एएफसीले भुटानमा खेल्न स्वीकृत गर्यो। जसमा नेपाल १–० ले पराजित भयो।
दक्षिण एसियाली खेलकुद (साग)
खेलकुदको क्षेत्रमा २०७६ सालको सबै भन्दा ठूलो उपलब्धी नै साग आयोजना रह्यो। पटक पटक मिति सरेर पनि काम अघि बढ्न नसकेको साग एक हिसावले नेपाललाई निल्नु न ओकल्नुको अवस्थामा पुगिसकेको थियो। तर, पछिल्लो समय जोडतोड लगाएर सरकारले साग सम्पन्न गराएरै छाड्यो। ७२ सालको भुकम्प पछि यतिका वर्षसम्म पुनर्निर्माण हुन नसकेको दशरथ रंगशाला साग अघिको केही महिनामै निर्माण भयो।
खेलाडीको उत्कृष्ट प्रदर्शन, सागमा फितलो व्यवस्थापन र दर्शकहरुको उल्लेखनीय उपस्थितिका बीच साग सम्पन्न भयो। यही मितिमा सम्पन्न गर्न सकिँदैन भनेको साग पछिल्लो मितिमा सम्पन्न गर्न राखेपले धेरै कसरथ गर्न पर्यो।
सागमा उपलब्धिकै हिसाबले हेर्ने हो भने पनि ५१ स्वर्ण पदक सहित २ सय ७ पदक जित्दै नेपाल दोस्रो स्थानमा रह्यो।
महिला भलिबलले शुरुमै समर्थकको मन जित्यो। यस्तै गौरिका सिंह धेरै चर्चामा रहिन्। ४ स्वर्ण जितेकी गौरिकाले अरु पदक पनि हात पारेकी थिइन्। समापनको दिन भुटानलाई हराउँदै स्वर्ण जितेर फुटबलले पनि समर्थकको सहानुभुती बटुल्यो।
त्यस्तै अघिल्लो संस्करणको सागमा सहभागिता जनाउन नपाएको पीडा करातेले शुरुकै दिनबाट आक्रामक रुपमा पोख्यो। त्यस्तै उपलब्धि तेक्वान्दोको रह्यो। बक्सिङले पनि स्वर्ण पदको खडेरी पनि तोड्यो।
तर सुटिङ लगायतका केही खेलहरुमा खेलसामाग्री नै उपलब्ध नगराएको भनेर राखेप आलोचितसमेत भयो। र साग सम्पन्न भयो।
पुरस्कारको गुनासो
साग सकियो। पदकहरु आए। प्रधानमन्त्रीले पुरस्कारको घोषणा समेत गरे। तर घोषणासँगै अन्योल उत्पन्न भयो। कुन खेलाडीले कति पुरस्कार पाउने भन्नेमा आधिकारिक निकायकै परिभाषा बाझ्यो। र, खेलाडी अझै छक्क परेर पैसा कहिले आउँछ भनेर प्रतिक्षारत छन्।
कोरोनाले निम्ताएको संकट
कोभिड १९ ले विश्वभर प्रभाव फैलिरहँदा राष्ट्रिय खेलकुद परिषदले चैत ४ गते बैठक बसेर सम्पूर्ण खेल गतिविधि रोक्ने निर्णय गर्यो। त्यसअघि नै पनि कोरोनाकै कारण विदेशी चर्चित क्रिकेट भित्र्याएर गराउन लागिएको एभरेस्ट प्रिमियर लिग (इपिएल) स्थगित भइसकेको थियो।
राखेपको निर्णयसँगै नेपाली फुटबलले एउटा ठूलो अवसर गुमायो। चैत महिनामा नेपाली फुटबल टिमले दशरथ रंगशालामा विश्वकप छनोट अन्तर्गतका खेल खेल्ने तय थियो। जसअनुरुप चाइनिज ताइपेई र अस्ट्रेलिया नेपाल आउने तालिका थियो। तर, विश्वभर फैलिएको कोरोनाका कारण यो सबै रद्द हुन पुग्यो।
त्यस्तै टोकियो ओलम्पिक स्थगित भएसँगै ओलम्पिकको तयारीमा रहेका खेलाडीहरु प्रभावित बनेका छन्।
त्यस्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आगामी जुन ३० तारिखसम्मका लागि नामिबिया सिरिजलगायत सबै प्रतियोगिता स्थगित गरिएको जनाएको छ। आइसीसीले यसअघि नेपाल, नामिबिया र स्कटल्याण्डबीचको सातौँ चरणको त्रिकोणात्मक सिरिज आगामी वैशाख ८ देखि १५ गतेसम्म गर्ने तालिका सार्वजनिक गरेको थियो। कोरोनाको कहरसँगै क्रिकेटका अगाडिका खेलहरुसमेत प्रभावित बनेका छन्।