
काठमाडौं : सरकारले स्थानीय तह र अन्य निकायले व्यवस्थापन गरेका क्वारेन्टाइनहरुको अवस्थाका विषयमा निरीक्षण गर्ने भएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार निर्माण भए/नभएको र अन्य व्यवस्थापनका विषयमा सरकारले निरीक्षण गर्ने भएको हो।
विदेशबाट आएका व्यक्तिहरु तथा शंकास्पद अन्य व्यक्तिहरुलाई कोरोनाको संक्रमण हुन नदिन सरकारले बनाएको क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन कार्यविधि अनुसार मापदण्ड पूरा भए नभएको स्थलगत अनुगमन र आवश्यक सहजीकरण गर्न लागिएको सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बताए।
उनले भने, ‘क्वारेन्टाइनको व्यवस्थापनका लागि एक पटक निरीक्षण गर्नुपर्छ। व्यवस्थापकीय ढंगले जानका लागि त्यसको रिपोर्ट पनि सरकारलाई दिनुपर्छ र त्यसपछि खर्चका विवरण दिने कुरा भयो। क्वारेन्टाइन सञ्चालनका लागि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषबाट रकम बेहोर्ने निर्णय गरिसकेकाले कुनै शंका गर्नुपर्दैन।’
मन्त्रिपरिषद् बैठकले मन्त्री मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई दिएको निर्देशन अनुसार शनिवारबाट क्वारेन्टाइनहरुको निरीक्षण हुनेछन्। शनिवार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालित क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो।
शुक्रवार राज्यमन्त्री मानन्धरले उपत्यकाका १८ वटै नगरप्रमुख, तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेनाका क्वारेन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गरेका छन्। छलफलमा मन्त्री मानन्धरले क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन मापदण्डबारे जानकारी गराउँदै अब सरकारले शनिवारबाट अनुगमनलाई तीव्रता दिन लागेको जानकारी दिए।