PahiloPost

May 15, 2025 | २ जेठ २०८२

गुमनाम छैनन् गोकुलः भ्रष्टाचार आरोपले राजनीतिक लकडाउनमा परेका बास्कोटाका आक्रामक ट्वीट, ओलीलाई बोक्दै प्रचण्डको आलोचना



प्रकाश भण्डारी

गुमनाम छैनन् गोकुलः भ्रष्टाचार आरोपले राजनीतिक लकडाउनमा परेका बास्कोटाका आक्रामक ट्वीट, ओलीलाई बोक्दै प्रचण्डको आलोचना

काठमाडौँ: 'गोकुल बास्कोटाले बताए' भन्ने समाचार डेढ महिनायता आएका छैनन्। विवादमा राजीनामा दिएपछि बास्कोटा सार्वजनिक कार्यक्रममा खासै देखिएका छैनन्। 'सरकारलाई हेप्नि' थेगोका कारण पनि चर्चामा रहेका बास्कोटाले अहिले कुनै सार्वजनिक फोरमबाट सरकारको बचाउ गर्न पाइरहेका छैनन्। तर, सामाजिक सञ्जालमा भने उनी गुमनाम छैनन्।

एक हिसाबले सरकारका पूर्व प्रवक्ता बास्कोटा मौन पनि छैनन्। सामाजिक सञ्जालमा सक्रिय छन्। मुलुक लकडाउनमा रहेका बेला बास्कोटा ट्वीटरमा सक्रिय छन्। समसामयिक विषयमा चुप छैनन्। तत्काल प्रतिक्रिया जनाइरहेका छन्।

मिडियालाई 'मेडिया'

बिहीबार दिउँसो एउटा समाचार सार्वजनिक भयो। लकडाउनले काठमाडौँमा फसेकालाई शुक्रबार र शनिबार घर जान दिने। एकाध समयमै निर्णय नै नभएको भनेर उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले विज्ञप्ति जारी गरे। यो विषयमा बास्कोटा पनि चुप बस्न सकेनन्। मिडियालाई गाली गर्न गतिलो अवसर पाए जसरी नै ट्वीट गरिहाले।

'वाह! कलियुगका परमसत्य मेडिया र तीनका भरपर्दा स्रोतले बताए अनुसारका अकाट्य समाचारहरुको सही सूचनाको उर्लँदो भेल। मानेँ बा! तरक्की पनि कति जानेका मैले त पहिल्यैदेखि चित खाएथेँ।' उनले राति ९ बजेर ६ मिनेटमा ट्वीट लेखे।

उनी जसरी पत्रकार सम्मेलनमा झर्रा शब्दमा प्रस्तुत हुन्थे ट्वीटरका शब्दमा पनि सोही शैली झल्किन्छ। उनले मिडियालाई मेडिया भन्दै समाचार लेख्दा प्रयोग गरिएका स्रोतलाई निशाना पनि बनाए। 

गगनधाम हुँदै गोकुलधाम

उनले शुक्रबार बालै फरर भन्दै लखेको ट्वीट पनि रमाइलै छ। यसअघि नेपाली कांग्रेसका नेता गगन थापाले गोकुलधाम भन्दै टिप्पणी गर्ने गरेका बास्कोटाले पनि गगनधाम भनेका छन्।

'वुहानबाट नवीन विकले सिधै गगनधाम हुँदै गोकुलधाममा पठाइदिएको कभ्रेलीका लागि। अब चित्त बुझो होला नि आधुनिक युगका केही गोपीकृष्ण कहूहरुलाई। थप नाङ्लो ठटाउनु छ भने हात नगल्दा सम्म ठटाए हुन्छ, मित्रहरू! बाँकी बालै फरर।'

उनको यो ट्वीटमा पनि बोलीचालीकै गोकुल बास्कोटा भेटिन्छन्।

गोविन्द अधिकारीले उनको भाषालाई 'केटाकेटीको' संज्ञा दिएका छन्। 'के उब्रौला केटाकेटीका भाषामा लेख्या! सुहाउँदैन अब।', अधिकारीले उत्तर दिँदै लेखका छन्। 

प्रचण्डलाई चुनौती

भ्रष्टाचारको आरोप लागेपछि बाध्यात्मक स्थितिमा राजीनामा गरेका बास्कोटाले त्यतिखेर सार्वजनिक भएको अडियोको आवाज आफ्नो नभएको दाबी गरे। उनकै दाबीलाई बल पुग्नेगरि प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटा निर्दोष भएको भन्दै बचाउ गरेका थिए। बास्कोटाले पनि ओलीको बचाउ गर्न छोडेका छैनन्। मन्त्री भएपछि एकातिर उनले ओलीको बालकोटस्थित निवासमा बस्न पाए अर्कोतिर पार्टीमा बढुवा पनि भए।

ओलीको बचाउ गरिरहँदा अर्का अध्यक्ष पुष्पकमल दाहालप्रति भने उनी आक्रामक छन्। प्रचण्डको सक्रियतालाई कोरोनाको लागि मात्रै काम लाग्ने अभिव्यक्ति बास्कोटाले दिइरहेका छन्।

'डिजिटल लोकराज्यका अज्ञात नागरिकका नाममा (कान तातेमा र आँखा तिरमिराएमा आँखा लडाउनु हुन) सविनय अनुरोध गर्दै केपी ओलीको विकल्प केपी ओलीमात्र हुन भन्छु। कोही कसैका लागि अहिले जारी दौडधुप कोरोनाबाट बच्नमात्र काम लग्छ। चीन हेरौँ न राजनीतिक स्थिरताले कति दह्रो राज्य प्रणाली बन्छ।'

बास्कोटाले गरेका ट्वीटमा उनलाई राम्रो भन्ने भन्दा पनि उनलाई गाली गर्नेको संख्या धेरै छ। उनलाई उत्तर दिँदै केशव जोशीले लेखेका छन्,'अझै केपीको भक्तजन बनेको हेरेन। अझै ७० करोड दाउ पार्ने सोच मा छन् बुढा'

पदबाट हटे पनि आफ्नो बचाउ गर्दै लखेको अर्को ट्वीट पनि झर्रा शब्दले भरिपूर्ण छ। 'फेरि एकपटक उनैका नाममा आधारातमा हाप्सिलो करायो अनि फेकेजति जम्मै र केही एक आँखे 'स्वतन्त्र' सिकारीहरू मेरा पछाडि कुदे। यदि म देश र जनता मारा प्रमाणित भएँ भने ममाथि हुने सजायको हिस्सा यहाँहरूले बोक्न नपर्ने कुरा घाम जत्तिकै छर्लङ्गै छ के रे। अब पनि टनटन हुन्छ भने मैले के सहयोग गरौँ'।

 

गरम मसला

जल्दा-बल्दा राजनीतिक विषयमा बोलिहाल्ने बास्कोटा मन्त्रीबाट राजीनामा दिएर फुर्सदिला र आक्रामक बनेका छन्।

कोरोना भाइरसका कारण विदेशमा नेपाली अलपत्र परेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले चासो लिइन। देशभित्रका श्रमिक अलपत्र परेको विषयमा चासो नलिएर विदेशमा बस्नेको चासो लिएको भन्दै सामाजिक सञ्जालमा भण्डारीको आलोचना भयो। त्यसमा पनि बास्कोटाले राष्ट्रपतिको बचाउ गरे।

'देशको राष्ट्रपतिले जनताको चासो लिनु पनि नाजायज हो भने जायज कुराको परिभाषा कस्तो हुन्छ होला? हुन त मेरो यही कुरा नै 'कतिपय' मेरा परममित्रहरुलाई दिनभरको गरम मसला बन्ला। तर पनि मनको कुरा भनेको नि!'

बास्कोटाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अघि सारेको उच्चस्तरीय राजनीतिक समितिलाई पनि संविधानले नचिन्ने भन्दै कटाक्ष गरेका छन्। देउवाले उक्त प्रस्ताव पूर्व प्रधानमन्त्रीहरुलाई गरेका हुन्। कोरोना जोखिम न्यूनीकरणमा सरकारका कामकाजको अनुगमन र सहजीकरणका लागि उक्त समिति प्रस्ताव गरिएको हो। बास्कोटाले उक्त समिति ठाडै खारेज गर्न सुझाव दिएका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell