PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'हङ्ग्री थर्टिज'कै हालतमा पुग्दै विश्वको अर्थतन्त्र : कोरोनाका कारण ८१ प्रतिशतले गुमाउँदै रोजगारी



पहिलोपोस्ट

'हङ्ग्री थर्टिज'कै हालतमा पुग्दै विश्वको अर्थतन्त्र : कोरोनाका कारण ८१ प्रतिशतले गुमाउँदै रोजगारी

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले कोरोना भाइरसका कारण यस वर्ष विश्वव्यापी आर्थिक वृद्धि तीब्र रुपमा नकारात्मक हुने जनाएको छ।

आइएफएमका व्यवस्थापकीय निर्देशक क्रिस्टलिना जर्जिभाले यस आपतकाललाई सन् १९३० को 'ग्रेट डिप्रेसन' पछिको सबैभन्दा खराब आर्थिक नतिजा देखिने अवस्था रहेको बताएकी छिन्। १९३० को दशकलाई हङ्ग्री थर्टिजका रुपमा पनि बुझिन्छ।

कोरोना भाइरस संक्रमणका कारण विश्व अर्थतन्त्रमा देखिएको संकटको असर सन्‍ २०२१ सम्म पनि रहिरहने र त्यसपछि आंशिक सुधारका संकेतमात्र देखिने क्रिस्टलिनाले बताएकी छिन्। त्यसका लागि पनि यस वर्षको बीचसम्ममा कोरोना भाइरसको संक्रमण रोकिनु पर्नेछ। विभिन्न देशमा जारी लकडाउन र त्यसले बन्द गराएका कम्पनीका कारण यस्तो अवस्था निम्तिन लागेको हो।

संयुक्त राष्ट्रसंघका अनुसार यसै सातामात्र विश्वभर ८१ प्रतिशत अर्थात् तीन अर्ब कामदारहरुले पूर्ण वा आंशिक रुपमा रोजगारी गुमाएका छन्। जसको प्रत्यक्ष प्रभाव बजार बिस्तार हुँदै गरेका र विकासशील राष्ट्रहरुमा प्रत्यक्ष रुपमा पर्ने दावी गरिएको छ। जसको क्षतिपूर्ति स्वरुप अर्बौं डलरको वैदेशिक सहायताको आवश्यकता पर्ने निश्चित छ।

'केवल तीन महिना अघिमात्र हामीले सन् २०२० मा राष्ट्रसंघका १ सय ६० सदस्य राष्ट्रहरुमा प्रतिव्यक्ति आयको वृद्धि अपेक्षा गरेका थियौं, ' उनलाई बीबीसीले उद्घृत गर्दै लेखेको छ, 'तर अब त १ सय ७० वटा राष्ट्रको प्रतिव्यक्ति आयमा नकारात्मक प्रभाव पर्न सुरु भइसक्यो।'

कोरोनाका कारण विभिन्न कारक तत्वहरुले विश्वको आर्थिक स्थितिमा असर गर्ने बताइएको छ।

अन्तर्राष्ट्रय श्रम संगठनले पनि कोरोना भाइरसका कारण निम्तिएको यस अवस्थालाई दोस्रो विश्व युद्धपछिको 'सबैभन्दा गम्भीर स्थिति'को संज्ञा दिएको छ। संगठनका अनुसार कोरोना भाइरसका कारण  १९ करोड ९५ लाख कामदारहरु पूर्ण रुपमा बेरोजगार हुँदैछन्।

आर्थिक सहयोग र विकास संगठन (ओइसीडी)ले पनि विश्वव्यापी अर्थतन्त्रको सुधार हुन वर्षौ लाग्ने चेतावनी दिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell