घटना १
भारत बिहार, वोधगायाका अमरदीप वैद्य र उनका भाइ प्रविण वैद्य ११ वर्षदेखि काठमाडौं बस्दै आएका छन्। उनीहरु दुवै पुरोहित हुन्। विशेषगरी काठमाडौंमा बस्ने मारवाडी समूदायको घरघरमा पुगेर पूजापाठ गर्छन्।
वैद्य दाजुभाइकी ७५ वर्षीया आमा यशोदा देवीको गत चैत २१ गते निधन भयो। लकडाउनले काम काज त ठप्प बनाएको थियो। त्यसैले कोठाबाट निस्किएका थिएनन्। तर, आमाको मृत्युको खबरले कहाँ चुप लागेर बस्न दिन्थ्यो?
दुवै निस्किए, मोटरसाइकलमा बाहार जान, दाहसंस्कारका लागि भन्दै। सुरक्षाकर्मीलाई हारगुहार गर्दै बल्खु, कुलेखानी हुँदै सोमवार राती वीरगंजसम्म जसोतसो पुगे। शंकराचार्य गेट पनि पार गरे। तर, भारतीय भन्सार नाकाका अधिकारीहरुले उनीहरुलाई प्रवेश गर्न दिएनन्। रातको ११ बजेको थियो। त्यसैले त्यस रात बसपार्कमै बिताए। मङ्गलवार बिहान भारतीय महावाणिज्य दूतको कार्यालय गएर अनुमतिपत्रका लागि आग्रह गरे। तर, पाएनन्। रुँदा, कराउँदा हार खाएपछि त्यही साँझ काठमाडौं फर्किए।
‘आकास्मिक र अति आवश्यक परेको खण्डमा आउजाउ गर्न रोकटोक नहुनु पर्ने। प्रशासनको मनवीयताबारे अलिकति पनि सोचिदिएन। त्यसैले आमाको दाहसंस्कारमा जान नपाएका हौं। यसबारेमा दुवै देशका अधिकारीले सोच्नु पर्थ्यो,’ अमरदीपले भने।
घटना २
बारा, देवताल फुलवरीया टोलका २७ वर्षीय अर्जुनकुमार बैठालाई आन्द्राको क्यान्सर छ। एक साता भयो उनले गाउँमै स्लाइन पानी र एन्टिबायोटिक औषधी चढाएर उपचार गराए। तर, एक्कासी उनलाई दुखाईले च्याप्यो। सुनेका थिए भरतपुर अस्पतालका एक डाक्टरले रक्सौलमा क्यान्सर पीडितका लागि अस्पताल सञ्चालन गरेका छन्। असह्य भएपछि त्यहीँ जाने निर्णय गरे। त्यसैले उनी चैत १९ गते एम्बुलेन्समार्फत् रक्सौल जान हिँडे।
उनको पनि समस्या उही - भारतीय महावाणिज्यदूतको कार्यालयले अनुमतिपत्र दिएन। भारतीय अध्यागमन कार्यालयका स्वास्थ्यकर्मी तथा अधिकारीहरुले उनलाई एम्बुलेन्ससहित फर्काए।
उनी घरतर्फ फर्किए। तर भेटेजति सुरक्षाकर्मी सामु हारगुहार गर्न छाडेनन्। एसएसपीलाई अनेक अनुनय गरेपछि त्यही रात बडकी फुलवरीया नाकाबाट उनलाई रक्सौल पुर्याइयो।
राजपा नेपाल बाराका प्रवक्ता अरुण सिंहका अनुसार भारतीय सुरक्षा अधिकारीको कडाइका कारण बैठा रक्सौल जान पाएनन्।
भारत सरकारले १३ मार्चमा जारी गरेको निर्देशन अनुसार नेपाल भारत बीचका सर्वसधारणलाई आवतजावत यथावत राख्ने जनाइएको छ। तर, नेपाल सरकारले सुरक्षाको दृष्टिकोणले नेपाल–भारतको सीमा शिल गर्ने, अत्यावश्यक सामानको गाडी मात्र प्रवेश गराउने निर्णय गर्यो।
तर, आपतकालीन बिरामीको उपचार र आमाको दाहसंस्कार कति आवश्यक? यस विषयमा कतै व्याख्या गरिएको छैन। जसको मारमा परे वैद्य र बैठाहरु।
घटना ३
भारत, सिलगुडीकी वीणादेवी भाइ पवन गुप्तालाई भेट्न काठमाडौं आएकी थिइन्। काठमाडौंमै रहँदा वीणाका ६५ वर्षीय पति सज्जन कुमार स्वास्थ्य अचानक बिग्रियो। क्यान्सरकै बिरामी सज्जन सिलगुडीकै नेवटा अस्पतालको आइसियुमा भर्ना भएको खबर आयो।
पवन गुप्ता दिदी वीणालाई पुर्याउन वीरगंज पुगे। तर, उनीहरुले पनि नाका पार गर्न भने पाएनन्।
'सिलगुडीको अस्पतालमा भर्ना भएको सबै कागजात इमेलमार्फत् मगाउँदा पनि महावणिज्यदूतका अधिकारीले चिट्ठी दिन मानेनन्। अस्पताल भर्नाको तीन दिन बितेपछि चैत २४ गते मात्र वीणाले नाका कट्ने अनुमति पाइन्। विराटनगर–जोगवनी हुँदै हाल वीणा श्रीमान भएको ठाउँमा पुगेकी छिन्।
यसरी कोरोना भाइरस संक्रमणका कारण लागू लकडाउनका कारण नेपाल र भारत सीमा वारी–पारी मानिसहरु अलपत्र छन्।
कतिपयले सीमा नाकामै बनाइएको क्वारेन्टाइनमा बस्न बाध्य छन्। कोही परिवारबाट सम्पर्कविहीन भएका छन्। राजनीतिक सीमानाले भौगोलिक क्षेत्र छुट्याएको छ। मानिसलाई आफ्नाबाट टाढा बनाएको छ। उपचारबाट वञ्चित गराएको छ।
यस समस्या प्रति पर्सा प्रहरी प्रशासनको ध्यानाकर्षण भएको बताउँछन् सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेत।
उनले लकाडाउनका कारण यस्ता समस्याहरु देखिएको बताउँदै भने, 'कुनै नियोगको सिफरिस आयो भने गम्भीर बिरामी तथा परिवारजन भारत पठाउन सहजीकरण गर्छौं।'
संक्रमण रोकथामका लागि दुवै देशले सीमा नाकामा कडाई गरेको र अत्यावश्यक मालवस्तुको गाडी बाहेक सर्वसाधारणलाई रोक लगाइएको उनको कथन छ।
उनले भने,‘तर स्वास्थ्य उपचार र दाहसंस्कारजस्ता केस देखिएको अवस्थामा के गर्ने भन्ने बारे स्थानीय अधिकारीले ध्यान दिए पुग्छ।’
वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका नितेश कुमारले आफू पनि दुवै सरकारको नीतिको कारण अनुमति पत्र नकाट्न बाध्य भएको बताए।
‘मेरो पनि हात खुट्टा बाँधिएको छ। यो समस्या स्थानीय प्रहरी प्रशासनसँग सम्बन्धित भएकाले उहाँहरुसँग प्रश्न गर्नु उचित हुन्छ,’ उनले भने,‘आफूले जति सक्दो अवस्था हेरेर सहजीकरण गरिरहेको छु।’
एक साताभित्र घटेका उल्लेखित तीन घटनाका भुक्तभोगीहरुलाई आफूले अनुमति दिए पनि भारतीय प्रहरीले रोक लगाउने निश्चित भएको उनको कथन छ। भने, 'दुवै देशका उच्च तहकाले मार्ग निर्देशन नगरेसम्म समस्या समाधान हुँदैन। हामी त सोही अनुरुप काम गर्ने न हो।'