काठमाडौं : सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका नागरिकलाई बाहिर जान दिने भएको छ तर कसरी पठाउने भन्ने विषयमा छलफल भने जारी छ।
गृह मन्त्रालयमा काठमाडौंमा फसेकालाई फर्काउने विषयमा बैठक बसिरहेको छ।
गाडी नपाएपछि पैदल नै लामो दुरीको यात्रामा मानिसहरु गइरहेका छन्। त्यही अवस्थालाई हेर्दै उच्चस्तरीय समन्वय समितिले बिहीवार आफ्नो ठाउँ फर्कन चाहनेलाई जान दिनेबारे छलफल अघि बढाएको थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले स्कर्टिङ गरेर उपत्यकाबाहिर जान दिनेबारे छलफल भइरहेको बताए। उनका अनुसार भोलि र पर्सि दुई दिनका लागि यो व्यवस्था गर्न लागिएको हो। तर, गाडीको व्यवस्था कसरी गर्ने? घर फर्किनेको विवरण कसले र कसरी संकलन गर्ने? कोरोना भाइरसको संक्रमण भइरहेको समयमा गाडीमा कसरी व्यवस्था गर्ने भन्ने विषयमा छलफल भइरहेको गृहका एक उच्च अधिकारीले जानकारी दिए।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ११ देखि लकडाउन गरेको छ। सुरुमा एक हप्ताका लागि घोषित लकडाउन थप दुई हप्ता बढाइएको छ। लगातारको लकडाउनले डेरा लिएर बस्नेहरु समस्यामा परेका छन्। लकडाउनले खाद्यान्न लगायत अन्य समस्या भएपछि धेरैजना हिँडरै गाउँ गइरहेका छन्।
सरकारले दुई दिन काठमाडौंबाट गाउँ फर्काउन दिने जानकारी आएपछि अहिले काठमाडौं फर्किनेलाई भने के व्यवस्था छ भन्नेखाले प्रश्न उठेका छन् तर जवाफ आइसकेको छैन।