कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका विपन्न, असहाय र मजदुरहरुलाई प्रतिपरिवार तीन हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।
प्रदेशका सबै जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटर खरिद गर्ने र सबै जिल्ला प्रशासन कार्यालयलाई ५ लाखका दरले रकम उपलब्ध गराउने निर्णय समेत बैठकले गरेको छ। सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले बैठक पछि नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका लागि १५ लाखका दरले व्यवस्थापनवापत रकम उपलब्ध गराउने समेत निर्णय भएको जानकारी दिए।
सरकारले प्रदेशमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लाई थप १५ लाखको तथा सञ्चारकर्मीलाई समेत १५ लाखको बिमा गर्ने निर्णय गरेको छ। उनले सबै अस्पतालका विकास समिति मातहत रहेका स्वास्थ्यकर्मीका लागि पनि प्रोत्साहन भत्ताको व्यवस्था गरिने निर्णय भएको बताए।