PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

काठमाडौंमा फसेकालाई भोलि नै बाहिर पठाउन नसकिने सरकारको निष्कर्ष



पहिलोपोस्ट

काठमाडौंमा फसेकालाई भोलि नै बाहिर पठाउन नसकिने सरकारको निष्कर्ष

काठमाडौं: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लकडाउनका कारण काठमाडौं उपत्यकामा रोकिएकाहरुलाई भोलि नै गाउँ फर्काउन नसकिने जनाएको छ।

कोरोना रोकथाम उच्चस्तरीय समितिले लकडाउनका कारण काठमाडौंमा रोकिएका तथा अलपत्र परेका असहाय, मजदुर र डेरावाललाई गाउँ फर्किन भोलि र पर्सि गाडीको व्यवस्था गरेर उपत्यका बाहिर पठाउनेबारे छलफल चलाएका बेला यातायात मन्त्रालयले भोलि नै यो काम सम्भव नभएको निष्कर्ष निकालेको हो।

यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कुनै तयारी नभएकाले तत्कालै उपत्यका बाहिर पठाउन सम्भव नभएको बताए।

यता कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले पनि काठमाडौं प्रवेश गर्न नपाइने तर काठमाडौंबाट बाहिर जान भने खुला गर्ने कुरा निर्णय नभएको स्पष्ट पारेका छन्।

'यस किसिमको कुनै निर्णय नभएको, कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गम्भीरताका साथ महसूस गरी ‘वन्दावन्दी’ (लकडाउन) लाई जारी राखिएको र प्रधानमन्त्रीज्यूले देशवासीका नाममा हालै गर्नुभएको सम्बोधनमा समेत यसको आवश्यकतालाई गंभीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं,' उनले भनेका छन्।

लकडाउनलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता रहेको उनको भनाई छ। 'यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु,' पोखरेलले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell