
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संकटका बेला सरकारी समन्वय कमजोर हुँदा जनताले दु:ख पाएको बताएका छन्।
काठमाडौं उपत्यकामा लकडाउनका कारण रोकिएका नागरिकलाई गाउँ जान दिने निर्णयमाथि टिप्पणी गर्दै थापाले सरकारको द्वैध धारणा वर्तमान नेतृत्वको असक्षम कार्यशैली र कमजोर समन्वयको ज्वलन्त उदाहरण भएको बताए।
'आवश्यक तयारीका साथ काम गरेको भए सो निर्णय आफैमा गलत थिएन,' थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटरमा मेन्सन गर्दै भनेका छन्, 'गृहकार्य विना हचुवामा निर्णय गर्नेले फेरि सरकारलाई बदनाम गराए। जनताले दु:ख पाए।'
सरकारले बिहीवार काठमाडौंमा फसेका नागरिकलाई दुई दिनका लागि गाउँ जान दिने र त्यसका लागि गाडीको व्यवस्था गर्ने निर्णय गरेको थियो। तर, विनातयारी गरिएको निर्णय दुई घण्टामै फिर्ता लिइयो। जसको चौतर्फी आलोचना भइरहेको छ।
काठमाण्डौ बाहिर जानेलाई दुईदिन अवसर दिने सम्बन्धि सरकारको द्वैध धारणा वर्तमान सरकारी नेतृत्वको असक्षम कार्यशैली र कमजोर समन्वयको ज्वलन्त उदाहरण हो।आबश्यक तयारीकासाथ काम गरेको भए सो निर्णय आफैमा गलत थिएन।गृहकार्य विना हचुवामा निर्णय गर्नेले फेरि @kpsharmaoli सरकारलाई बदनाम गराए
— Kamal Thapa (@KTnepal) April 10, 2020