PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

देशले त दुत्कार्‍यो तर परदेशीले पाल्दै भुलाउँदैछन् 'अनागरिक'हरुको मन...



कमलराज भट्ट

देशले त दुत्कार्‍यो तर परदेशीले पाल्दै भुलाउँदैछन् 'अनागरिक'हरुको मन...

पान चढे, फूल चढे और चढे मेवा।

लडवनका भोक लगे सन्त करे सेवा।

अन्धेको आँख दे कोणनको काया।

बाझनको पुत्र दे त निर्धनको माया...

गणपति आरतीका बेला गाउने यी हरफहरु नेपाली नागरिकले सामूहिक रुपमा गाउँदैछन्। त्यो पनि भारतीय भूमिमा। कोरोनाको त्रास र लकडाउनले आफ्नै देश फर्किंन नपाउँदा नेपाल-भारत सीमा नजिकै भारतीय भूमिमा क्वारेन्टाइनमा बसिरहेका नेपालीलाई 'जय गणेश जय गणेश देव, माता जाति पार्वती पिता महादेव' बोलको धार्मिक गीतका हरफ गाउन लगाइरहेका छन्, धारचुलाका उपजिल्ला अधिकारी (एसडिएम) अनिलकुमार शुक्ला। त्यो पनि ताली बजाएर। सामाजिक दूरी कायम गर्दै लहरै बसिरहेका नेपाली नागरिक पनि ताली बजाउँदै गाउँदैछन्।

त्यसैगरी एकजना वृद्ध नेपाली नागरिक जोस्सिएर गाउँदैछन्, 'मेरे सामने वाली खिड्की मे चाँदका टुक्रा रहेता हैं। अपसोंच ये है कि वो हम्से कुछ मुखड़ा उखडा रहता है'। उनलाई पछ्याइरहेका छन्, उपजिल्ला अधिकारी शुक्ला।

घरको आँगन (सीमा) मै आइपुग्दा लकडाउनका र कोरोनाका नाममा आफ्नै देश पराई भइदिएपछि नेपाली नागरिकलाई भारतले शरण दियो। क्वारेन्टाइनका नाममा पराया भूमिमा शरणार्थीको अवस्थामा बस्न बाध्य भए। शरण दिएको भारतले खाद्यान्न, अस्थायी बसोबास व्यवस्था मिलायो। आक्रोश र बाध्यतामा फसेका नेपाली नागरिकलाई भारतीय अधिकारीले शरणमात्र होइन सामूहिक मनोरञ्जन पनि गराउन थालेका छन्। यसको सुरुवात गरेका छन्, धारचुलाका उपजिल्ला अधिकारी शुक्लाले। मंगलबार साँझ नेपालीहरु बसेको क्वारेन्टाइनमा पुगेर भारतीय अधिकारीले नेपाली नागरिकलाई सामूहिक मनोरञ्जन गराए।

धारचुलाका उपजिल्ला अधिकारी शुक्लाको नेतृत्वमा भारतीय अधिकारीले भजन गाएर, पुराना भारतीय गीत गाएर नेपाली मजदुरलाई मनोरञ्जन गराए। साथै नेपाली मजदुर पनि गीत गाएर मनोरञ्जन लिए। तालीको गडगडाहटले एकअर्काको हौसला पनि बढाए।

धारचुला-दार्चुला सीमा पुल नेपाली प्रशासनले खोल्न नमान्दा करिब १ हजार नेपाली मजदुरलाई पिथौरागढका विभिन्न ठाउँमा क्वारेन्टाइनमा राखिएको छ। पिथौरागढका जिल्ला अधिकारीको निर्देशनमा धारचुलाका उपजिल्ला अधिकारी शुक्लाले मेडिकल टिमका साथ यी क्वारेन्टाइनहरुको नियमित निरीक्षण गरिरहेका छन्। मजदुरलाई ताजा भोजन र गर्भवती महिलालाई दैनिक दूध र फलफूल पनि दिइएको छ।

तर, नेपाली मजदुरको जोड भने घर फर्किंनै पाए हुन्थ्यो भन्ने छ। गाउँमा विशु पर्वको रौनक भएकाले परिवारको याद आइरहेको उनीहरुको भनाई छ। यद्यपि, शरण दिएकामा भारतीय प्रशासनलाई उनीहरु धन्यवाद दिन्छन्।

घर जान नपाएको एक नेपाली युवा गाउँछन्, 'उसै आयो भोकमरी त उसै आयो हैजा। कि त हाम्लाई गोली ठोक्देउ, कि त लैजाउ फिर्ता।' भारतमा खान बस्न सुविधा पाए पनि नेपाली प्रशासनप्रति आक्रोशित उनले आफ्नो पीडा गीतका माध्यममा पोखे।

बैतडी पुरचुडीका दीपक चुनाराले भने, 'हामी नेपाली घर सजाउने सपनाले यो परदेशमा आएका थियौँ। आफ्नो छाक टार्न लेकवेशी गर्दै यो भारत आएका थियौँ। तर, आज हामी कोरोना भाइरसको त्रासको कारणले मरेतुल्य भइसक्यौँ। ७/८ दिन भइसक्यो। डाक्टरले हाम्रो चेक गरेको छ। तर, कुनै रोग देखिएको छैन। नेपाल सरकारलाई आग्रह छ कि हामीलाई नेपालतिर फर्काउ।'

मनोरञ्जनका साथसाथै नेपालीहरुको स्वास्थ्य परीक्षण पनि भइरहेको छ। उपजिल्ला अधिकारीसँगै खटिरहेको धारचुलाको मेडिकल टिमले सबै नेपाली स्वस्थ रहेको र कोही विरामी नभएको बताएको छ। टिमका डाक्टर जायसवालले भने, 'उनीहरु शारीरिक र मानसिक रुपमा स्वस्थ छन्। सरसफाई र निराश नहुन टिप्स दिएका छौँ। गीत गाउन, खेलहरु खेल्न भनेका छौँ। यसरी समय वित्नेछ भने डिप्रेशनबाट पनि जोगिने छन्।'

धारचुलाका उपजिल्ला अधिकारी शुक्लाले आफूहरुले नेपाली नागरिकलाई अतिथिकै रुपमा सक्दो सेवा दिइरहेको बताए। 'कसैलाई कुनै समस्या हुन नदिन, मानसिक दबाब नहोस् भन्न म निरीक्षण आएर मनोरञ्जन कार्यक्रम गरेको हुँ। उनीहरुलाई स्वस्थ राख्नु नै हाम्रो जिम्मेवारी हो। प्रार्थना, योगा र गीत गाउन भनेको छु। ताकि बोर नहोस्,' उनले न्यूज पिथौरागढ टिभीसँग भने।

शुक्लाले नेपालले चाँडै पुल खोल्ने र आफ्ना नागरिक लैजाने विश्वाससमेत व्यक्त गरे।

धारचुलामा मात्रै करिब एक हजार नेपाली क्वारेन्टाइनमा बसिरहेका छन्। त्यसैगरी कञ्चनपुरको सीमा पर्ने भारतको उतराखण्डस्थित बनबासा र टनकपुरमा पनि दुई सयभन्दा बढी नेपाली क्वारेन्टाइनमा बसिरहेका छन्। क्वारेन्टाइन पूरा भएपछि उनीहरुलाई स्वदेश फर्किंन दिने सरकारले निर्णय गरेको छ। मंगलबारमात्रै सर्वोच्च अदालतले सीमामा अलपत्र नेपालीलाई आवश्यक परीक्षण गरी स्वदेश फर्काउन र क्वारेन्टाइनमा राख्न सरकारलाई आदेश दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell