PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

मलेरिया औषधिमाथि प्रतिबन्ध फुकुवा गर्दै मोदीले भने: कोरोनाविरुद्धको मानवीय लडाईंमा हरसम्भव मद्दत गरिनेछ



पहिलोपोस्ट

मलेरिया औषधिमाथि प्रतिबन्ध फुकुवा गर्दै मोदीले भने: कोरोनाविरुद्धको मानवीय लडाईंमा हरसम्भव मद्दत गरिनेछ
Photo : Reuters

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महाव्याधि कोरोना भाइरसविरुद्ध सम्पूर्ण मानव जातिको लडाईंमा भारतले सक्दो सहयोग गर्ने बताएका छन्।

मलेरिया औषधि हाइड्रोक्सीक्लोरोक्वीनमाथिको प्रतिबन्ध फुकुवा गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत भारतलाई धन्यवाद दिए। ट्रम्पको ट्वीटमा जवाफ दिँदै मोदीले मानव जातिको संरक्षणका लागि ‍औषधि लगायत अन्य कुराको हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्।

कोरोना भाइरसबाट संक्रमितको उपचारमा हाइड्रोक्सीक्लोरोक्वीन उपयोगी देखिएपछि भारतले यसको निर्यातमा प्रतिबन्ध लगाएको थियो।

ट्रम्प प्रशासनले कोरोना संक्रमितको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन प्रयोग गर्न अनुमति दिएका बेला यो औषधि उत्पादन गर्ने ठूला उत्पादकमध्येको एक भारतले नै प्रतिबन्ध लगाएपछि अमेरिकाले प्रतिकार गर्ने चेतावनी दिएको थियो।

साथै भारतीय प्रधानमन्त्री मोदीलाई फोन गरेर ट्रम्पले प्रतिबन्ध हटाउन आग्रह गरेका थिए। त्यतिमात्रै होइन ह्वाइट हाउसको प्रेस ब्रिफिङमा ट्रम्पले औषधिको निर्यातमा प्रतिबन्ध लगाउने भारतको निर्णय आफूलाई मन नपरेको बताउँदै भनेका थिए, ‘पक्कै पनि यसको प्रतिकार हुनेछ, किन हुँदैन।’

अमेरिकाको चेतावनीमुलक आग्रहपछि भारतले हाइड्रोक्सीक्लोरोक्वीनको निर्यातमा प्रतिबन्ध हटायो। प्रतिबन्ध हटाउने निर्णयको स्वागत गर्दै ट्रम्पले बुधबार राती ट्वीटरमार्फत धन्यवाद दिए। उनले ट्वीटरमा भनेका छन्, 'असाधारण समयमा मित्रहरुबीच घनिष्ठ सहयोग आवश्यक छ। हाइड्रोक्सीक्लोरोक्वीनमा भएको निर्णयका लागि भारत र भारतीय जनतालाई धन्यवाद। तपाईंहरुको यो गुन बिर्सिने छैनौं। धन्यवाद प्रधानमन्त्री मोदी। तपाईको कुशल नेतृत्वले कोरोनाविरुद्धको लडाईंमा भारत मात्र होइन मानव जातिलाई नै सहयोग पुग्नेछ।'

ट्रम्पको ट्वीटमा सहमति जनाउँदै मोदीले भनेका छन्, 'यस्ता समयले मित्रहरुलाई नजिक ल्याउँछ। भारत-अमेरिका पार्टनरसीप पहिलेभन्दा अझै बलियो छ। कोरोना भाइरसविरुद्ध मानवीय लडाईंमा भारतले सम्भव सबै सहयोग गर्नेछ। यो सँगै हामी जित्नेछौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell