PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चार सय वर्षपछि रोकियो बिस्का : टौमढी सुनसान बन्दा पहिलोपटक बनेन भैरवनाथको रथ, नठडिने भयो य: सिं



सहयोग रञ्जित

चार सय वर्षपछि रोकियो बिस्का : टौमढी सुनसान बन्दा पहिलोपटक बनेन भैरवनाथको रथ, नठडिने भयो य: सिं

भक्तपुर: चैत २७ गते। हरेक वर्ष यही दिन भक्तपुरमा बिस्का सुरु हुन्छ। हजारौं मानिस भैल ख: (भैरवनाथको रथ) हेर्न टौमढी पुग्ने गर्थे।

आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्रामा पहिलो दिन भैरवनाथ मन्दिरमा रहेको भैरवनाथको मूर्ति र वेताल देवतालाई टौमढीस्थित न्यातापोल मन्दिर प्राङ्गणमा प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैल ख: मा स्थापना गरी विधिवत् रुपमा जात्रा सुरु गरिन्थ्यो। सो क्रममा भैरवनाथ र उनकी श्रीमती भद्रकालीको रथ जुधाइन्थ्यो।

दिउँसोतिर हजारौं मानिसबीच युवाहरु 'होस्टे, हैंसे' गर्दै रथलाई आ-आफ्नो टोलमा लग्न प्रतिस्पर्धा गर्थे। पहिलो दिन भैरवनाथको रथलाई थ:ने (माथिल्लो टोल) र क्व: ने (तल्लो टोल) मा लग्ने युवाहरु तल्लिन हुन्थे। जुन टोलले रथ तानेर आफ्नो टोलमा लग्न सफल भए पनि अन्तिममा ग: हिटीमा पुर्‍याएर पहिलो दिनको रथ यात्रा समापन हुन्थ्यो।

गत वर्षको बिस्का

तर यसपटक टौमढी सुनसान बन्यो। हरेक वर्ष बिस्कासँगै निकै व्यस्त हुने भक्तपुर लकडाउनमा पर्‍यो। कोरोना भाइरसको संक्रमण फैलिन रोक्न सरकारले देशव्यापी लकडाउन गरेको कारण उपत्यकामा धेरै जात्राहरु रोकिए।  बिस्का पनि औपचारिक पूजामा मात्रै सीमित भयो।

लिच्छवीकालदेखि नै मनाइँदै आएको बिस्का रोकिएको यो पहिलो पटक भने होइन। करिब चार सय वर्ष अघि पनि बिस्का रोकिएको रहेछ। त्यो बेला भक्तपुरवासीले आफ्नो राज्य बचाउन बिस्का रोकेका थिए। यसपटक देशभर कोरोनाको संक्रमणबाट बच्न।

चार सय वर्षअघि काठमाडौं उपत्यकामा मल्ल शासन थियो। कान्तिपुर, पाटन र भक्तपुरमा मल्ल दाजुभाइहरुको शासन गर्थे। एकले अर्काको राज्यलाई बलियो र सबल बनाउने होड थियो मल्लहरुमा। त्यही कालखण्डमा बिस्काको अवसर पारेर काठमाडौंका राजा प्रताप मल्लले भक्तपुर आक्रमण गरेका थिए।

संस्कृतिविद् ओम धौभडेल भन्छन्, ‘त्योबेला टौमडीबाट भैरवनाथको रथ त तानियो तर ल्योसिङखलमा रथ पुर्‍याउन सकिएन। प्रताप मल्लका सेनाहरु आएर राजाको आदेश बिना य: सिं उठाउन नपाइने भनेर घेराबन्दी गरेका कारण त्यो वर्ष य: सिं उठाइएको थिएन। कान्तिपुरसँग लड्न भक्तपुरवासीहरु युद्धमा होमिए। अन्तत: त्यस वर्ष भैरवनाथको रथ बीचबाटै तानिएन। पहिलोपटक य: सिं पनि उठाइएन।’

यसपटक भने भैरवनाथको रथ नै बनेन। रथ नबनेको भने पहिलोपटक नै भएको धौभडेल बताउँछन्। लकडाउन सुरु हुनु अघि रथ बनाउने काम सुरु त भएको थियो। तर संक्रमणको त्रासबीच रथ निर्माणको काम रोकियो।

‘यसअघि पनि बिस्का रोकिएको थियो। एकपटक य: सिं नठड्याइ पनि बिस्का भएको थियो। तर, यो वर्ष पहिलोपटक भैरवनाथको रथ नै नबनाइ बिस्का मनाइँदैछ। महामारीका कारण य: सिं नै नठड्याइ बिस्का हुँदैछ। कुनै पनि देवीदेवतालाई मन्दिरबाहिर ननिकाली हुने यो पहिलो बिस्का हो।’

धौभडेल थप प्रस्टाउँछन्, ‘दुई पटक भैरवनाथको रथ बिग्रिएर भैरवनाथलाई बोकेर लगेर जात्रा सम्पन्न गरेको इतिहास छ। तर अहिलेसम्मको इतिहासमा रथ नै नबनेको पहिलोपटक हो।’

 गत वर्ष य: सिं ठड्याइदै

भक्तपुरवासीका लागि बिस्का मात्रै जात्रा थिएन। यो अवधिभर भक्तपुरमा रहेका अष्टमात्रिका, गणेश र भैरवका मन्दिरहरु रहेको स्थानमा छुट्टाछुट्टै जात्राहरु हुन्थे। यी सबैजात्राहरुले भक्तपुरवासीलाई एकतामा बाँधेको धौभडेल बताउँछन्।

एउटा वंशको अन्त्य गर्दै अर्कोको उदय भएको वर्षका उपलक्ष्यमा बिस्का सुरु भएको दाबी गर्छन् संस्कृतिविद् धौभडेल। त्यसैले उनी बिस्कालाई सांस्कृतिकभन्दा पनि राजनीतिक जात्राका रुपमा व्याख्या गर्छन्।

यस्तै लिच्छवीहरुपछि मल्लहरुले नेपालमण्डलमाथि राज्य गरेका थिए। मल्लहरुबीचको आपसी मतभेदले नेपालमण्डल टुक्रिँदै गयो। रत्न मल्लले कान्तिपुर (काठमाडौं), रण मल्लले बनेपा स्थापना गरे। नेपालमण्डल विभाजित हुँदै गएपछि भक्तपुर पनि साँघुरिँदै गयो। राय मल्लभन्दा पछिका राजाहरुले भक्तपुरको अधीनमा रहेका राज्यहरुमा विस्का जात्रा मनाउने परम्परा बसालेका थिए।

धौभडेलका अनुसार भक्तपुरको पूर्व क्षेत्रका ७ र पश्चिम क्षेत्रको ७ गाउँहरुमा (साँखु, टोखा, ठिमी, बोडेलगायतका स्थानमा) मल्लहरुले भक्तपुरको अधीनमा रहेको भनेर देखाउन त्यहाँ बिस्का मनाउने परम्परा सुरु गरेका थिए। तर पछि नेपालमण्डल विभाजित हुँदै गएपछि भक्तपुर छुट्टै राज्यको रुपमा स्थापति भयो। यद्यपि, पूर्व र पश्चिमका ७ गाउँहरुमा बिस्का अहिले पनि मनाइन्छ। यसपटकको लकडाउनका कारण यी सातै गाउँमा पनि बिस्का रोकियो।

धौभडेलका अनुसार बिस्का किम्बदन्तीमा आधारित ऐतिहासिक राजनीतिक जात्रा हो। कुनै राजा वा जनताले सुरु गरेको जात्रामात्रै होइन। यो कथाहरुमा आधारित जात्रा हो। त्यसैले उनी लकडाउनको भक्तपुरवासीलाई बिस्कालाई फर्केर हेर्न अवसर दिएको बताउँछन् उनी।

भन्छन्, ‘हामी प्रत्येक वर्ष नयाँ बिस्का जात्रा हेर्छौं। यो वर्ष हामीले लकडाउनका कारण घरभित्रै छौं। अर्को वर्ष हामी बिस्का मनाइहाल्छौं। त्यसलाई अहिले घरभित्रै बस्दा हामीले यो समयको सदुपयोग गर्नुपर्छ र बिस्काको कथाहरु बुझ्न र बुझाउन सक्छौं।’

कोरोनाको महामारी रोक्ने सबैभन्दा उत्तम उपाय भनेकै घरभित्रै बस्ने भएको भन्दै धौभडेलले यो वर्ष विगतका बिस्कालाई स्मरण गरेर मनाउन सबैलाई आग्रहसमेत गरेका छन्।

‘बिस्काका बारेमा हामीसँग धेरै लिखित इतिहास छ। पुराना तस्विर, भिडियोहरु छन्। धेरै वर्ष बिस्का देखेका वृद्धवृद्धा छन्। लकडाउनले हामीलाई बिस्का बारेमा अध्ययन गर्ने र यसको कथाहरु बुझ्ने अवसर दिएको छ।’

विकसित देशहरुमा कोरोनाको कहर फैलिँदै गरेको अवस्थामा नेपाल अझै रिक्समा नै छ। यही समयमा नै उपत्यकामा सबैभन्द बढी जात्रा पर्व हुन्छन्। अहिले कोरोनाको प्रकोपका कारण नेवार समुदायले सबै जात्रा पर्वहरु स्थगित गरेको उल्लेख गर्दै उनले भने, ‘हामी इतिहासका एक पात्र बनेका छौं। कोरोनाका कारण उपत्यकामा सबै जात्रा पर्वहरु स्थगित भएको सम्भवत यो पहिलोपटक हो। यो बेला सधैं जात्रा रम्ने हामीले पहिला घरमा समय दिन सकिरहेका थिएनौं। लकडाउनले हामीलाई घरपरिवारसँगै बस्न पाएका छौं। घरमै भएको बेलामा जात्रापर्वका कथाहरु परिवारबीच आदान प्रदान गरौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell