PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

२०७६ मा फुटबल : घरेलु मैदानमा नजुरेको त्यो अवसर...



मुकुन्द घिमिरे

२०७६ मा फुटबल : घरेलु मैदानमा नजुरेको त्यो अवसर...

२०७६ सकिँदैछ। र, नयाँ वर्ष आउँदैछ। वर्षको अन्तिम समयमा कोरोनाको सङ्क्रमणबाट फुटबल प्रभावित बने पनि समग्रमा यो वर्ष फुटबलका गतिविधि राम्रै भए। साग र एएफसीका विभिन्न उमेर समूहमा सहभागिताको मौका नेपालले पायो। घरेलु मैदानमा सागमा फुटबलको उपाधि उचाल्यो। अझ महत्वपूर्ण पक्ष त विश्वकप छनोट अन्तर्गतको खेलहरुमा अस्ट्रेलिया,जोर्डन जस्ता विश्वकपमा सहभागी भइसकेका टिमसँग खेल्ने अवसर पायो।

राम्रो अवसर थियो चैत महिनामा पनि। नेपाली सिनियर फुटबल टोलीले लामो समय पछि घरेलु मैदानमा खेल खेल्ने अवसर थियो। अस्ट्रेलिया र चाइनिज ताइपेइसँग। तर कोरोना बीचमा आयो। र, खेल रोकियो। एउटा अवसर गुम्यो तर यसअघि पनि फुटबलमा विभिन्न गतिविधि भइआएका थिए। के के भए त यो वर्ष फुटबलका महत्वपूर्ण गतिविधि?

विश्वकप छनोटमा अनुभव

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलको एशिया छनोट प्रतियोगिता र २०२३ मा चीनमा हुने एसिया कप छनोटअन्तर्गत नेपालले सबै अवे खेलहरु यो वर्ष खेलेको छ। र, भुटानमा कुवेतसँग ‘होम गेम’ पनि खेलिसकेको छ। यस्तोमा नेपालले अस्ट्रेलिया, जोर्डन, कुवेत जस्ता विश्वकप खेलिसकेका टिमसँग खेलेर एउटा अनुभव बटुल्ने मौका पायो।

तर विडम्बना नेपालको घरेलु मैदान दशरथ रंगशाला समयमै पुनर्निर्माण हुन नसक्दा नेपालले सबै खेलहरु पहिला 'अवे गेम' खेलेर पछि 'होम गेम' खेल्ने प्रस्ताव गरेको थियो। त्यस अन्य देशहरुले स्वीकार गरेपछि नेपालले पहिला 'अवे गेम' खेलेको थियो।

कतार विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ चीनको दोस्रो चरणको छनोटमा नेपाल समूह 'बी' मा छ। नेपालले समूह 'बी' मा सबै 'अवे गेम' खेलिसकेको छ। र, 'होम गेम' दशरथ रंगशाला गराउने तय भएको भएपनि रंगशाला पुननिर्माण भइनसकेको अवस्थानमा भुटानमा खेलको थियो।

नेपालले अहिलेसम्म जसमा १ खेलमा जित र ४ खेलमा हार ब्यहोर्‍यो। आफ्नो समूहमा नेपालले चाइनिज ताइपेईसँग २–० को जित बाहेक अरु टिमसँग पराजय भोगेको थियो।

समूह 'बी' मा नेपालसहित अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ रहेका छन्।

डिस्को कान्ड

नेपाल र कुवेतबीच भुटानमा खेल हुँदै थियो असोज ३ गते। नेपाली फुटबल टोली २ गते त्यसतर्फ उड्ने तरखरमा थियो। तर, नेपाली फुटबलका पहिलो रोजाइका खेलाडीहरु विदाईमा देखिएनन्। न त भुटान उडेको टोलीमा नै। किनभने कारण अर्कै थियो: ‘डिस्को कान्ड’

राति नाइट क्लबमा भेटिएका स्ट्राइकर विमल घर्ती मगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई‍‍ एन्फाले कार्वाही गर्दै हटायो। ती खेलाडीले कुवेतसँगको खेल त गुमाए नै साग पनि गुमाउन पुगे। त्यस्तै शहीद स्मारक ए डिभिजन लिगमा पनि उनीहरुले पुरा खेल्न पाएनन्।

सागमा स्वर्ण

दक्षिण एसियाली खेलकुदमा फुटबलले समर्थकको राम्रो साथ पायो। घरेलु मैदान, भरिएको स्टेडियम खेलाडीलाई यो भन्दा हौसला के ले देला र?

राम्रो प्रदर्शन गर्दै सागमा नेपालले स्वर्ण हात पार्‍यो। फाइनलमा भुटानलाई हराउँदै। यो सँगै नेपालले लगातार दोस्रो पटक सागमा स्वर्ण जित्ने अवसर पायो र सदुपयोग गर्‍यो।

ए डिभिजन लिगको नयाँ च्याम्पियन: मछिन्द्र क्लब

शहीद स्मारक ए डिभिजन लिग तुलनात्मक रुपमा यसवर्ष केही प्रतिस्पर्धात्मक देखियो। केल टोलको क्लब मछिन्द्रले यसपटक धेरै ‘हेवी वेट’ मानिने खेलाडीहरु भित्र्यायो। र, त्यही अनुसारको सफलता पनि पायो।

अघोषित फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्र क्लब पहिलो पटक ए डिभिजन लिगको उपाधि उचाल्न सफल रह्यो। अर्कोतर्फ सरस्वती क्लब भने रेलिगेसनमा पर्‍यो। अघिल्लो पटक पुछारका दुई टिमको अंक घटाउनेमात्र नीति लिएको एन्फाले यसपटक एउटा टिमलाई रेलिगेसन गर्ने नीति लिएको थियो।

बी डिभिजन लिगको भने कथा फरक छ। बी डिभिजन लिग चल्दाचल्दै कोरोनाको प्रकोप बढ्यो। र, राष्ट्रिय खेलकुद परिषदको निर्णय अनुसार एन्फाले बीचमै लिग स्थगित गर्‍यो।

खेलाडीको फाइट

फुटबलको खेल मैदानमा निर्धारित समयका लागि हुन्छ तर यसपटक अलि फरक दृश्य पनि देख्न पाए दर्शकहरुले। शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजको दोस्रो खेल मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीच थियो। खेलमा दुवै टिमको दमदार प्रस्तुति देखियो।

एक अर्काविरुद्ध जित निकाल्ने दाउमा दुवै टिमले निकै आक्रमक खेल प्रस्तुत गरेका थिए। फुटबलमा आक्रमक खेललाई नै रोमाञ्चक मान्छन् दर्शकहरु। ९० मिनेट र थप गरिएको समय सकिँदा २-२ को नतिजा निस्कियो। कुनै टिमले पनि जित दावी गर्न सकेनन् र अंक बाडियो।

तर जसै रेफ्रीले खेल सकिएको अन्तिम सिट्ठी बजाए तब त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको माहौल एकाएक परिवर्तन भयो। खेलाडीहरुबीच धकेलाधकेल हुन थाल्यो। मनाङका जगजित श्रेष्ठ र मछिन्द्रका दीपक राईबीच भनाभन भएपछि विवाद शुरु भएको थियो। बेन्चमा बसेका खेलाडीहरु झगडाबाट आफ्ना खेलाडीलाई टाढा राख्न मैदान तिर दगुर्न थाले। तर खेलाडीहरु शान्त हुने अवस्थामा आएनन्।

अवस्था साम्य पार्न केही प्रहरी पनि मैदानमा उत्रिए। रेफ्री र अफिसियलहरु मैदानमा पस्दा ठूलै भीडभाड देखियो। धेरै चर्चा पनि बटुल्यो यो घटनाले।

एन्फाले पछि यस घटनामा कार्वाही पनि गरेको थियो।

सन्तोषको शतक

पुष २३ गते। शहीद स्मारक ए डिभिजन लिगमा खास थियो। किनभने एउटा कीर्तिमान बन्दै थियो। र कीर्तिमान बनाउने खेलाडी थिए सन्तोष साहुखल। च्यासल युथ क्लबका कप्तान। ९९ गोल गरेर दुई खेलमा गोलरहित बनेका सन्तोषले नेपाल पुलिस विरुद्दको खेलमा गोल गर्दे इतिहास बनाए।

उनले अनुभवी टिम नेपाल पुलिसविरुद्ध गोल गर्दै १०० औं गोल गरे। १८ औँ मिनेटमा सन्तोषले प्रहार गरेको बलले जाली चुम्दा नेपाली फुटबलमा इतिहास बनेको थियो। एउटा राष्ट्रिय कीर्तिमान। जो सजिलै बन्न सक्नेवाला देखिँदैन। निरन्तरता, फिटनेस र स्किलले गर्दा सन्तोषले आफ्नो १०० औँ गोल गरे।

साहुखलले २०६० सालमा थ्री स्टारबाट लिगमा डेभ्यु गरेका थिए। उनले आफ्नो पहिलो लिगमै ६ गोल गरेर आफूलाई प्रमाणित गरिसकेका थिए। त्यस्तै २०६१ सालमा एपिएफबाट पनि उनले ६ गोल गरेका थिए। पछि फेरि उनी थ्री स्टार नै फर्किए। २०६२ सालमा थ्री स्टारबाट ९ गोल गरेका उनले २०६३ सालमा ११ गोल गरेका थिए। त्यस्तै ६६/७७ मा १९ गोल गरेका साहुखल २०६८ सालमा मनाङ मर्स्याङदी क्लबमा पुगे। त्यहाँबाट पनि उनले १६ गोल गरे। फेरि अर्को सिजन उनी थ्री स्टारमै फर्किए। २०६९ मा १७ गोल गरेका उनले २०७० मा थ्री स्टारबाट ९ गोल गरेका थिए।

महिला टिम ‘उपविजेता’

नेपाली महिला फुटबल टिमले पनि यसवर्ष विभिन्न प्रतियोगितामा सहभागिता जनायो। राम्रो खेलेर समर्थकहरुको मन तान्न सफल भए पनि सहभागी भएको प्रतियोगितामा उपविजेतामै चित्त बुझायो। नाडेज्दा कप, दक्षिण एसियाली खेलकुदलगायतका खेलहरुमा नेपाली टिम उपविजेता बन्यो। सागमा स्वर्ण दिलाउन असमर्थ भएको भन्दै नेपाली महिला टिमका प्रशिक्षक हरि खड्काले राजिनामा समेत दिएका थिए।

उमेर समूहमा खस्केको फुटबल

यो वर्ष विशेष गरी उमेर समूहमा नेपाली फुटबलको नतिजा फितलो देखिएको छ। नेपालले साग र एएफसी अन्तर्गत विभिन्न उमेरसमुहमा यसवर्ष सहभागिता जनाएको थियो। त्यसमध्ये सागमा हात पारेको स्वर्ण बाहेक अन्य उपलब्धि खास रहन सकेनन्।

कात्तिक महिनामा इरानमा सम्पन्न एएफसी यू १९ च्याम्पियनसिपको समूह चरणमा नेपालले कीर्गिस्तानसँग बराबरी खेल्यो। प्रतियोगितामा बाँकी सबै खेल गुमाएको नेपालले अन्तिम खेलमा भने बराबरीसम्म रोक्न सफल भयो। यत्तिकैमा चित्त बुझायो नेपाली टोलीले। प्रतियोगितामामा युएई र इरान दुबैसँग समान ४–० ले पराजित भयो।

गएको भदौ महिनामा भएको साफ यू १५ च्याम्पियनसिपमा नेपालले राम्रो प्रदर्शन गर्दै फाइनलसम्म त पुग्यो तर फाइनलमा पुगेपछि भने लज्जास्पद हार ब्यहोर्‍यो। भारतको कल्याणीमा भएको उक्त प्रतियोगितामा नेपालले फाइनलमा भारतसँग ७–० को पराजय भोगेको थियो। त्यतिबेला फाइनलमा नेपालको प्रदर्शनलाई लिएर आलोचनासमेत भएको थियो।

साफ यू १८ मा पनि नेपालको अवस्था उस्तै रह्यो। २ पटकको विजेता नेपाल घरेलु मैदानमा समूह चरणबाटै बाहिरिँदा ह्याट्रिकको सपना मात्र बिग्रिएको थिएन, कमजोर ठान्ने गरेका टिमहरु कसरी सुधार गरे भन्ने पनि देखिएको थियो। साफ यू १८ मा माल्दिभ्ससँग बराबरी खेलेको नेपाल भुटानसँग पराजित हुदै बाहिरिएको थियो।

त्यसो त साफ यू १८ मा हारपछि प्रशिक्षक चेतनारायण श्रेष्ठले नैतिकताका आधारमा राजीनामा पनि दिएका थिए।

असोजमा एएफसी यू १६ मा सहभागी हुन नेपाल जोर्डन गएको थियो। त्यहाँ श्रीलंकालाई हराएको नेपालले जोर्डन र ताजकिस्तानसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो। त्यस्तै कुवेतलाई १–१ को बराबरीमा रोकेको थियो।

नेतृत्वमा देखिएको फाटो

एन्फा नेतृत्वमा रहेका असन्तुष्टीहरु सामाजिक सञ्जालमा प्राय छरपस्ट देखिने गर्छन। तर पछिल्लो समय एन्फा नेतृत्वमा बढ्दो दुरीलाई स्पस्ट पारेको छ एन्फाका वरिष्ट उपाध्यक्ष पंकजविक्रम नेम्बाङको ‘नोट अफ डिसेन्ट’ ले। नेम्बाङले माघ २६ गतेको वैठकमा असहमति राख्न खोज्दा अध्यक्ष र महासचिवले ‘लिखित रुपमा दिनू’ भनेपछि १३ वुँदामा विभिन्न असहमति राखेका थिए।

कोरोनाले भत्काएको सपना

कोरोनाले नेपाली फुटबलमा ठूलै प्रभाव पार्‍यो। सबैभन्दा मुख्य कुरा त नेपालले अस्ट्रेलिया र चाइनिज ताइपेइसँग घरेलु मैदानमा खेल्ने अवसर गुमायो। दोस्रो बी डिभिजन लिग आधामै स्थगित गर्नुपर्‍यो। त्यसबाहेक पनि तालिम, कार्ययोजना लगायतका विभिन्न क्षेत्रमा नेपाली फुटबल प्रभावित बन्यो।

एन्फाले पछिल्लो समय कोरोनाको सङ्क्रमण सँग लडन सकारात्मक भूमिका खेलिरहेको छ, आफ्ना श्रोत साधनहरु सहयोग गरेर। पछिल्लो समय एन्फाले आफ्ना दुई एम्बुलेन्स ललितपुर महानगरपालिकालाई सहयोग गरेको छ। त्यस्तै एन्फाका विभिन्न संरचनाहरु केन्द्र, प्रदेश र स्थानिय तयले प्रयोग गर्न सक्ने गरी उपलब्ध गराएको छ। जसमा ललितपुरको एन्फा कम्प्लेक्सको होस्टल, बुटवल र धरानको फुटबल एकेडेमीको होस्टल र रौतहटको महिला फुटबल एकेडेमीको होस्टल रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell