
काठमाडौं : अहिले अधिकांश मानिस घरभित्र छन्। सरकारले लकडाउनको समयमा घर बाहिर ननिस्कन अपिल गरेको छ। घर बाहिर निस्किए सडकमा खटिएका सुरक्षाकर्मीको कारबाहीमा परिहालिन्छ। यस्तो समयमा घरभित्र नै महिला हिंसा भए के गर्ने? सहेरै बस्ने वा प्रहरी कहाँ उजुरी दिने?
लकडाउनको समयमा महिला हिंसा भए प्रहरीकहाँ पुग्नु पर्दैन। अहिले फोनबाट नै जानकारी दिए प्रहरी नै घरमा पुग्छ। नेपाल प्रहरीको एक सय नम्बर वा स्थानीय प्रहरी कार्यालयमा फोन गरे प्रहरी महिला प्रहरीसहित घरमा पुग्ने व्यवस्था मिलाएको छ।
'अहिले प्रहरी चौकीमा आएर नै उजुरी दिनु पर्दैन। फोन गरेको भरमा नै प्रहरी घरमा नै पुग्छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएपी होबिन्द्र बोगटीले भने।
लकडाउनको १८ दिनको अवधिमा परिसरमा ६ वटामात्र महिला हिंसाका उजुरी परेका छन्। अधिकांश उजुरी फोनकै आधारमा आएको डिएसपी बोगटीले बताए। श्रीमानबाट नै महिला हिंसा भएको भन्दै उजुरी आएका हुन्। 'कार्यालयमा नै आएर पनि उजुरी परेको छ। लकडाउनमा हिँड्न नपाउने भनेर हिंसा सहेर बस्नु पर्दैन,' डिएसपी बोगटीले भने।
लकडाउनको समयमा अपराध न्युन भएको छ। चोरीका घटना फाटफुट देखिएका छन्। तर, अन्य जघन्य प्रकृतिका अपराधहरु नघटेको प्रहरीको दावी छ।