PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोनासँग भिड्न त्रिवि शिक्षण अस्पताल कति सक्षम? यस्तो देखियो तयारी



प्रकाश भण्डारी

कोरोनासँग भिड्न त्रिवि शिक्षण अस्पताल कति सक्षम? यस्तो देखियो तयारी

काठमाडौं : अरुबेला भिडभाड हुने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आजभोलि भिडभाड छैन। लकडाउन भएपछि अस्पतालको बहिरङ्ग सेवा बन्द छ। अस्पतालका नर्स चिकित्सक र कर्मचारीबाहेक अस्पतालमा खासै अरु भेटिँदैनन्।

अस्पतालभित्रको फार्मेसीमा औषधी किन्नेको भिड पनि छैन। अस्पताल बाहिर सडक छेउका औषधी पसल पनि सुनसान छन्।

सुनसान छ फिबर क्लिनिक

फाट्टफुट्ट आकस्मिक कक्षमा बिरामी र कुरुवा देखिन्छन् अस्पतालको। आकस्मिक कक्षको छेउमा फिबर क्लिनक खडा गरिएको छ। पाल टाँगेर बनाइएको क्लिनिकभित्र डाक्टर र नर्स फुर्सदिला देखिन्छन्। त्यहाँ पनि फाट्टफुट्ट मात्रै आउँछन् ज्वरो परीक्षण गर्ने बिरामी।

अस्पतालको गेटमा सुरक्षा गार्डले अस्पताल प्रवेश गर्ने हरेकलाई थर्मल गन् मार्फत् तापक्रम लिइरहेका छन्। सामान्य भन्दा धेरै तापक्रम देखिए गार्डहरुले नै फिबर क्लिनिक जान रिफर गर्छन्।

'अस्पताल प्रवेश गर्ने सबैको तापक्रम लिन्छौं। तापक्रम ९९ सय फरेनाइट भन्दा बढी भए ज्वरो क्लिनिक पठाउँछौं,' गेटमा थर्मल गन लिएर उभिएका सुरक्षा गार्डले भने। उनका अनुसार तापक्रम देखिएको भन्दै क्लिनिक जान रिफर गर्दा अटेर गर्नहरु पनि छ।

'अटेर गरे हामी जबरजस्ती भए पनि क्लिनिकसम्म पुर्‍याइदिन्छौं,' उनले भने।

क्लिनकमा ज्वरोको परीक्षणसँगै अन्य लक्षणबारे सोधखोज गरिरहेका हुन्छन् चिकित्सक। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखियो भने नमूना परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकुमा पठाइन्छ। रिपोर्ट आउन एक दिन लाग्ने भएकाले त्यतिन्जेल बिरामीलाई आइसोलेसन वार्डमा राखिन्छ। कोरोना (कोभिड १९) को उपचारका लागि काठमाडौं उपत्यकाका छवटा अस्पताललाई तोकिएको छ। त्यसमध्येको एउटा हो, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल।

बिरामीको छैन चाप

अहिले इमर्जेन्सीमा पनि बिरामीको चाप छैन। अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले अरुबेलाको तुलनामा अहिले आधाभन्दा पनि कम बिरामी इमर्जेन्सीमा आउने गरेको सुनाए।

'एक त आवत जावत बन्द भएपछि त्यसै पनि कम हुने भयो। अर्को एकदमै अप्ठेरो भएमात्रै बिरामी अस्पतालमा आउने हो, नत्र आउँदैनन्,' उनले भने।

कतिपय बिरामी अस्पताल गए कोरोनाको संक्रमण होला भन्ने मनोवैज्ञानिक डरका कारण अस्पतालदेखि दुर नै छन्। अस्पतालको बहिरङ्ग सेवाबाहेक अरु सबै काम सामान्य तरिकाले चलिरहेको छ। अस्पतालको पुस्तकालयदेखि प्रशासनसम्म, सबै ठाँउमा कोरोनाबाट बच्न सचेतना आपनाइएको छ।

'कुनै पनि ठाउँमा हामीले भिँडभाड हुन दिएक छैनौं। ढोकाभन्दा भित्र कसैलाई पनि पस्न दिएका छैनौं। ढोकामै उभिएर भनेपछि कर्मचारीले पनि ढोकामै पुगेर के चाहिएको हो त्यो दिन्छन्,' खड्गाले भने।

के छ त टिचिङको तयारी?

टिचिङमा ८ वटा आइसोलेसन बेड छ। तर, खुशीको कुरो आइसोलेसन बेडमा अहिलेसम्म एक जनालाई पनि भर्ना गर्नु परेको छैन।

'अस्तिसम्म त दिनमा १० जनाको हाराहारीमा फिबर क्लिनिकमा ज्वरो जाँच्न आउँथे, अहिले एक/दुई जना आउनु सामान्य हो,' उनले भने।

हामी यहाँ पुग्दा पनि मानिसहरु थिएनन्। मानिस नआउनुको अर्थ अस्पताल कोरोनाको सम्भावित खतराप्रति तयार छ त?

अस्पतालका जनरल फिजिसियन डाक्टर सन्तकुमार दासका अनुसार अस्पतालसँग पर्याप्त सुरक्षा उपकरण छ।

'हामीकहाँ एकैपटक धेरै बिरामी आए पनि एक हप्तालाई पुग्ने पीपीई लगायतका सुरक्षा उपकरण छन्,' डाक्टर दासले भने।

कार्यकारी निर्देशक खड्गाका अनुसार सुरुसुरुमा चिकित्सक तथा नर्सहरु डराउने गरेको भए पनि अहिले अरु बेला झै सामान्य ढङ्गले काम गरिरहेका छन्।

'पहिले त के हो कसो हो भनेपछि हामी पनि डरायौं। मान्छेहरु ह्वार ह्वार्ती आउलान् कि भन्ने डर थियो। तर, अहिले त अस्पताल नै सुनसान छ। बिरामी नै नआएपछि पीपीई पनि खर्च भएको छैन,' उनले भने।

कोरोनाको आशंका लागेमा जाँच गर्ने टेस्टिङ बुथ पनि छ शिक्षण अस्पतालमा। राष्ट्रिय आविष्कार केन्द्रले बनाएको बुथ सबैभन्दा पहिले चैत २४ गते टिचिङमै राखिएको खड्गाले बताए। तर, जडान गरेको दुई दिनसम्म एक जनाको पनि परीक्षण बुथबाट गर्नुपरेका छैन।

'सबैभन्दा पहिला टिचिङमा राखिएको हो, टेष्टिङ बुथ तर कोरोना सम्भावित विरामी कोही पनि आएको छैन। त्यसैले बुथबाट कोरोना बिरामी जाच्नु परेको छैन्,' डाक्टर खड्गाले भने।

उनका अनुसार कोरोना संक्रमित आएदेखि अस्पताल तम्तयार अवस्थामा छ, उपचारका लागि। किनकि अस्पतालले यसका लागि सबै तयारी गरेको छ। चिकित्सक तथा नर्सलाई सुरक्षाका उपकरणको व्यवस्था गर्नेदेखि आइसोलेशन बेडसम्म तयारी अवस्थामा रहेको छ शिक्षण अस्पतालमा।

अस्पतालमा अहिलेको समस्या के त?

कार्यकारी निर्देशक खड्गाको जवाफ फरकखाले थियो। हामीले कोरोनासँग जोडिएको विषयमा उनले समस्या सुनाउलान् भन्ने सोचेको ठीक विपरीत आयो जवाफ। उनले त बिरामी नआउँदा अस्पताल चलाउन अप्ठेरो परेको पो सुनाए।

'अब अहिले अरु अप्ठ्यारो त के हुन्छ? डाक्टर नर्सहरु तम्तयार अवस्थामा छन्। तर, बिरामी आउँदैनन्। बिरामी नआएपछि अस्पताल चलाउनै अप्ठ्यारो हुन्छ नि। हाम्रो काम नै बढी भन्दा बढी बिरामीको उपचार गर्ने हो।'

उपचार गर्न छैन डर : चिकित्सक

जनरल फिजिसियन डाक्टर सन्त कुमार दासले लकडाउन सुरु भएको केही दिन बिरामी जाँच्न डर लागेको भए पनि अहिले त्यो डर हराउँदै गएको सुनाए।

'अस्पतालमा कुन बेला कस्ता खालका बिरामी आउँछन् थाहा हुँदैन। सुरुसुरुमा सुरक्षाका उपकरण पनि सबैसँग नभएकाले डर लाग्नु स्वभाविक थियो। तर, अहिले त हामी ढुक्कसँग काम गरिरहेका छौं,' उनी निर्धक्क सुनिए।

कोरोनाको महामारी भएकाले चिकित्सकमा सामान्य डर हुनुलाई भने उनी स्वभाविक मान्छन्। तर, सुरक्षाका उपकरण भएपछि आफ्नो पेशाको धर्म निभाउन कोही पछि हट्न नहुने उनको तर्क छ।

'हेर्नुस् यो महामारी हो। यस्तो बेलामा चिकित्सक र नर्सहरु त सुरक्षित हुनुपर्‍यो। बिना उपकरण काम त गर्न सकिन्न। तर, अहिले टिचिङमा पीपीई लगायतको कमीले उपचार रोक्नुपर्ने अवस्था छैन,' दासले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell