PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

नेपाली जनप्रतिनिधिमाथि भारतमा कोरोना संक्रमण फैलाउन षड्यन्त्र गरेको आरोप



राधेश्याम पटेल

नेपाली जनप्रतिनिधिमाथि भारतमा कोरोना संक्रमण फैलाउन षड्यन्त्र गरेको आरोप

वीरगंजः पर्सा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले भारतमा कोरोना महामारी फैलाउन षडयन्त्र गरिरहेको आरोप भारतीय सञ्चारमाध्यमले लगाएका छन्। दर्जनौँ सञ्चारमाध्यमले स्थानीय प्रशासनको हवला दिएर यस्तो आरोप लगाएका हुन्।

सीमा सुरक्षा बल (एसएसबी) पन्टोका, रामगढवा बटालियनले पश्चिम चम्पारणका जिल्ला अधिकारी कुन्दन कुमारलाई लेखेको पत्रबाट यस्तो रहस्य खुलेको भारतीय सञ्चारमाध्यमको दावी छ। अप्रिल ३ तारिखमा जिल्ला अधिकारीलाई पत्र लेख्दै उक्त विषयमा ध्यानाकर्षण गराएको र सीमा सुरक्षा व्यवस्थाबारे सतर्क गराएको दावी गरिएको छ।

जिल्ला अधिकारी कुन्दन कुमारले अप्रिल ६ तारिखमा पश्चिम चम्पारण बेतियाका एसपी नितीशा गुडियालगायत सबै जिल्लाका सुरक्षा अंगलाई पत्रचार गर्दै नेपाल–सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए।

पत्रमा भनिएको छ 'जगरनाथपुर ग्राम, थाना सेढवा, जिल्ला पर्साका जालिम मुखियाले ४०–५० कोरोना संदिग्धलाई भारतमा पठाएर कोरोना महामारी फैलाउने षडयन्त्र गरिरहेको सूचना छ।'

नेकपाका स्थानीय नेता समेत रहेका मियाँलाई हतियार तस्करको आरोप पनि लगाइएको छ।

रक्सौलभन्दा एक किलोमिटर उत्तरमा रहेको पन्टोकास्थित एसएसबीका डेपुटी कमान्डेन्ट मनोज कुमारले जिल्ला अधिकारीलाई ४७औं बटालियनले पत्र लेखेको स्वीकार गर्दै अहिले सुरक्षा व्यवस्था कडा पारिएको बताए। उनले बिहारसँग जोडिएका ७ जिल्लामा एसएसबीले २४ सै घण्टा ड्यूटी गरिरहेको जानकारी दिए।

भारतीय सञ्चारमाध्यममा आएको समाचारप्रति पर्सा प्रहरीले जानकारीमा नरहेको बताएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी वीरेन्द्रबहादुर शाहीले भारतीय मिडियाको सामाग्रीको यथार्थ जानकारी नभएको बताए।

उनले भने, ‘भारतीय टेलिभिजन हेर्न पाएका छैनौँ। भारतको विदेश मन्त्रालयमार्फत नेपाल सरकारलाई केही सर्कुलर आयो भने त्यसपछि आवश्यक छानविन सुरु गर्छौँ।’

गाउँपालिका अध्यक्ष मियाँले भने समाचार खण्डन गर्दै आफ्नो चरित्रहत्याको षडयन्त्र भएको बताए। मियाँले भने, ‘नेपाल–भारतबीच रोटीबेटीको सम्बन्ध छ। सबै खबर निराधार छन्। यस विषयमा गृह मन्त्रालय र स्थानीय सुरक्षा निकायलाई जानकारी गराएको छु।’

चरित्र हत्या गर्नेमाथि कारबाहीको माग समेत मियाँले गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell