काठमाडौं : गाडी र मानिसको आवतजावत कम भएपछि सडकहरु फराकिला देखिएका छन्। सडकमा फाट्टफुट्ट सवारी देखिन्छ। मानिसहरु पनि त्यस्तै। फराकिलो बाटो अर्थात् चलेका गाडीको तेज रफ्तार।
प्रशासनबाट अनुमति पाएका वा झुक्याउँदै कुदाउनेको रफ्तार कम हुने भएन।
यतिखेर सडकमा साह्रै धिमा गतिमा गाडी कुदेको छ भने त्यो प्रतिघण्टा ६० किमीको रफ्तारमा हुन्छ। सवारीको गति बढी हुँदा भन्दा पनि चालक गैर जिम्मेवार बन्दा सुरक्षाकर्मीलाई चेक गर्न समस्या परिरहेको छ।
'प्रहरीको चेक वास्तै नगर्ने, हात दिँदा पनि तीब्र गतिमा सवारी चलाएकाले चेक गर्न समस्या भएको छ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले भने।
चेक गर्न समस्या भएपछि प्रहरीले अहिले बाटोमा थप चेक प्वाइन्ट बढाएको हो। मुख्य मुख्य चोक तथा सुरक्षा चेकिङ हुने स्थानमा चेक प्वाइन्ट थपिएको एसएसपी ढकालले जानकारी दिए। सडक वारपार हुनेगरी छेकिएको कारण त्यही रहेछ।
'चेक प्वाइन्ट भएपछि सवारीको गति आफैँ कम गर्नुपर्ने हुन्छ। त्यसैले चेक गर्न सजिलो हुन्छ भनेर चेक प्वाइन्ट थप गरिएको हो,' एसएसपी ढकालले भने।
उपत्यकाभित्र ८ हजार भन्दा बढी ट्राफिक प्रहरी खटिएका छन्। उनीहरुले सडकमा गुड्ने सवारी अत्यावश्यक ढुवानीका लागि र सम्बन्धित प्रशासनबाट अनुमति लिएर चलाएको नचालएको अनुगमन गर्ने गरेका छन्। तर, यस्ता सवारीको गति बढी भएकाले प्रहरीको हातको इसारामा नरोकिँदा चेक प्वाइन्ट थप गर्नु परेको हो।
'प्रहरी पनि असुरक्षित हुने भए। त्यसका लागि पनि थप गरिएको हो चेक प्वाइन्ट,' एसएसपी ढकालले भने।
नक्कली पास बनाएर सवारी चलाउने, एउटा प्रयोजनमा लिएको पासको दुरुपयोग गर्ने, अनावश्यक रुपममा सबारीको प्रयोग गर्ने क्रम बढेपछि ट्राफिक प्रहरीले चेकिङ कडा बनाएको हो।