PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रदेश १ मा धरानपछि विराटनगरबाट पनि कोरोना परीक्षण हुने



अनन्तराज न्यौपाने

प्रदेश १ मा धरानपछि विराटनगरबाट पनि कोरोना परीक्षण हुने

विराटनगर : कोरोना भाइरस (कोभिड-१९)का शंकास्पद बिरामीको नमुना परीक्षण विराटनगरबाटै गरिने भएको छ। कोशी अस्पताल विराटनगरबाट शंकास्पद बिरामीको नमुना परीक्षण गरिने भएको हो।

प्रदेश नम्बर १ मा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र कोरोना परीक्षण भइरहेकोमा अब प्रदेश राजधानी विराटनगरको कोशी अस्पताल पनि थपिएको छ। विराटनगरबाट कोरोना परीक्षणका लागि आवश्यक तयारी गरिएको प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए। परीक्षणका लागि आवश्यक उपकरण र केमिकल बिहीवार हेलिकप्टरबाट विराटनगर आइपुगेको मन्त्री घिमिरेले जानकारी दिए।

उनले भने, ‘सम्भवतः भोलि शुक्रवारदेखि परीक्षण गरिनेछ।’

कोशी अस्पतालबाट नमुना परीक्षण शुरु भएपछि दैनिक करिब ९६ जनाको नमुना संकलन गर्न सकिने छ। सुनसरीको धरानस्थित प्रतिष्ठानबाट दैनिक करिब २० जनासम्मको नमुना संकलन गर्न सकिन्छ। प्रदेश नम्बर १ का १४ जिल्लाबाट नमुना संकलन गरी धरान र विराटनगरमा परीक्षण गरिने उनले उल्लेख गरे।

विराटनगरबाट गरिने कोरोना परीक्षणका लागि पहिलो चरणमा ६ सय जनाको नमुना संकलन गर्न पुग्ने केमिकल ल्याइएको वीर अस्पताल काठमाडौंका जेनेटिक साइन्टिस्ट तथा कोरोना परीक्षण विज्ञ समूहका वलराम गौतमले स्पष्ट पारे।

यसैबीच, भोलि शुक्रवारदेखि प्रदेश नम्बर १ का क्वारेन्टाइनबाट र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिने भएको छ। शुक्रवार झापाको मेचीनगर र भद्रपुरमा नेपाली सेनाको क्वारेन्टाइनमा रहेकाहरूको आरडिटी शुरु हुने प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले जानकारी दिए। यादवका अनुसार आरडिटीका लागि प्राविधिकहरूलाई तालिम दिइसकिएको छ। आरडिटीमा शंकास्पद देखिएमा कोरोना परीक्षण हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell