PahiloPost

Nov 4, 2025 | १९ कात्तिक २०८२

उपत्यकामा निस्सासिएर बाहिरीनेको ट्रान्जिट धुलिखेल, पैदलयात्रीलाई खानेकुरादेखि जुत्ताचप्पलसम्म उपलब्ध गराउँदै स्थानीय युवा

उपत्यकामा निस्सासिएर बाहिरीनेको ट्रान्जिट धुलिखेल, पैदलयात्रीलाई खानेकुरादेखि जुत्ताचप्पलसम्म उपलब्ध गराउँदै स्थानीय युवा

समर्थ रञ्जित/पहिलोपोस्ट


धुलिखेल : लकडाउनले देश ठप्प भएपछि उपत्यकाबाट पूर्वका गाउँ निस्कने प्वाइन्ट बनेको छ, धुलिखेल। काठमाडौंबाट बिहान तीन बजे नै उठेर गाउँको यात्रामा लाग्नेहरु बाटोमा भेटिए। उनीहरु भक्तपुर, बनेपा हुँदै धुलिखेलबाट कोही बीपी राजमार्ग हुँदै तराई झर्छन् त कोही अरनिको राजमार्ग हुँदै पहाडी जिल्लामा।

त्यही नाकामा अप्ठेरा परेकालाई सघाउन बसेका भेटिए धुलिखेल नगरपालिकाका स्थानीय। उनीहरुले पैदल यात्रीलाई खाजादेखि जुत्तासम्मको व्यवस्था गरेका रहेछन्।

त्यही मध्येका एक जना युवाले हामीसँग भने, ‘हाम्रो धुलिखेल नगरपालिका वडा नम्बर ३ का स्थानीय युवाहरुले स्वतःस्फूर्त सहयोग थालेका हौं। यस्तो सकस छ। लकडाउनले गर्दा विपद् हुन्छ भनेर आफ्नो गाउँ फर्केकालाई निकै सास्ती देखेर आफू बचौँ अरुलाई पनि बचाऔं भनेर हामीले यस्तो काम थालेका हौं।’

हरेक बिहान दुई तीन सय विभिन्न माध्यमबाट गाउँतिर जाने गरेको ती युवाले बताए। भने, ‘तराईका जिल्लाहरु सप्तरी सिराहादेखि ओखलढुंगासम्म हिँडेकाहरु देखिए। बढी जसो तराई जानेहरु आउँछन्।’

पैदलयात्री भने दैनिक २०/३० जना आफ्नो गन्तव्यतिर लाग्ने गरेको उनले बताए। उनीहरुको सेवाका लागि युवाहरु बिहान ७ बजेदेखि बेलका ७ बजेसम्म खट्ने बताए। 

उनले भने, ‘हामीलाई खान सहयोग आउँछ। जुत्ता पनि स्थानीयले नै सहयोग गरेका हुन्। हामीले प्याकेज बनाएर दिन्छौँ।’

कतिपय पैदलयात्री खाली खुट्टा हिँडेको देखिएपछि स्थानीयले जुत्ता सहयोग गरेको सहयोगमा खटिएकाहरुले जनाए। खाजामा चाउचाउ, पानीदेखि सफाइका लागि स्यानिटाइजरसमेत उपलब्ध गराउने ती युवाले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell