PahiloPost

Nov 18, 2024 | ३ मंसिर २०८१

लकडाउनमा घण्टाघर : रोकियो काठमाडौंको समय देखाउने घडी

लकडाउनमा घण्टाघर : रोकियो काठमाडौंको समय देखाउने घडी

सहयोग रञ्जित/पहिलोपोस्ट


घण्टाघरको घडीको मोटो सुई ११ र लामो सुई ४० मा पुगेर टक्क अड्किएको छ। ती सुई घुमेका छैनन्। व्यस्त राजधानीको चहलपहलबीच प्रत्येक घण्टा गुञ्जने टङ… टङ… टङ… को आवाज सुनिएको छैन।

नेपालजस्तै लकडाउनमा छ यो घडी।

हुन त अहिले सबैको हातमा घडी। हाते घडी नभए पनि मोबाइलमै समय हेर्न सहज अवस्था छ। तर, एक समय थियो, नेपालमा आम मानिसले घडी लगाउने चलन नै सुरु भएको थिएन। राणा शासकहरुले मात्र बाँध्थे घडी।

घण्टाघरले देखाउने समय र दिने आवाजले अर्थ राख्थ्यो।

घडी बज्दा काठमाडौं वरपरसम्म सुनिन्थ्यो। बस्ती पातलो थियो। मानिस धेरै थिएनन्। न सवारीको चाप। घण्टाघरको घण्ट नै समयको सूचक थियो।

अहिले त्यो अवस्था छैन। त्यसैले ऐतिहासिक महत्व राख्ने घण्टाघर रोकिएको पनि कसैलाई चाल नै छैन।

कोरोनाको कहर। लकडाउनको तेस्रो हप्तामा छ देश। जसका कारण मानिसहरु घरमै सीमित छन्। बजार ठप्प। सयौं विद्यार्थीको भिड रहने त्रिचन्द्र क्याम्पसको मुख्य गेट बन्द छ। त्यहीँ कम्पाउन्ड भित्र रहेको घण्टाघर खुला हुने कुरै भएन।

घण्टाघरको घडीमा दम दिने मिस्त्री पनि लकडाउनकै चपेटामा छन्। अनि कसरी चलोस् घडी?

दम नपाएरै हो १ सय २५ वर्ष देखि काठमाडौंलाई गति दिँदै आएको यो ठूलो घडी नचलेको। लकडाउन अघि सम्म घण्टाघरको घडीको हेरचाह गर्दै आइरहेका थिए गणेश सापकोटाले। लकडाउनका कारण उनी पनि घरमै रोकिए।

सातामा दुई पटक दम दिने घडी पनि रोकियो।

दम मात्र दिएर हुँदैन कहिले के बिग्रिन्छ कहिले के। घडी रोकिने बित्तिकै सामान बोकेर घण्टाघर पस्छन् गणेश। घडी बनाउँछन्। तर यो पटक उनको जीवनमा परेको शोक र लकडाउनले लगातार रोक्यो उनलाई।

'चैत ११ गतेसम्म म किरिया बसेको थिएँ। किरियामा बसुन्जेल पनि घडी चलेको छैन भन्ने कुराको बेग्लै पिरलो थियो। ठ्याक्कै त्यही दिनदेखि लकडाउन सुरु भयो त्यसपछि त के गर्नु?', उनले पहिलोपोस्टसँगको कुराकानीमा भने।

सुरुमा त कोरोना भाइरसको संक्रमणको डरले पनि उनलई घरभित्रै रहनु उचित लागेको थियो। तर अहिले भने घडी नचलेको खबरले निराश बनाएको छ उनलाई। 'कतैबाट सवारी पासको व्यवस्था भएपनि हुन्थ्यो। म गएर घडी बनाउँथे', उनले सुनाए। तर उनलाई थाहा छैन कहाँ गएर कोसँग माग्नु पर्छ पास।

त्रिचन्द्र क्याम्पसमा पियनका रुपमा कार्यरत् थिए उनी। बढुवा भएर प्राविधिक बने। त्रिचन्द्र हातामै रहेकाले घण्टाघरको जिम्मेवारी कलेजकै थियो। त्‍यसैले ३५ वर्ष अघि प्राविधिमा बढुवा भएसँगै घडी दम दिने, बनाउने उनको जिम्मेवारी बन्यो। 'घडी बनाउने प्राविधिक सिप त थिएन तर आँटेरै म गर्छु भनेको थिएँ। गर्दै जाँदा सिक्दै गइयो', उनले भने।

पैतिस वर्ष भयो उनले यस घडीलाई दम दिँदै आएको। त्यसैले त्यस घडीमा अरुको हात बसेको छैन। बिग्रिहाले बनाउन पनि गणेश नै चाहिन्छ।

त्रिचन्द्र कलेजको हाता भित्र रहेकोले घण्टाघरको जिम्मा पनि कलेज नै लिएको छ। जिम्मा लियो र त अहिलेसम्म छ। नभए केही वर्ष अघि नै कुनै संग्राहलयमा पुगिसक्थ्यो, सायद। 'खटिएर एउटा घडीकै रेखदेखमा को लाग्नु? हामीलाई पो वर्षौदेखि आफै चलाएकाले माया लाग्छ', उनी भन्छन्।

गणेशले पाँच वर्षपछि अवकास पाउँदैछन्। तर, कुनै पनि निकायले उनी पछि को? भन्ने बारे सोचेको छैन।

'अहिले घडी रोकिँदा म बाहेक अरुले बनाउन जानेका छैनन्। पाँच वर्षपछि रिटायर हुन्छु। त्यसपछि घडी कसले चलाउँछ? भन्ने चिन्ता लाग्छ। म भएसम्म घडी रोकिन दिन्न। तर अहिले अवस्था त्यस्तो छ। लकडाउन सकिएसँगै म गएर घडी चलाउँछु', उनले चिन्ता व्यक्त गरे।

राणा प्रधानमन्त्री वीर शम्शेरले बेलायत गएका थिए। त्यहाँ उनले 'बिग बेन' देखे। खुब प्रभावित भए। त्यसैले ठूलो घडी मगाए र काठमाडौंको रानीपोखरी छेवैमा घण्टाघर स्थापित गरे। त्यो घण्टाघरको स्वरुप भिन्न थियो। १९९० सालमा गएको भूकम्पपछि भने घण्टाघरलाई नयाँ स्वरुप दिइएको हो।

भूकम्पपछि नयाँ शैलीमा बनेको घण्टाघरमा २०३८ सालमा आगलागी भयो। अनि फेरि रोकियो घडी। त्यसपछि घण्टाघरले पुनर्जीवन पाउन ६ वर्ष लाग्यो। अर्थात् २०४४ सालमा फेरि चालु भयो घण्टाघर। सोही वर्ष काठमाडौंमा भएको सार्क शिखर सम्मेलनका बेला गणेशले नै चलाएका थिए घडी।

सार्क शिखर सम्मेलनको पूरै समय उनी घण्टाघरमै खटिए। 'डर थियो कतै घडी रोकिन्छ भनेर त्यसपछि घडी रोक्न दिएको थिइनँ', उनी सम्झन्छन्।



ट्रेन्डिङ पोस्ट

Ncell